मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

वनमा आगो लाग्दा, बस्तीमा मन पोल्छ !

वनमा आगो लाग्दा, बस्तीमा मन पोल्छ !


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०७७, बिहिबार

बागलुङ, २० फागुन– ‘लौन वनमा आगो लाग्यो, बाहिर निस्क’ फागुन १० गते दिउँसो तीन बजेको हुँदो हो गलकोट नगरपालिका–७ की थुमकुमारी थापा आत्तिएर गुहार माग्न थालिन्– ‘पल्लो गाउँको वनदेखि लागेको आगो हाम्रै वनमा आयो, लौन निभाउनु प¥यो ।’ उनले आगो निभाउनका लागि अनुरोध गर्दैगर्दा नत उनीहरुसँग पूर्वतयारी थियो न सामग्री नै । त्यो दिन गलकोटका तीन सामुदायीक वनमा आगलागी भयो ।
आगलागीका कारण झण्डै एक सय हेक्टर क्षेत्रफलमा फैलिएका सामुदायीक वनको ६० हेक्टर क्षेत्रफलमा रहेका बुट्यान डढेलोका कारण जलेर नष्ट भएको प्रारम्भिक तथ्यांक डिभिजन वन कार्यालयसँग छ । वनमा लागेको आगो बस्तीको नजिकै फैलिन थालेपछि चिन्तामा रहेका स्थानीय र प्रहरीको सक्रियतामा १८ घण्टापछि नियन्त्रणमा आएको थियो । पूर्व तयारीबिनै आगो नियन्त्रणका लागि स्थानीय खटिए ।
रातभरी अग्नीरेखा काटेपछि बल्ल आगो नियन्त्रणमा आयो । भैंसे दान्सिङडाँडा सामुदायीक वन गलकोट नगरपालिका–५ देखि सुरु भएको आगो छिमेकी वडाको ठुलाचौर सामुदायीक वनसम्म फैलिएको थियो । आगलागीको कारण दानसिङडाँडा सामुदायीक वनको झण्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायीक वनका सदस्य मान बहादुर भण्डारीले बताए । उता, वडा नं. ७ को ठुलाचौर सामुदायीक वनमा प्रवेश गरेसँगै उक्त सामुदायीक वनको झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको वन उपभोक्ता समितीकी अध्यक्षसमेत रहेकी थुम कुमारी थापाले जानकारी दिइन् ।
गलकोटमा आगलागी भएको सात दिनपछि बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जाको माझकटेरी सामुदायीक वनमा भीषण आगलागी भयो । वनमा लागेको आगो बस्तीको नजिक आउन थालेपछि स्थानीय नियन्त्रणका लागि कस्सिए । आगोले १ सय हेक्टर जमिनमा रहेका बुट्यान मासेपछि मात्रै आगो नियन्त्रणमा आयो । स्थानीयले अग्नीरेखा बनाएरै आगो नियन्त्रणमा लिएको स्थानीय बावुराम भण्डारीले गर्छन् । आगलागीले माँसेको वनक्षेत्रको प्रारम्भिक तथ्यांक मात्रै डिभिजन बन कार्यालयमा आएको छ ।
धम्जाको आगो निभाउनका लागि सदरमुकाममा रहेको विपत् व्यवस्थापन गुल्म पुग्नुपरेको थियो । भौगोलिक हिसाबले ढाटा रहेको गुल्मको तालिम प्राप्त समुह पुग्ने बेलासम्म आगो धेरै फैलिईसकेको थियो ।
फागुन १८ गते जैमिनी र बागलुङ नगरपालिकाको सिमा क्षेत्रको वनमा आगलागी भयो । तारेभीर, लजुकेनी अर्खलापाटा सामुदायीक बनक्षेत्र नजिकैबाट फैलिएको आगो बागलुङ नगरपालिका–१२ अमलाचौरको निजी वन क्षेत्रमा समेत फैलियो । त्यहाँको आगो नियन्त्रणका लागि समेत अग्नीरेखा महत्वपूर्ण सावित भयो ।
गर्मीयाम सुरु हुनै लाग्दा बागलुङमा भएका आगलागीका प्रतिनिधि घटना मात्रै हुन् । यो मौसममा बागलुङमा हरेक बर्ष हजारौं हेक्टर जमिनमा आगलागी हुने गरेको छ । ‘विपद व्यवस्थापन कोष छ, प्रकोपसँगका सबै समस्यासँग जुध्ने त्यहिँबाट हो’ काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा भन्छन् ‘आगलागी नियन्त्रणको लागि छुट्टै योजना छैन् ।’
यहाँका वनक्षेत्र अधिकांश बस्तीको नजिकै पर्छन् । वनमा लागेको आगो समयमा नियन्त्रण नहुँदा बस्तिहरुमा ठुलो क्षतिहुने सम्भावना रहने बागलुङ नगरपालिका–१२ का स्थानीय हरी पौडेल बताउँछन् ।
वनसँग सम्बन्धित कामहरु गर्ने कार्यालय अन्य काममा अल्मलिने र स्थानीय तहको चासो कम हुँदा वनहुँदै बस्ती पस्ने आगलागीका कारण ठुलो क्षतिको सम्भावना छ । ‘हामी अहिले पार्कका काममा अल्झिएका छौं, प्रदेश मातहत चल्ने भएपछि वनभन्दा अन्य कामको लोड कार्यालयमा छ’ डिभिजन वन अधिकृत मुकुन्द अधिकारी भन्छन् ‘स्थानीय तह र हामीबीच वनको अधिकार क्षेत्रका बिषयमा रहेको बिमतिले पनि समस्याहरु पैदा भैरहेका छन् ।’
कार्यालयले सामुदायीक बनहरुका लागि डढेलो नियन्त्रणका लागि सामग्री उपलव्ध गराउने तयारीमा छ । कार्यालयले दिने सामग्रीको प्रयोग विधि र ज्ञानको अभाव र भुगोलका कारण स्थानीयलाई आगो नियन्त्रणमा समस्या हुने गरेको छ । बागलुङमा ५ सय २६ वटा सामुदायीक वन छन् । ३२ हजार ९ सय ८६ हेक्टरमा फैलिएको बन क्षेत्रमा मुख्यगरी १० प्रकारका वन्यजन्तु र ७ प्रकारका पंक्षीहरु पाईने गरेको त्थ्यांक बन कार्यालयसँग छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->