बागलुङ, १९, फागुन– नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपलियाले विद्यार्थीलाई आन्दोलनमा उतार्ने र नेतृत्वले अवसर लिने गरेको बताएकी छिन् ।
धौलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो चौथो वर्षको अवसरमा आयोजना गरेको ‘संकटमा देश, अन्यौलमा बिद्यार्थी राजनीति’ बिषयक अन्तरक्रियामा बोल्दै थपलियाले युवा र बिद्यार्थीले चाहेको देश बनाउन सधैं नेतृत्व बाधक भैरहेको छ ।’ उनले अधिकार खोसेर लिने नीति अनुसार विद्यार्थीहरु सक्रिय भएर लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले बिद्यार्थी राजनीतिलाई माथि उकास्ने स्ववियुको निर्वाचनमा विश्वविद्यालयले ढीलाइ गरेको बताए । ‘बाहना बनाएर रोकिएको स्ववियु निर्वाचन हामी गर्न सक्छौं, तर अधिकार चाहियो’ उपाध्यायले भने, ‘नेपालको राजनीति र शैक्षिक तथा प्राज्ञिक क्षेत्रको नेतृत्वमा समेत नैनिकता भन्ने देखिएन ।’
कार्यक्रममा त्रिवि सभाका सिनेटर प्रा. डा. दिनबहादुर थापाले राज्यले ३५ प्रतिशत बिद्यार्थीमात्रै पढाएको भन्दै ६५ प्रतिशत बिद्यार्थी पढाउने सम्बन्धन क्यामपसमा शिक्षक समेत नदिएको, स्ववियुको अबसर दिन पनि आनाकानी गरिरहेको बताए । उनले अहिले पनि ८० प्रतिशत बिद्यार्थी पढाउने त्रिवि र २० प्रतिशतका लागि अरु ११ विश्वविद्यालय बनाएर लगानी खेर फालिरहेको बताए ।
स्ववियु सभापति मनिष थापाको अध्यक्षता, सचिव बिष्णुराज पौडेलको संचालन र उपसभापति बालकृष्ण शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा त्रिवि प्राध्यापक संघका सभापति बिजयराज पन्त, नेविसंघका पूर्व उपाध्यक्ष सागर परियार, पूर्व सहमहामन्त्री हरिहर शर्मा, नेपाली कांग्रेसका क्षेत्रीय सभापति चिरन्जिवि गौतम, नेविसंघका सचिव श्रीकृष्ण पौडेल, अनेरास्ववियुका अध्यक्ष मिलन काउचा, अनेरास्ववियु छैठौका अध्यक्ष दिलीप बुढाथोकी र बिद्यार्थी बिशेष पराजुली लगायतले बिद्यार्थीलाई उपयोग गर्ने रणनीतिले राजनीति पछि परेको बताएका थिए ।





