आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

अराजनीतिको फन्दामा राजनीति

अराजनीतिको फन्दामा राजनीति


  • लालबहादुर थापा
  • फाल्गुन २३ २०७७, आइतबार

कानुनी शब्दावलीमा विबंधन (Estoppel) भन्ने शब्द छ । जुन फ्रेन्च शब्द Estopue बाट बनेको हो । जसको अर्थ हुन्छ, त्य To Stop वा रोक्नु । विबंधनले एउटा कुरा गरिसकेपछि फेरि आफ्नै भनाईविरुद्ध कुरा गर्न रोक्दछ । कसैले पनि दोहोरो फाइदा उठाउन पाउनु हुदैन भन्ने यसको मान्यता हो । विबंधन प्राचिन रोमन सुत्रमा आधारित छ । जसले एउटै तथ्यलाई आपसमा बाँझिने किसिमले प्रस्तुत गर्ने व्यक्तिलाई सुन्नु हुँदैन अर्थात् एउटै कुरालाई एकअर्कामा विपरित हुने गरि बोल्ने व्यक्तिलाई सुन्नु हुँदैन । कुनै एउटै कुरालाई सही हो भनेर फाइदा लिइसकेपछि फेरि त्यही कुरालाई गलत हो भनेर फाइदा उठाउनु हुँदैन ।
यो शब्दावलीले बोकेको अर्थ सभ्य समाजको लागि अति महत्वपुर्ण छ । मानिसलाई नैतिकता, मर्यादा र स्वयं आफैप्रति इमानदार बनाउनु यसको आशय हो । जुनसुकै कुरा गरेर, मनलाग्दो र असंगत रूपमा बोलेर तथ्यलाई तोडमरोड गर्ने, आफ्नो कुत्सित मनसायलाई पुर्ति गर्न आफ्नै आत्माको व्यापार गर्ने र कानुनी तथ्यलाई निष्प्रभावी बनाउने एउटा दुष्प्रयासबाट मुक्त हुन विकसित अबधारणा हो । जो मानिस आफैप्रति, आफ्नो बोलीबचनप्रति उत्तरदायी हुन सक्दैन भने त्यसबाट सत्यताको अपेक्षा राख्नु नै मुर्खता हुन्छ, यहीं अर्थमा यसखालका कुराहरूलाई प्रमाणको रूपमा लिन अदालतले इन्कार गर्दछ । बोली र गोली फर्किदैन भनेर यत्तिकै भनिएको होइन । बोल्ने बेला वा केही गर्ने बेला पर्याप्त सोचविचार गर्नुपर्छ र बोली सकेपछि गरि पुराउनु पर्छ भन्ने कुरालाई जोड दिन भनिएको हो । नबोलुन्जेल बोली हाम्रो आफ्नै अधिनमा हुन्छ, जब बोलिन्छ तब हामी बोलीको अधीनमा हुन्छौं । कविशिरोमणी लेखनाथ पौड्याल नैतिक दृष्टान्त कवितामा भन्छन्,
गर्दैन ठूलो व्यक्ति मर्यादा–स्थिति–लङ्घन ।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन
राजनीतिमा नैतिकता, इमानदारिता, सदाचार र वचनमा पक्का आदि गुण हुनु जरूरी मानिन्छ । नीतिहरूमा पनि सबै नीतिको राजा भएकोले राजनीति भनिएको हो । त्यसैले राजनीतिमा नैतिकता मात्र छाडेमा त्यो राजनीति नभएर अराजनीति हुन्छ । राजनीति नैतिक भएन भने कानुनले शासन गर्न सक्तैन । राजनीतिमा नैतिकताको उदाहरण पेश गर्दा पञ्चायतकाल सम्झनु पर्ने हुन्छ, २०२९ सालमा सिंहदरबारमा आगलागी काण्ड भएपछि प्रधानमन्त्री किर्तीनिधि विष्टले दिएको राजिनामा र रंगशालामा आँधीबेहरी आएर दुर्घटना हुँदा शिक्षामन्त्री केशरबहादुर विष्टले दिएको राजीनामा नैतिकताको आधारमा भएको मानिन्छ । संसदीय प्रजातान्त्रिक व्यवस्थामा नैतिकताको उदाहरण भारतका रेलमन्त्री लालबहादुर शास्त्रीले रेल दुर्घटनापश्चात् दिएको राजीनामालाई लिन सकिन्छ । नेपालमा २०४७ को राजनैतिक परिवर्तनपछि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईमा उच्च नैतिकता रहेको देखिन्छ । वि.सं २०६४ को संविधानसभाको निर्वाचनमा तत्कालीन नेकपा (एमाले) पार्टीले ठूलो हार बेहोरेपछि महासचिव क. माधवकुमार नेपालले राजिनामा दिनुभएको थियो । यो पनि राजनीतिमा नैतिकताको उल्लेखनीय उदाहरण हो ।
तर विडम्बना हाम्रो राजनीति इमान, निष्ठा र त्यागको सर्वथा अभावमा तड्पिरहेको छ । विधि, नीति र नैतिकताको चीरहरण भइरहँदा हामी टुलुटुल हेर्न विवश बनिरहेका छौं । राजनीतिलाई एउटा सर्वोच्च सेवाको रूपमा बुझेकाहरू बिलखबण्डमा छन् । राजनीति आफैमा आदर्श र उदाहरण पनि हो, राजनीति शक्ति आर्जन र प्रयोग गर्ने अस्त्र मात्र होइन, संस्कार र संस्कृतिको स्थापत्यको लागि मार्गदर्शन हो भनेर राजनीतिमा लागेका होस् वा सोही मान्यताबाट राजनीतिलाई नियालिरहेका प्रत्येक व्यक्ति देशको राजनीतिको मनोदशाबाट प्रताडित छन् । यस्तो लाग्छ कि, यो लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको राजनीतिमा भएको डरलाग्दो मूल्य विघटन र क्षयीकरण हो ।
प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भन्ने चर्चित भनाईबाट त हामी जानिफ नै थियौं, अहिले राजनीतिभित्रको गतिहीनता र नैतिकहराम नेतृत्वको घृणित कृत्य देख्दा अब राजनीतिमा पनि सबै जायज हुन्छ भन्ने ठाउँमा पुग्न खोजेको भान हुन्छ । यसले निकै सोचनीय स्थितिमा पुराएको छ, पेचिलो प्रश्न भनेर हाम्रो मनमुटु घोचिरहेको छ । यस्तो स्थितिमा हामी कसरी पुग्यौं, कस्तो शिक्षण र सिकाई राजनीतिले दिन खोजिरहेको हो भन्नेमा छलफल गर्नु जरूरी भएको छ ।
नेपालको राजनीतिमा नैतिकताको खडेरी पत्यारलाग्दो नै छ । आज मात्र होइन, विगत देखि नै सत्तास्वार्थको खेलमा नैतिकता ओझेल पर्दै आएको हो । अझै पछिल्लो राजनीतिका परिदृश्यलाई हेर्दा त राजनीति नै संकटमा छ र अराजनीतिको प्रहसन भइरहेको छ । देशको प्रमुख व्यक्तिको रूपमा सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली विराजमान छन् । उनले के बोल्छन्, के गर्छन् भन्ने प्रश्न उनको निजी विषय होइन । मुलुककै बागडोर सम्हालेको व्यक्तिका वैयक्तिक विषय पनि सार्वजनिक महत्व र चासोका विषय हुन्छन् । प्रधानमन्त्रीका काम, क्रियाकलाप कानुनी मात्र होइन, नैतिक जिम्मेवारीका विषय हुन् । आफ्नो अहंमा लागेको ठेसलाई सामसुम पार्न संविधानमाथि धावा बोलिन्छ, मुलुकलाई द्धन्द्धको स्थितिमा लैजान दुष्प्रयत्न गरिन्छ । कानुनी रूपमा होइन कि स्वयं प्रधानमन्त्री नै देश आफ्ना तजविजले चल्छ भन्ने मान्यतालाई प्रतिस्थापन गर्न किर्ते काममा सामेल हुन्छन् । आफ्ना सहयोद्धामाथि हाँसीमजाक गर्दै बज्रस्वाँठरूपमा प्रस्तुत हुन्छन् । उडन्ते र उरन्ठेउला शब्दबाणसहित व्यङ्ग्य गर्दा उनका अनुहारमा चमक आउँछ । उनका भाषणमा कि अरूलाई गाली भेटिन्छ कि चुट्किला ! उनले संविधानवादका कुरा गर्दैनन्, विधि पद्धति भन्दैनन्, त्यसैले उनी ञहामीझ भन्ने उच्च भावनाबाट स्खलित हुँदै तुच्छ ञमझ भन्ने अहंको रसातलमा भासिदै जान्छन् । आडम्बर र घमण्डको अभिनय शानदार गर्दै समभाव, सहअस्तित्व र सहकार्यको भावनामाथि कुठाराघात गर्छन् । आफ्नालाई बोक्ने र विचारमा अहसमतहरूलाई ठोक्ने काममा जस्तोसुकै तरिकाले शिघ्रातिशिघ्र अगाडि बढ्छन् तर सबैलाई समेट्ने दिशातिर फर्किन समेत जाँगर गर्दैनन् ।
आफ्ना भनिने विवादित मानिसको संरक्षणमा पाइलादेखि टुपीसम्मको बल लगाउने प्रधानमन्त्री राम्रा मान्छे, राम्रा विचार र राम्रा संस्कारका लागि छलफल गर्न सामान्य पहल लिदैनन् । चेतावनी र धम्कीयुक्त भाषण घण्टौ गर्न सक्छन् तर आत्मसमिक्षा र आत्मानुभूति प्रस्तुत गर्दैनन् । यस्तो लाग्छ कि देशको प्रधानमन्त्रीलाई राष्ट्रको चिन्ता होइन, आफ्नै स्वार्थको चिन्ता छ, उहाँको केन्द्रमा जनताप्रति सोच होइन, सत्ता कब्जाको भोक छ, उहाँको एकजुटमा होइन, गुट, गुट फेरि पनि गुटमै विश्वास छ ।
जनता चाहन्छन्, संविधानवाद र जनअधिकारप्रति प्रधानमन्त्रीको प्रतिबद्धता आओस्, प्रतिशोध होइन । फरक विचार र मतको पनि सम्मान होस्, अभिमान होइन । विकास र समृद्धिका स्पष्ट मार्गचित्र र खाका बनोस्, प्रश्न र विरोध गर्नेप्रति घृणा र कटाक्षको भाका होइन । जनताले प्रधानमन्त्रीलाई पार्टी एकताको सुत्र मात्र होइन राष्ट्रिय एकताको प्रतीक भएको देख्न चाहन्छन् तर उहाँ विभाजन र षडयन्त्रको इतिहास लेख्न उद्यत हुनुभएको छ ।
हठात् प्रधानमन्त्रीले संसद विघटन गरे । विघटन जति इन्कारयोग्य थियो त्यो भन्दा भयानक झुठ त पार्टीको घेराबन्दीले गर्दा विघटन गरेको भन्ने उनको साविती थियो । अदालतलाई संसद विघटन राजनैतिक कदम भएको जवाफ फर्काएर भेला र सभाका अगाडि उनी सगौरव उभिन्थे र भन्थे, संसद विघटन सदर हुन्छ, पुर्नस्थापनाको कुनै संभावना नै छैनझ यसरी उनले ताजा जनादेशको नारा लगाइरहे, भक्तहरूले ताली ठोकिरहें । जनताले ५ वर्षलाई दिएको जनादेश ३ वर्षमै बासी किन भयो, प्रमाणिक जवाफ थिएन । संसदको घाँटी निमोठेर उनले गलतै गरेका हुन् भन्ने आरोपलाई निराधार पुष्टि गर्न सक्ने कुनै अर्को सच्चाई थिएन । पार्टीका केन्द्रीय सदस्यलाई उनी हुल्लडवाज भन्थे पछि आफैले ११ सयको केन्द्रीय कमिटी बनाए । संसद विघटन गरेर संवैधानिक परिषदमा भर्तीको शैलीमा भर्ना गरे, प्रदेशसभामा हारेकालाई मन्त्री बनाए तर आफ्नै सहयोद्धालाई असक्षम र असफल भनेर दुत्कार्न छाडेनन्
भष्ट्रचार गर्दिन र गर्न पनि दिन्न भने तर भष्ट्रचारमा मुछिएका विवादित अनुहारहरू उनैको छत्रछाँयामा मुस्कुराइरहेँ । उनैले पार्टी एकता भनेको पानीमा नुन र चिनी घोलिए जस्तो हो भनेर बताए, अब एमाले छैन र माओवादी पनि छैन भनेर उद्घोष गरे, तर पार्टी एकता परिपक्व नहुदै फुटको नेतृत्व गरे, नेकपा (एमाले) पार्टी दर्ता गर्न लगाए र पुर्व एमाले सबै एक ठाउँमा हौऔं भनेर उर्दी जारी गरे । संसदलाई अस्थिरताको केन्द्रको रूपमा चित्रित गरे र संसद विघटन नभएको भए ठूलो दुर्घटना हुने भएकोले देशलाई दुर्घटनाबाट जोगाउन संसद विघटन गरेको बताए तर संसद पुर्नस्थापना भएपछि कुनै दुर्घटना भएको छैन, बरू उहाँले नै गतिरोध पैदा गर्दै हुनुहुन्छ । उहाँ लगाउत उहाँका मान्छेहरूले सांसदलाई किनवेच हुने बस्तुभाउको रूपमा चित्रित गरे र विघटन ठीक भएको तर्क गरे तर त्यही संसदकै निर्वाचनको रटान गरिरहेँ । पुनर्स्थापना पछि उनीहरू नै सबथोक गरेर बहुमत पुराउन कसरत गरिहेका छन् । आफ्नै पार्टीको दुईतिहाई नजिकको छदाखाँदाको संसद भंग गरेर संसद, जनमत र जनादेशको घोर अपमान गर्ने, कुनै हालतमा संसद पुनर्स्थापना संभवै छैन भनेर ठोकुवा गर्ने प्रधानमन्त्री आफैले लाञ्छित संसदको फेस गर्ने भन्दैछन् । प्रधानमन्त्रीकै मान्छेहरू जंगली माओवादीसँग एकता गर्नु नै गलत थियो भन्छन् तर फेरि रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, दावा लामा र प्रभु शाहलाई बडो क्रान्तिकारी देख्छन् । उनीहरू नै जनयुद्धलाई कुहिएको फर्सी भन्छन्, फेरि पूर्व जनमुक्ति सेनाका लडाकुहरूलाई आफ्ना पक्षमा भित्र्याउन क्रान्तिकारी योद्धाको संज्ञा दिन्छन् र बैधअबैध संझौता गर्न तत्पर हुन्छन् । उनीहरू नै आफ्नै सहकर्मी र सहयोद्धामाथि विषबमन रोज गर्छन् भने राजावादीहरूसँग भोज र मोज गर्छन् । उनीहरू नै भन्छन्, पार्टीका नेताले घेरावन्दी गरेर सरकारलाई कामै गर्न दिइएन, फेरि उनीहरू नै यो सरकारले किर्तिमानी काम गरेको दाबी ठोक्छन् । प्रधानमन्त्री नै अरू नेताहरूलाई स्वार्थ लोलुप भएको आरोप लगाउँछन्, आफै सत्तामा लिसो टाँसिएझै टाँसिन्छन् । अरूलाई पदको भोगी भएको आरोप उनी नै लगाउँछन् फेरि उनी नै सडक–सडकमा आफ्नो तस्विर सजाएर पुज्न लगाउँछन् ।
त्यसैले आजको राजनीतिमा यो विबंधन शब्दको प्रासंगिकता उल्लेखनीय भएको छ । देशका प्रमुख व्यक्ति स्वयं प्रधानमन्त्रीले व्यक्त गरेका भनाईहरू, उनको समर्थनमा भक्तिगान गरिरहेका भजनमण्डलीका कुराहरू सुन्दा यो शब्दले खिसिट्युरी गरेको भान हुन्छ । प्राचीन रोमन सभ्यता जसले कानुनको विकासमा एउटा महत्वपुर्ण अबधारणा विबंधनको व्यवस्था गर्यो, आज हामी विज्ञान र प्रविधिको जमानामा स्वार्थपरक कुरा गरेर, मनपरि बोलेर सत्ताको भरथेग गरिरहेका छौं । प्रधानमन्त्री नै हरेक विषयमा चुकिरहेका छन् र पनि आफ्नै जीत भए जसरी भुकिरहेका छन् । संविधान, राजनीति र लोकतन्त्रलाई एउटा प्रयोगशाला बनाएर मर्यादाहीन नचरी देखाइरहेका छन् । के ञठीकझ छ होइन, के ञबिक्छझभनेर सस्ता कुराको प्रचारवाजी गरिरहेछन् । पदीय मर्यादा के हो, आफू उभिएको धरातल के हो, आफ्नो अस्तित्वको तथ्य के हो, किञ्चित सरोकार छैन, तथ्यहीन कुरा गरेर, उखान, चुट्किला सुनाएर राजनीतिलाई मजाक बनाएका छन् । यसको अन्तर्यमा जे गरेपनि हुन्छ भन्ने सर्वसत्तावादी सोच प्रवल छ । त्यसखालका सोचविरूद्ध जनता सडकबाट आन्दोलित भए । अदालतले न्यायिक ठाउँबाट सख्त खबरदारी गर्यो ।
अदालतले प्रष्ट भाषामा प्रधानमन्त्रीलाई भन्यो कि, तिमीले अबैध काम गर्यौ, त्यसैले संसद विघटन खारेज हुन्छ । तथापि प्रधानमन्त्रीमा कुनै महसुस र स्वीकारोक्ति छैन । संवैधानिक ब्याख्याका सन्दर्भमा सकारात्मक हुन् या नकारात्मक अनुमान, टिप्पणी र चर्चा चिन्तनका बीच संसद पुनर्स्थापनाको पक्षमा फैसला भयो । हामीलाई आशा थियो कि, प्रधानमन्त्रीले आफैले विघटन गरेको संसद पुनर्स्थापित भएपछि नैतिकताको आधारमा गल्ती महसुस गर्ने छन्, ट्रयाकमा अघि बढ्न सघाउने छन्, तर यी सबै आशा माथि तुषारापात भएको छ । अझै ठूलो स्वरमा मलाई हटाएर देखाऊ, भनेर खुल्लम् खुल्ला चुनौती दिदै हिड्छन् । यस्तो लाग्छ कि राजनीतिमा लाज सरम नामको कुनै चिज छैन, राजनीति र नैतिकताको सम्बन्ध दुरदुरतक पनि छैन । प्रधानमन्त्रीले नैतिकताको उच्च उदाहरण बनेर सबैलाई नैतिक पाठ पढाउनु पर्नेमा उल्टै नैतिकता कुन चरीको नाम हो, भनेर प्रतिप्रश्न गरिरहेछन् । यसरी हेर्दा राजनीतिप्रति आस्था र निष्ठा ओरालो लागिरहेछ । नेतृत्वमा त कुनै महसुस छैन भने हामी किन, भनेर बेसरम हुने प्रतिस्पर्धा चल्दै जाँदा यसले राजनीतिलाई अझै कति वितुलो पार्ने हो, अनुमान मात्रै गर्न सकिन्छ ।
अदालतले त कानुनी प्रश्न हल गरेको मात्रै हो । कानुनी जटिलतामा प्रवेश गर्नै नपर्ने गरि जिम्मेवारीबोध गर्नु भनेको नैतिकताको विषय हो । अझ शासनमा नैतिकताको मूल्य राजनैतिक बैधताकै हाराहारी हुन्छ । शासनमा रहेर शक्तिको परिचालन गर्नु भन्दा पहिला स्वयंम् आफ्नै नैतिक गुणको परिचालन गर्नु अनिवार्य हुन्छ । स्वशासनको स्रोतको रूपमा रहेको नैतिकताले नेपालको राजनीतिलाई निर्देशित गर्न सकेको छैन । शक्तिको भोक र भ्रमले नैतिकतालाई लपेटेको छ । यसो हुनुमा नैतिकताको बन्धनलाई अनिवार्य सर्तको रूपमा स्थापित गर्न नसकेको प्रष्ट छ । यद्यपि हामीले बुझ्नु अनिवार्य छ कि, नैतिक पक्षलाई नजरअन्दाज गरेर विकास, समृद्धि र सुशासनका कुरा गर्नु हावादारी गफ मात्रै हो ।
राजनीतिमा देखिएको नैतिक प्रश्नको हल स्वयम् जनताको अदालतबाट गर्नु पर्दछ । जनताको अदालतले विबंधनको व्यवस्थाले भनेजस्तै आफ्ना फाइदाको लागि जस्तोसुकै कुरा गर्न सक्ने, एउटै तथ्यसँग बाझिने गरि अभिव्यक्ति दिने, एउटै कुरालाई एकअर्कामा विपरित हुने गरि बोल्ने नेतृत्वलाई अस्वीकार गर्नु पर्छ । जनतालाई भेडाबाख्रा संझेर व्यबहार गर्ने प्रवृतिलाई पराजित गर्नु पर्छ । जे गरेपनि, जस्तो भएपनि राजाको सन्तान राजा हुने बंशपरंपराको शासनप्रणालीलाई उच्छेदन गरेका पनि जनताले नै हुन् । जनताले चाहेको विधिको शासन हो । उत्कृष्ट नीति र असल नेतृत्वबाट शासित हुनकै लागि लोकतन्त्र ल्याएको हो । यो लोकतन्त्रलाई विकृत बनाउने राजनीतिभित्रका फोहोरजन्य प्रवृतिलाई नामेट पारेर मात्रै समुन्नत लोकतान्त्रिक संस्कारलाई स्थापित गर्न सकिने छ । सभ्य र सुसंस्कृत समाज निर्माणका लागि लोकतन्त्रको असली पहरेदार भएर उभिनु सबै नागरिकको कर्तव्य हो । राजनीतिका फोहोरलाई काँधमा बोकेर सुगन्ध छर्न सकिँदैन । फोहोर मुलबाट स्वच्छ पानीको अपेक्षा राख्नु हानीकारक हुन्छ । नैतिकताको खडेरीमा स्वस्थ राजनीति फस्टाउन सक्दैन । यसैले हाम्रो आफ्नै भविष्य मात्रै होइन, भोलिको पुस्ताको उज्ज्वल भविष्यका लागि पनि उन्नत विधि र पद्धतिसहितको पारदर्शी, जवाफदेही र जनउत्तरदायी नेतृत्वका लागि सचेत पहल गरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->