बागलुङ, २४ फागुन– अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसर पारेर अन्तरपार्टी महिला संजालले आइतवार श्रमिक महिलाका समस्या बारे छलफल गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. १ मालढुंगामा कार्यक्रम गरेर संजालले श्रमिकका समस्या समाधानमा पहल गर्ने आश्वासन समेत दिए । कार्यक्रममा सहभागिले न्युन पारिश्रमिक पाएको, पुरुषको तुलनामा थोरै ज्याला पाउने गरेको र फोहोरको डम्पिङ क्षेत्रले बढी समस्या ल्याएको गुनासो गरे । ‘फोहोरको डंगुरले हाम्रो स्वास्थ्यमा समस्या ल्याएको छ’ स्थानीय सबिता तामाङले भनिन्, ‘झिंगा भन्केको, दुर्गन्ध जस्ता समस्याले हामी सताइएका छौं ।’ नगरपालिकाले अव्यवस्थित रुपमा फालेको फोहोर सिंगो बस्तीको समस्या भएको उनीहरुले बताए ।
कार्यक्रममा संजालकी सल्लाहकार शकुन्तला शर्माले अमेरिकामा १ सय ११ बर्ष अघि उठेको आन्दोलन अझै नेपालमा उठ्न नसक्दा बिकासमा पछि परिएको बताइन् । उनले अझै अधिकारकालागि लड्नुपर्दा समृद्धिको अभियानमा जान नसकिएको बताइन् ।
बानपा ३ की अध्यक्ष लक्ष्मी बास्कोटाले नगरपालिकाले फोहोरको दिगो व्यवस्थापन गर्न लागेको भन्दै केही समयमा दुर्गन्ध हटाउने काम गर्न सकिने बताइन् । उनले श्रमिको वास्तविक समस्यामा नगरपालिकाले योजना बनाएर कार्यान्वयनमा ल्याउने बताइन् ।
संजालकी अध्यक्ष कुशुम बुढाको अध्यक्षता, सचिव पिंगला जिसीको संचालन र उपाध्यक्ष भगवती केसीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अबसरमा मजदुरलाई खाजा बितरण समेत गरिएको थियो ।





