मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

चल्न थाल्यो राजाको पुल

चल्न थाल्यो राजाको पुल


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २६ २०७७, बुधबार

बागलुङ, २६ फागुन– विसं १९९० सालमा तत्कालिन चौबिसे राजा भरतबमले बनाएको झोलुंगे पुल भत्केपछि आवतजावत अवरुद्व भएको थियो । मर्मतपछि अहिले संचालनमा आएको छ ।
दशकदेखि झोलुंगेपुल जीर्ण हुँदा पैदल यात्रीले जोखिम मोलेर यात्रा गर्थे । हरिचौरबाट गलकोट नगरपालिकाको कार्यालय रहेको बसाहफाँट पुग्न जीर्ण राजाको पुलमा जोखिम भएपछि खोला तर्नुपर्ने बाध्यता थियो । मोटरसाइकल र जिपले भैंसे पुगेर घुम्दा झण्डै ८ किमी घुमाउरो बाटोमा समय बिताएका थिए । अहिले भने जीर्ण राजाको पुल पुननिर्माण भएको छ । घरेलु प्रविधिले बनाएको साङलोबाट बनेको झोलुंगे पुल दशकदेखि अलपत्र थियो ।
गलकोट नगरपालिकाले उक्त साङलोसमेत खेर नफाल्ने गरी माथिल्लो भागमा प्रयोग गरेको छ । तल्लो भागमा आधुनिक लठ्ठा प्रयोग गरेर पुल बनाइएको हो । २००६ र २०३५ सालमा पनि दरमखोलाले पुल बगाएको थियो । तर स्थानीयले तत्काल मर्मत गरेका थिए । त्यसपछि भने पुरानो भएर बिग्रने भैरहेको यो पुल पछिल्लो समय पुरै भत्केको थियो । सयौं मानिसले आउजाउमा सास्ती खेपेका थिए ।
ताराखोला गाउँपालिकाबाट बजारका लागि झर्ने सबैले यो पुल अभावमा सास्ती खेपेका थिए । ‘सबैको समस्यालाई बल्ल सम्बोधन गर्न सकियो’ गलकोट नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘नगरपालिकाले १० लाख खर्चेर पुललाई नयाँ बनाईयो ।’ नजिकै पक्की पुलसमेत निर्माणाधिन छ । इतिहास बोकेको पुल भएकोले नगरपालिकाले छुट्टै लगानी गरेर पुननिर्माण गरेको उनले बताए ।
झोलुंगे पुलको मर्मत र पुननिर्माणको काम भने संघिय मामिला मन्त्रालयको झोलुंगे पुल महाशाखाले गर्छ । यहाँ मोटरेबल पुल निर्माणाधिन भएकोले महाशाखाले पुलको आवस्यकता देखेको थिएन । नगरपालिकाले भने इतिहास जोडिएको विषयमा लगानी गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->