फेवाताल । फेवाताल केवल ताल मात्र हैन, योसँगै पोखराको सभ्यतासँगै जोडिएको छ । अझ भनौँ, पोखरेलीको अस्तित्व समेत तालसँगै जोडिएको छ । कैयौं फाँटहरु सिञ्चित गर्ने ताल हजारौँको आर्थिक स्रोतको मुहान हो । फेवा मुहानमा व्यवसायिक मत्स्यपालक गर्ने सयौँ किसानहरु हुन् वा फेवामा डुंगा खियाएर गुजारा गर्ने सयौं मानिसहरु । फेवाको किनारमा अवस्थित लेकसाइडमा मात्र दुई सयभन्दा बढी होटल र रेष्टुराँहरु छन् । जसले ४० हजारभन्दा बढीलाई रोजगार दिएका छन् । टुर, ट्राभल्स, स्पालगायत अन्य व्यवसायले मात्र १० हजारको हाराहारीमा रोजगारी दिएका छन् । यता जाडो छल्न आउने कैयांै विदेशी चराहरुको बासस्थान समेत हो ताल । वार्षिक रुपमा लाखौ विदेशीहरु फेवाकै किनारमा माछापुच्छ«ेको छाया नियाल्न आउँछन् । फेवा नियालेर अघाउने को नै छ र ? तर यहीँ तालमा बढ्दो अतिक्रमण र तालमा वर्षेनी थुप्रने बाटोले फेवाको अस्तित्व नै धरापमा छ ।
पmेवाताल प्राकृतिक वा मानव निर्मित ताल भन्ने विषयमा सबैको आ–आफ्ना धारणाहरु रहेका छन् । तालको पूर्वतिर ड्याम भएकाले यसलाई मानवनिर्मित भन्ने धेरै छन् तर नामी भूगर्भविद डा. हर्क गुरुङले अध्ययन रिपोर्ट ‘पोखरा भ्याली ः अ जियोग्राफिकल सर्भे’ मा बताएका छन्, फेवाताल पोखरा उत्पति हुने समयमै हिमतालबाट आएको पानीले बनेको ताल थियो । उनले आफ्नो पुस्तक ‘मैले देखेको नेपाल’ मा यो पनि बताएका छन् कि, फेवामा ड्याम बन्नु अगावै जंगबहादुर राणाले तालको पानी पम्प गरेर सिचाइँमा प्रयोग गर्ने सपना बुनेका थिए, जुन यथार्थमा सफल चाहिँ भएको थिएन । यस अर्थमा पनि फेवा प्राकृतिक ताल रहेको अध्ययनले देखाउँछ ।
जनमानसमा फेवा उत्पतिको आआफ्नै जनविश्वास रहेका छन् । किंवदन्ती अनुसार कुनै समय यस क्षेत्रमा ठुलो गाउँ थियो । तालबाराही देवी सन्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँमा पुग्दा अरु कसैले बास दिएनछन् । एउटी बुढी आमाले बास दिएर रातमा आफूसँग भएको रोटी खान दिएछिन् । भोलिपल्ट बिहान बूढीआमालाई देवीले अब यहाँ जलगग्न हुन्छ, त्यहाँ गएर बस्नु भनेका थिइन् । नभन्दै बाढीले सारा गाउँ बगाइदियो र बूढीआमा बसेकी त्यो बीच भागको ढिस्को मात्र रह्यो । पछि देवीका भक्तहरुले यसलाई मन्दिरको स्वरुपमा बदलेर समयसँगै वर्तमान रुपमा आएको विश्वास धेरैले राख्छन् ।
यता तालबाराही मन्दिर संरक्षण गुठी व्यवस्थापन समिति अनुसार यस मन्दिरको अस्तित्व वि.सं. १६६७ देखि कायम रहिआएको देखिन्छ । कतैकतै वि.सं. १४४७ देखि अस्तित्वमा रहेको भन्ने पनि अभिलेखहरुमा भेटिन्छन् । बाइसे चौबिसे राज्यका पालामा कास्कीका राजा कुल मण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेका थिए । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिलालेख थियो, त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रुपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । पछि आएर विं.सं. २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निमार्ण गरिदिएसँगै यसको चर्चा थप चुलिएको थियो ।
पोखराको सभ्यता यही तालसँग जोडिएको थियो । २०१८ सालमा तालमा पहिलोपल्ट ड्याम बनेको थियो तर यसभन्दा अघि पनि कुला नहरहरु बनाएर खेतहरु सिञ्चित गरिएका थिए । २०१६ साल ताका नेपालका प्रधानमन्त्री विपी कोइरालाहुँदा चिनियाँ प्रधानमन्त्री चाउ इन लाई नेपालमा राजकीय भ्रमणमा आएका थिए । भ्रमणकै क्रममा उनले फेवातालमा नौकाविहारसमेत गरेका थिए । फेवाको प्राकृतिक बाँध कमजोर भएकाले यो जुनसुकै समय भत्किन सक्ने बताउँदै नयाँ बाँध बनाउन विपीलाई उनले सुझाएका थिए ।
त्यसको दुई वर्षपछि अर्थात वि.सं. २०१८ मा भारतीय सहयोग मिसनको १५ लाख रुपैँया आर्थिक सहयोगमा ४६ फिट अग्लो बाँध बाधिएको थियो । तर यो बाँध २०३१ सालमा भत्किएको थियो । बाँध भत्किएसँगै फेवाको पानी ह्वात्तै घटेको थियो । यहीँ मौका छोपी फेवा अतिक्रमण सुरु भएको थियो, जुन अझै पनि रोकिएको छैन । त्यसपछि २०३५ सालमा यूएनडीपीको सहयोगमा पहिलाको बाँधभन्दा झन्डै एक सय मिटर तल अर्को बाँध निमार्ण भएको थियो ।
ब्रिटिस सर्भे अफ इन्डियाले सन् १९२५÷२६ मा तयार पारेको स्थलगत नक्साअनुसार फेवातालको क्षेत्रफल ३.४६ वर्गकिमी थियो । पछि सन् १९५७÷५८ मा सर्भे अफ इन्डियाले नै तयार पारेको नक्सामा चाँहि ४.३९ वर्गकिमी तालको क्षेत्रफल देखिएको थियो । पछि विसं २०१८ मा बाँध बनिसकेपछि नेपाल भारत सहयोग मिसनको प्रतिवेदनले तालको क्षेत्रफल १०.३६ वर्गकिमी अर्थात २० हजार ३ सय ६४ रोपनी उल्लेख गरिएको थियो । त्यसताका तालको गहिराई २९ मिटरको थियो । त्यसपछि विभिन्न समयमा उतारिएको नक्सामा यसको क्षेत्रफल घट्दै आएको देखिन्छ ।
त्यसपछि ०३८ सालमा यूएनडीपीले तयार पारेको अध्ययन प्रतिवेशनमा तालको क्षेत्रफल ५ दशमलब ८ वर्गकिमी देखिएको थियो । पछि ०६४ मा विश्वप्रकाश लामिछाने नेतृत्वको समितिले गरेको अध्ययनमा तालको क्षेत्रफल ५ दशमलब ६ वर्गकिमी उल्लेख गरिएको थियो ।
तालको सिमांकन र नक्सांकनको विषय नौलो हैन । यो कार्य त्यति सहज पनि हैन । पछिल्लो समय यसको आधिकारिक क्षेत्रफलको छिनोफानो गरिएको छ । गत कात्तिकमा पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गठित फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले अन्ततः तालको क्षेत्रफल ५ दशमलब ७२६ वर्गकिमी तोकियो जुन क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी रहेको थियो । फाल्गुन १६ गते मन्त्रिपरिषद्को बैठकले यसलाई पारित पनि ग¥यो ।
नयाँ नक्सांकन र सिमांकन टुंगिएसँगै समितिले अब अतिक्रमण गरिएका जग्गाको विवरण, मापदण्ड विपरीत बनाइएका भवनहरुको तथ्यांक एवं मुआब्जा दिनुपर्ने जग्गाको विवरण निकाल्नेछ । यसले कुन गति लेला, त्यो हेर्नै पर्छ ।
पारित नयाँ नक्सा र २०१८ को नक्सा दाच्ने हो भने फेवातालको क्षेत्रफल आँधाको हाराहारीमा घटेको देखिन्छ । यहीँ विषयलाई लिएर अहिले सर्वत्र चर्चा भइरहेको छ । समितिका सदस्य सचिव एवं नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतम २०१८ को अध्ययनमै त्रुटि भएको दाबी गर्छन् । फेवातालको क्षेत्रफल कुनै पनि आधारले १० वर्गकिमी हुनै नसक्ने उनी बताउँछन् ।
तर यति भनिरहँदा विगतबाटै तालको अतिक्रमण चाहिँ भइनै रहेको विभिन्न अध्ययनले देखाउँछ । विसं २०६८ फाल्गुन ४ गते फेवातालको अतिक्रमण भएका जग्गा छानबिन गर्न उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेको अध्यक्षतामा समिति गठन भएको थियो । तालको क्षेत्रफल ६.५ वर्गकिमी प्रतिवेदनमा देखिएको थियो । लामिछाने प्रतिवेदनअनुसार तालको पश्चिमपट्टि १ हजार ६ सय ९२ रोपनी तालको जग्गा व्यक्तिले आफ्नो नाममा बनाएको देखिन्थ्यो । करिब ९ सय ५० जना व्यक्तिको लालपुर्जा खारेज गर्न सिफारिस गरेको थियो । तालको २ हजार ३१ रोपनी जग्गा खेतीयोग्य जमिनमा परिणत भएको थियो । ऐतिहासिक रुपमा तालकै जग्गा भएपनि १९९० सालदेखि तिरोभरो तिर्दै आएको ५ सय ४० रोपनी जग्गाको मुआब्जा दिन सिफारिस गरेको छ भने बाँकी १६९२ रोपनी सरकारले ढिलो नगरी तालकै क्षेत्रमा समावेश गर्न सुझाव दिइएको थियो । मुआब्जा मात्र अर्बौ लाग्ने तथ्यांकले देखाउँछ । प्रदेश सरकार वा महानगर कसले यो बेहोर्ने भन्ने विषयनै टुगों लागेको छैन ।
फेवाको बाँध जीर्ण भएको भन्दै यही माघमा बाँध मर्मत कार्य सुरु भएको थियो । तालबाट करिब ६ करोड लिटर पानी घटेसँगै तालको किनारमा वर्षेनी थुप्रिने माटो प्रष्ट देखिएको थियो । बाँध निमार्ण गर्ने मौकामै यसलाई हटाउने र अतिक्रमण क्षेत्रलाई फिर्ता गर्ने अवसरलाई चुकाउन नहुने धेरैको धारणा थियो । बरु उल्टै पानीको सतह घटेको मौका छोपी रातारात ताल किनारमा मापदण्डका विपरीतका पूर्वाधारहरु बनाउने प्रयास नभएका हैनन् ।
फेवाको आयु निर्धारण गर्ने अर्को तत्व यसको गहिराइ । ०३१ सालमा ३३ मिटर गहिरो फेवाताल ०६४ को नापीमा १८ मिटर मात्र गहिरो देखिएको थियो । पछिल्लो समय २०१७ मा अमेरिकी विश्वविद्यालयका ४ जना प्रोफेसर र दुई नेपालीको टोलीले गरेको अध्ययनले भने तालको अधिकतम गहिराइ १९ मिटर र न्यूनतम भने ८ मिटर पत्ता लागेको थियो । यसरी विभिन्न तथ्यलाई केलाउँदा करिब १०० वर्षमा फेवाको अस्तित्व विलिन हुने धेरैले अनुमान गरेका छन् । जापानिज सहयोग संस्था जाइकाले गरेको अध्ययनअनुसार फेवातालमा वर्षेनी १ लाख ४२ हजार मेट्रिक टन माटो र फोहोरमैला थुप्रिने गरेकोे छ । जसबाट प्रत्येक वर्ष शून्य दशमलब १८ वर्ग किमी ताल पुरिँदै आएको छ ।
फेवातालको सिरानमा रहेका हर्पन, अँधेरी, लौरुक र बेतयनी खोलामा एक वर्षअघि बाँध र सिल्टपोखरी बनाइएका थिए । करिब २९ करोड लगानीमा सम्पन्न भएका ती पुर्वाधारहरु एक वर्षमै जीर्ण बनेका थिए । थप २५ करोड थप्नु पर्ने अनुसन्धानले देखाएको थियो ।
तालको वरपरका क्षेत्रमा मात्र अहिले करिब ५ सय किमी सडक विस्तार भइरहेको छ । वर्षेणी यही सडकबाट बगेर आउने ग्रेगर, ढुंगा, माटो तालमा पुरिदै गएको छ । एक वर्षभित्र प्राय सबै सडकहरु ढलान गर्ने योजना रहेको महानगर बताउँछ तर यस परियोजनालाई प्राथमिकता नदिए फेवाको आयु छोटिने पक्का छ ।
यता फेवामा वर्षायाम सँगै जलकुम्भी र बन्दा झार तालभरि ढाकिन्छ । फेवामा जलकुम्भी ४० वर्ष अघि देखिदैनथे । जापानी संस्था जाइकाले २०६३ र २०६४ सालमा गरेको अध्ययन प्रतिवेदन अनुसार ताल वरिपरिको खेतमा रासायनिक मलको प्रयोग, तालमा मिसिने ढल, फोहोर र तालको मुहानमा हुने भूक्षयकै कारणले निर्मूल हुनै नसकिने गरी तालमा जलकुम्भी बढेको बताउँछ । अध्ययनले यो पनि देखाउँछ कि यो दुई हप्तामै बढेर दुई गुणा हुन्छ र छोटो समयसँगै पूरै तालको भुभाग ओगटिदिन्छ । यसले एकातिर पानीमा घुलेको अक्सिजन धेरै मात्रामा खपत गरेकाले पानीमा पाइने माछा र अन्य जीवजन्तुको भविष्य धरापमा पारेको छ त अर्कातिर यसले तालको गहिराई घटाउदै गएको छ । यसलाई हटाउन धेरै प्रयासहरु नभएका हैनन्, तर पूर्ण रुपमा जलकुम्भी फेवाबाट हटाउन धेरै मिहिनेत आवश्यक देखिन्छ ।
ताल किनारमा मापदण्ड विपरीत कैयौं होटलहरु सञ्चालनमा छन् । केही वर्ष अघि गरिएको अध्ययनले यो देखाउँछ कि होटलबाट फेवामा मिसिएको ढलमा अत्याथिक मात्रामा लिड, क्लोरिन र अन्य हानिकारक तत्वहरु भेटिएको थियो । यसले तालको प¥यायवरणलाई त असर पारेको नै छ, सँगै जलकुम्भी मौलाउन मद्दत गरेको छ ।
यता माघमा सुरु भएको बाँध मर्मत कार्य अन्तिम चरणमा आइपुगेको छ । अहिले अन्तिममा आएर तालबाट १५ हजार घन मिटर माटो निकाल्ने निर्णय भएको छ । तर अझै यसका लागि कुन सरकारले कति बजेट निकास गर्ने यकिन हुन सकेको छैन । प्रदेश सरकार र महानगरबीचको तालमेल नमिल्दा यो कार्य ढिला भएको धेरैको बुझाई छ ।
फेवाताल केवल ताल मात्र हैन, सभ्यता पनि हो । पोखराको सभ्यतासँगै पोखरा जोडिएर आउँछ । फेवातालको अस्तित्व मेटिनु भनेको सिंगो पोखराको सभ्यता मेटिनु हो । फेवातालमा माछापुच्छे«को लोभलाग्दो तस्विरको चर्चा विश्वको कुन कुनामा हुँदैन । सन् २०१७ मा पोखरा विश्वकै तेस्रो सुन्दर गन्तव्य र घुम्नै पर्ने पहिलो गन्तव्यका रुपमा समावेश भएको थियो । फेवातालको किनार, लेकसाइडमा मात्र अहिले सयौं होटल, रेष्टुरा लगायत विभिन्न व्यापार व्यवसाय तालकै अस्तित्वमा अडिएका छन् । तालकै जग्गालाई अतिक्रमण गरेर नयाँनयाँ संरचनाहरु ब्निरहेका छन् । तालकै अस्तित्वमा बाँचिरहेका उनीहरु ताललाई नै मिचेर आफ्नो भविष्यको अस्तित्व धरापमा पारिरहेको हेक्का छैन । यही गतिमा तालको अतिक्रमण, माटो थुप्रने प्रक्रिया, जलकुम्भीको अतिक्रमण बढ्दै जाने हो भने अबको सय वर्षमा फेवाको अस्तित्व मेटिनेछ । अनि सँगै मेटिनेछ पोखराको अस्तित्व । लेकसाइडको सडक छेउमा झुन्डिएको एउटा बोर्ड सम्झन्छु, ‘नो लेक, नो मोर लेकसाइड । सेभ फेवा लेक ।’





