बागलुङ, २५ फागुन– भुगोल अनुसार स्वास्थ्य संस्था स्थापना गरेको बागलुङको बरेङ गाउँपालिकाले स्वास्थ्य सेवालाई शुलभ, पहुँचयोग्य र उपभोक्तामैत्री बनाउने अभियान थालेको छ ।
बिरामीको लागि आवश्यक औषधिको प्रबन्ध टोल–टोलमै गरेर गाउँपालिकाले नयाँ अभियान थालेको हो । स्वास्थ्य चौकीमा निःशुल्क पाउने सुचिकृतबाहेक सस्तोमा औषधि उपलव्ध गराउने अभियान गाउँपालिकाले थालेको हो । स्वास्थ्य चौकी तथा एकाईमा औषधी किन्ने व्यवस्था मिलाएको छ ।
स्वास्थ्य चौकीमा नपाईने औषधी खरिदको लागि बिरामी तथा उनीहरुका आफन्त टाढा रहेका निजी मेडिकल पसलमा जानुपर्ने बाध्यता अन्त्य गर्न अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
बिरामीको सुविधालाई ध्यानमा राखेर अंकित मुल्यभन्दा दश प्रतिशत छुटमा औषधी किन्ने सुविधा थप गरेको स्वास्थ्य शाखा प्रमुख पदम पुनले जानकारी दिए ।
औषधी खरिदको लागि गाउँपालिकाले प्रत्येक स्वास्थ्य संस्थालाई पहिलोपटक एक लाख रुपैयाँ बजेट उपलव्ध गराएको छ । सेवाग्राही बढी भएको तर नजिकमा निजी मेडिकल नभएको क्षेत्रमा यसवर्ष उक्त सेवा थप हुनेछ ।
पुनका अनुसार, बरेङ गाउँपालिकाको सुखौरा, सल्यान स्वास्थ्य चौकी र साग्दी सामुदायिक स्वास्थ्य इकाईमा यसवर्ष औषधी व्यवस्थापन गरिने छ । सुखौरामा उक्त सेवा सुरु गरिएको छ । अन्य स्वास्थ्य संस्थामा क्रमशः सेवा थप गर्दै जाने उनले बताए ।
स्वास्थ्य चौकीमा प्राप्त हुने ३८ प्रकारका औषधीबाहेक अन्य खरिद गर्नु परे स्वास्थ्य संस्थाले नै सस्तो मुल्यमा औषधी बिक्री गर्ने व्यवस्था छ । जसका कारण बिरामीलाई राहत हुने गाउँपालिकाको विश्वास छ । उक्त औषधी बिक्रीको छुट्टै आम्दानी खाताको व्यवस्थापन गरेको स्वास्थ्य शाखा प्रमुख पुनको भनाई छ ।
सल्यान र बाटाकाचौरको उपल्लो क्षेत्रका नागरिकलाई लक्षित गरि साग्दी सामुदायिक स्वास्थ्य इकाईमा नमुनाको रुपमा कार्यक्रम विस्तार गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गरिने पुनको भनाई छ ।
यसअघि गाउँपालिकाले धुल्लुबाँस्कोटको लुगरुङ र गंडेल, हुग्दिसिरको बराहकोट, बाटाकाचौरको साग्दी, सल्यानको थप्लुङ्गमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरेको थियो ।





