मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

तंग्रियो ढोरपाटनको पर्यटन

तंग्रियो ढोरपाटनको पर्यटन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०७७, बिहिबार

बागलुङ, २७ फागुन– कोरोना महामारीले थला परेको ढोरपाटन शिकार आरक्षको पर्यटन भदौ १७ को बाढी पहिरोका कारण थप प्रभावित भयो । शिकारको सिजमनमा कोरोना महामारीका कारण शिकारी आएनन् भने ढोरपाटन उपत्यका र उत्तरगंगाको सुन्दरता खोज्नेहरु पनि चैत–बैशाख जस्तो सिजनमा ढोरपाटन पुगेनन् ।
वर्षा सकिएपछि ढोरपाटनमा असोज कात्तिकमा औषतभन्दा धेरै पर्यटक पुग्थे । भदौमा भूजिखोलामा आएको बाढीले झण्डै १५ किलोमिटर सडक बगाएपछि त्यसको प्रभाव पर्यटनमा प¥यो । ढोरपाटनमा शिकारका लागि कात्तिक र चैत सिजनको रुपमा लिइन्छ भने अन्य पर्यटक पनि यो समयमा बढीनै ढोरपाटन पुग्छन् ।
कोभिड–१९ को प्रभाव कम र बाढीले बगाएको सडक पुननिर्माण भएसंगै ढोरपाटनमा घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपालको एकमात्र शिकार आरक्षमा कोभिड–१९ र खराब सडकका कारण कम भएको पर्यटक अहिले भने ह्वात्तै बढेको हो ।
‘कोभिडसंगै ढोरपाटन सालझण्डी मोटरबाटोको समस्याले पर्यटक आएका थिएनन्, हिउँदमा सजिलो भएर बढेका छन्’ ढोरपाटन नगरपालिका वडा नं. ९ का अध्यक्ष हरिबहादुर घर्तीले भने, ‘बोबाङमा सडक स्तरोन्नती गर्न सकियो भने पर्यटक नियमित गर्न सकिन्छ ।’
ढोरपाटन शिकार आरक्ष प्रवेश गर्दा साथ देखिने पाटनको मनमोहक दृष्यले धेरै पर्यटकको मन तान्ने गरेको उनले बताए । ढोरपाटन शिकार आरक्ष प्रवेशसंगै देउरालीको चिसो हावा, फागुने लेक, लेडेको धुरी, गर्पा लेक साथै मनोरम पाटनको दृष्य फोटोमा कैद गर्दै पर्यटकले थकाई मार्ने गर्दछन् । बिभिन्न रंगका गुरास फूल्न थालेकोले पर्यटक लोभिने गर्छन् ।
ढोरपाटनमा बिभिन्न विद्यालय, आमा समूह र युवाहरुको समूह मिलेर घुम्न आउने गरेका छन् । ढोरपाटन घुम्न आउनेले उत्तरगंगा, ढोरवराह मन्दिर, फागुने लेक, गार्पा लेक, जलजलाजस्ता धेरै स्थानहरुमा घुम्न जाने गरेको शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र प्रसाद कँडेलले बताए ।
ढोरपाटनबाट धौलागिरि र अन्नपुर्ण हिमश्रृङ्खलाको मनमोहक दृष्यावलोकन समेत देखिन्छ । पर्यटकको गतिविधि बढाउन सडकको स्थायित्व, होटलहरु बढाउनु पर्ने स्थानीय शिक्षक चकबहादुर अदैले बताए । स्थानीयले खोलेका होमस्टेले पनि आन्तरिक पर्यटकलाई सहज बनाएको उनले बताए ।
मध्यपहाडीको यात्रापछि बुर्तिवाङदेखि ३० किमीमा ढोरपाटन पुगिन्छ । ढोरपाटन शिकार आरक्षमा प्रवेश गर्दा हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६ को कानुनी व्यवस्था अनुसार नेपाली नागरिकले एक सय, सार्क मुलुकका नागरिकले १ हजार ५ सय र अन्य विदेशी नागरिकले तीन हजार शुल्क तिर्नुपर्ने प्रावधान रहेको कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->