बागलुङ, २५ फागुन– ढोरपाटन सिकार आरक्षले जैबिक बिबिधता संरक्षणमा संचार माध्यमको भूमिका खोजी गरेको छ ।
आरक्षका क्रियाकलाप, संरक्षणका प्रयास र आरक्षले राज्यको विकास तथा पर्यटनमा पु¥याएको प्रभावको खोजी गर्नुपर्ने बेला भएको प्रमुख संरक्षण अधिकृत बिरेन्द्रप्रसाद कंडेलले बताए ।
आरक्ष कार्यालयले सोमबार बागलुङ बजारमा आयोजना गरेको अन्तरक्रियामा प्राणी र वनस्पतिको संरक्षणमा संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने उनले जानकारी गराए ।
जैबिक बिविधतालाई आँफूले उपयोग गरेर सन्ततीलाई पनि जस्ताको त्यस्तै हस्तान्तरण गर्ने अभ्यासका लागि संचारमाध्यमले आम उपभोक्तालाई सन्देश दिनुपर्ने बताए । ‘अहिले प्रयोग गरेर सक्ने प्रयास गर्दा दोहन हुने गर्छ, तर हामीले दिगो व्यवस्थापन र उपयोग खोजेका छौं’ कंडेलले भने, ‘राज्यले थालेको अभियानलाई सबैले साथ र सहयोग गर्नुपर्छ ।’ आम जनतालाई बुझाउने काम संचारमाध्यमको भएको पनि उनले बताए ।
सरकारले संरक्षणका लागि संरक्षणको अभियानबाट पार गर्दै सहभागितात्मक विकासको मोडल ल्याएकोले अब आरक्षणप्रति त्रसिद हुनुपर्ने अवस्था नभएको समेत उनको भनाई थियो । आरक्षले मध्यबर्ती क्षेत्र घोषणाको तयारी गरेको, सुरक्षाको व्यवस्थापन बढाएको, चोरी सिकारलाई रोकेर महत्वपूर्ण जन्तु र बनस्पतिको संरक्षण गर्ने योजना पनि उनले सुनाए । राज्यले सदुपयोग गरेर करोडौं कमाउने र भविष्यलाई पनि जस्ताको त्यस्तै हस्तान्तण गर्ने मोडलको विकास चाहेको उनको भनाई थियो ।
संरक्षणका लागि संस्थागत संरचना निर्माण, समुदायको सहभागिता, समन्वय, प्रविधिको उपयोग, कानूनको पालना र क्षमता बिकासका मोडलहरु प्रयोगमा ल्याएको भन्दै कंडेलले आरक्षणको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।
उक्त अवसरमा पत्रकारहरुले आरक्षको संरक्षण मोडल, सिकारका प्रकृति, स्थानीयको विकास मोडललगायतका बिषयमा जिज्ञाशा राखेका थिए । कार्यक्रममा रेन्जर दिपेन्द्र पोखरेल, सुदिपराज अधिकारीले संरक्षणको प्रयास र अहिलेसम्मका उपलब्धीबारे जानकारी गराएका थिए ।
पर्यटकीय क्षेत्रको विकास र पूर्वाधार निर्माणमा पहल बढाउनुपर्ने उनीहरुको धारणा थियो । सिकार आरक्षणमा सिकारीबाहेक बर्षेनी धेरै पर्यटकसमेत पुग्छन् । उनीहरुका लागि सुबिधा सम्पन्न होटल बनाउने विषयमा पनि राज्यको ध्यान केन्द्रित गर्नुपर्ने आवस्यकता सहभागिले औल्याएका थिए ।
आरक्षण कार्यालयका अनुसार यहाँ चरण क्षेत्र ४ सय ४४ वर्ग किमी, वन क्षेत्र ४ सय २६ बर्ग किमी, कृषि क्षेत्रमा २६ वर्ग किमी, वनस्पतिका लागि ४ सय २६ वर्ग किमी रहेको छ ।
आरक्षमा नाउर र झारल सिकार गर्न पाइन्छ । नेपाल सरकारलाई राजश्व तिरेर गरिने सिकारका लागि बिदेशी सिकारी बढी आउने गर्छन् । यहाँ अन्य ३२ प्रकारका स्तनधारी र १ सय ६४ प्रकारका पंक्षिहरु संरक्षित छन् । यहाँ छेन्टुङ गुम्बा, उत्तरगंगा, गुर्जाखानी, रुद्रताल लगायतका धेरै पर्यटकीय क्षेत्र पनि छन् । आरक्षको एक मुख्य कार्यालयसहितका पोष्टमा ७२ जना कर्मचारी, सेनाको एक गुल्म सुरक्षा पोष्ट छ ।





