बागलुङ, २३ फागुन– असजिलो बाटो त्यहीमाथि साँघुरो । स–साना सवारी साधनसमेत कठीन यात्रा गरेर तमानखोला गाउँपालिकाको केन्द्र बोंगादोभान पुग्थे । दोहोरो सवारीको आवतजावत नहुने । कच्चि सडकको ठाउँ ठाउँमा परेका खाल्डाखुल्डीले सवारीलाई उचाल्ने र पछार्ने गर्दा यात्रुलाई लाग्थ्यो गन्तव्यमा सकुशल पुगिन्छ या पुगिँदैन् ।
दुई वर्ष पहिलेसम्म बागलुङको तमानखोलाको केन्द्र बोंगादोभान पुग्नु ठुलै युद्ध जितेको जस्तै हुन्थ्यो । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि झण्डै दश किलोमिटरको दूरीको यात्रा घण्टौं लागेर सवारीले सडक पार गर्थे । अहिले परिस्थिती बद्लिएको छ । २०७२ सालमा भूकम्पका कारण जिल्लाभरका सडकमा सबैभन्दा मारमा यही सडक पर्यो । कमजोर भुभागमा रहेको सडक भुकम्पको शिकार बनेपछि भने अहिले मुहारनै फेरेको छ ।
भनिन्छ, ‘विपद्सँगै अवसर हुन्छ ।’ त्यही अवसरको सदुपयोग हुँदा यो सडकले मुहार फेरेको हो । भुकम्प गएको छ वर्ष पुग्नैलाग्दा बागलुङमा क्षति भएको यो सडकको स्तरवृद्धिको काम सकिएको छ । सडकलाई बाह्रै महिना संचालनमा आउन सक्ने गरी दुईवटा मोटरेबल पुल निर्माणधिन अवस्थामा छन् । ढोरपाटन र तमानखोला जोड्ने करिब दश किलोमिटर सडक स्तरवृद्धि भएपछि अहिले सहज यात्रा हुन्छ ।
भुकम्पले क्षतिग्रस्त बूर्तिवाङ–खुंगा–बोंगादोभान–खुंखानी सडकमा क्षति गरेको थियो । तमानखोलाको दुर्गम वडालाई पालिका केन्द्रमा जोड्ने गरी क्षतिग्रस्त सडक स्तरवृद्धि गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार सडकका इन्जिनियर हरिशचन्द्र बढुले जानकारी दिए ।
सब–वेस प्रकारको सडक कालिका प्यासिफिक जेभीले २०७५ बैशाख १० गते सम्झौता गरी निर्माण कार्य थालेको थियो । निर्माण कम्पनीले २०७६ साल कात्र्तिक ९ गते निर्माण सम्पन्न गरेपनि हस्तान्तरण हुन सकेको छैन । एकवर्षे परीक्षणकाल रहेको हुँदा चालु वर्षको अन्तिमसम्म सडक आयोजनालाई निर्माण कम्पनीले हस्तान्तरण गर्ने इन्जिनियर बढुको भनाई छ । जिल्लामा एउटा मात्र सडक पुननिर्माणको लागि योजना स्वीकृति भएको थियो ।
निर्माण कम्पनीले अहिले बर्खाको पानीले क्षतिग्रस्त सडकमा ग्याविनजाली, मेसिनरीवाल, नाली निर्माणको काम गरिरहेको छ । १५ करोड ७९ लाख १४ हजार ६ सय ४३ रुपियाँको लागतमा सडक पुननिर्माण गरिएको हो । एक वर्षको परीक्षण अवधि सकिएपछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिने छ । सडकलाई पाँच मिटर फराकिलो बनाइएको छ । घुम्ती र अप्ठ्यारो ठाउँमा पाँच मिटरभन्दा फराकिलो सडक निर्माण गरेको इन्जिनियर बढुको भनाई छ ।
बूर्तिवाङ–खुङ्गा–बोंगादोभान–खुंखानी सडकखण्डको दुई स्थानामा मोटरेबल पुननिर्माणधिन छन् । सडक खण्डको लुकुरवान खोलामा २५ मिटरको ‘टि गर्डर’ प्रकृतिको पुल कर्ण प्रदिप जुम्ली जेभीले गत वर्षको मंसिर २ गतेदेखि निर्माण थालेको थियो । उक्त पुलको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
४० मिटर लम्बाईको भालीवाङ खोलापुल नयाँ बाटो सुर्याेदय जिएस जेभीले गत असोज १२ गते सम्झौता गरी निर्माण कार्य थालेको छ । इन्जिनियर बढुका अनुसार उक्त पुलको भौतिक प्रगती २५ प्रतिशत छ । ४ करोड ४२ लाखमा भालीवाङ पुल निर्माण हुँदैछ ।
दुईवटा पुल निर्माणपश्चात पालिकाभित्र बाह्रै महिना सडक संचालनमा आउने तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘पुल नहुँदा बर्खामा सडक अवरुद्ध हुने गर्छ’, अध्यक्ष बुढाले भने,‘ ‘पुल बन्यो भने जनतालाई सुविधा पुग्नेछ ।’





