बागलुङ, २१ फागुन– वर्षायाममा ठूलोे घाँसको भारी बोकेर उर्लेको लुकुरबन खोला तर्ने ढोरपाटन नगरपालिका–४ किरी गाउँकी जसमाया अर्गेजा अहिले निकै खुसी छन् । झमझम पानी परेका बेला गोठमा रहेका गाईवस्तुको भोक मेटाउन लुकुरवन खोलामा आएको बाढीसँग पौठेजोरी खेल्ने जसमायालाई अहिले ढुक्क भएको छ ।
वर्षामा आउने ठूलो भेलमा समेत जसमाया र उनका गाउँलेहरुले ज्यान जोखिममा राखेर यो खोलामा ओहोरदोहोर गर्ने गर्छन् । खोलापारीको पाखोबारीमा रहेको घाँसदाउरा किरीगाउँका स्थानीयको गाईवस्तु पाल्ने र घर चलाउने स्रोत हुन् । सोही वडाको फलामखानीमा रहेको धिरी आधारभुत विद्यालय पढ्न जाने स–साना बालबालिकाको समस्या उस्तै । बिहान विद्यालय पुगेका छोराछोरी बेलुका उर्लेको लुकुरबनले फर्किन देला कि नदेला भनेर अभिभावक चिन्तामा हुन्थे ।
ज्यानै जोखिममा राखेर तर्नुपर्ने बाध्यता लुकुरवन खोलामा झोलुंगेपुल बनेपछि हटेको छ । ढोरपाटन–४ को फलामखानीदेखि किरीगाउँ जोड्ने गरी लुकुरवन खोलामा झोलुंगे पुल बनेको छ । त्यही पुलले किरीगाउँका झण्डै एकसय परिवारको मुहारमा खुशी छाएको छ ।
यो पुल कादुरी एग्रिकल्चर एन्ड एसोसियसन ब्रिटिस गोर्खाज पोखराको सहयोगमा स्थानीयले श्रमदान गरेर बनाएका हुन् । एसोसिएसनले ६९ लाख र स्थानीय उपभोक्ताको ५० हजार बराबरको आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।
‘अब त फुत्तै पारी पुगिन्छ, हाम्रो लागि महत्वपूर्ण छ यो पुल,’ स्थानीय दुधबहादुर विकले खुशी व्यक्त गर्दै भने, ‘पुल खोलामा हेलिन जोगाउने महत्वपूर्ण विकास हो यो ।’ यो खोलामा पुल नहुँदा वर्षात्को समयमा बालबालिकालाई विद्यालय पढ्न जाने समस्या रहन्थ्यो भने गाउँलेलाई घाँसदाउरा गर्नै कठिन थियो ।
६१ मिटर लामो पुल खोलामा बनेको छ । फलामखानी र किरीगाउँका स्थानीयलाई पुलले आवतजावतमा सहज हुने वडाध्यक्ष तिलक पुनले बताए । मेलापात, जन्ती–मलामी र सामाजिक काम एकआपसमा मिलेर गर्दा एकअर्कालाई सहयोग गर्न सजिलो हुने उनले बताए । यो पुल भएर दैनिक एकसय भन्दा धेरै विद्यार्थी र किसानहरु ओहोर दोहोर गर्नेछन् ।





