मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘नरबहादुर’ जसलाई तरकारीले चिनाउँछ…

‘नरबहादुर’ जसलाई तरकारीले चिनाउँछ…


  • निर्मला घर्ति मगर
  • फाल्गुन २३ २०७७, आइतबार

बागलुङ, २३ फागुन– ‘तरकारीबाट पनि आम्दानी !’ ‘वषौंदेखि तरकारी खेती गरेरै परिवार पालेका छौं । अहिले त तरकारीबाट जोडेको सम्पत्तिले सुखको सास फेरेकोभन्दा देख्ने र सुन्नेहरु अचम्म मान्छन् ।’ पंक्तिकार बागलुङ नगरपालिका–३ गौडाकोटको तरकारी गाउँपुग्दा स्थानीय नर बहादुर थापा तरकारी बारीमा थिए । उनको तरकारी खेतीबारे जिज्ञासा राखेपछि थापा रोकिएनन् ‘दश वर्षदेखि माटोमा खेलिरहेको छु, पुर्खौली थालो छोडेर आएपनि यहाँको आम्दानीले मलाई निराश बनाएको छैन् ।’
थापा काठेखोला गाउँपालिका–३ धम्जाका स्थानीय हुन् । तर अहिले उनलाई सबैले तरकारी गाउँको मान्छे भनेर चिन्छन् । त्यहाँ थापाले १० रोपनी जग्गा भाडामा लिएका छन् । मासिक ८० हजार रुपैयाँ भाडा तिर्ने शर्तमा लिएको जग्गामा उनले महिनामा लाखौंको तरकारी फलाएका छन् । जमिनले आकाशको पानी नदेखेको धेरै भयो । तर पनि थापाको दश रोपनी बारी हराभरा छ । अहिले उनको बारीमा बनाईएका दुईवटा आधुनिक टनेलमा लटरम्म गोलभेँडा फलेका छन् ।
छेउछाउमा लगाईएका काउली र बन्दागोभीले बारीको मुहारनै परिवर्तन गरेको छ । ‘भाडामा लिएको जग्गामा लगाएको तरकारीको बिरुवा बढ्दा, मेरो मनमा मुना पलाउँछ’ थापा भन्छन् ‘सिजनभन्दा बेसिजनको तरकारीले मलाई धेरै सन्तुष्ट बनाएको छ ।’ बागलुङ बजार नजिकै भएकाले व्यापारी तरकारी खोज्दै बारीमै पुग्ने गरेको थापा सुनाउँछन् ।
तरकारी मात्रै होइन् थापाको माछापालन समेत राम्रो फस्टाएको छ । माछाबाट राम्रो आम्दानी हुने गरेको उनले सुनाए । एक लाख रुपैयाँ बोकेर धम्जाबाट बागलुङ बजार झरेका थापाको सहकारीमा अहिले सञ्चित रकम छ । ‘वर्षमा दुईदेखि तीन लाख बचत पनि गरेको छु’ थापाले भने ‘मेहनत ठुलो कुरा होइनहेछ ।’
५५ वर्षिय थापालाई श्रीमती पूर्णकली थापाले सघाउँछिन् । थापा यसै व्यवसायीक खेतीमा लागेका होईनन् । वर्षौं विदेशमा बस्दासमेत राम्रो आम्दानी नहुने र परिवारबाट टाढा रहेका कारण भाडामा जग्गा खोजेर तरकारी खेतीमा लागेका हुन् । छोराछोरी पढ्नका लागि बाहिर छन् । उनीहरुको खर्च बुढाबुढीले तरकारी बिक्रीबाट आएको आम्दानीबाटै चलेको छ ।
तरकारी गाउँमा थापा जस्तै धेरै किसानले व्यवसायीक खेती गरेका छन् । किसानले आफ्नै सक्रियतामा बनाएको मिरमिरे कृषि सहकारीले संस्थाले उनीहरुका हरेक काममा सहयोग गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->