बागलुङ, २७ फागुन – बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराको डोहेरी गाउँ । त्यहाँ सानो सुन्दर वस्ती छ । त्यही सुन्दर वस्तीमाथि सेताम्य हिमश्रृङखला हेर्न सकिने मनमोहक डाँडा छ, दारेगौडा । बुढापाकाले बस्ती धान्न प्रयोग गरेको त्यो डाँडा यतिखेर कान्छो धौलागिरीका नामले चिनिदैछ ।
समुन्द्री सतहदेखि करिव दुई हजार पाँच सय मिटर अग्लो पहाड कान्छो धौलागिरीबाट दन्तलहरमा देखिने हिमाल हेर्न आउने युवाहरुको चाँप पनि बढ्दैछ । उच्च भागमा रहेको समथर भाग आँफैमा सुन्दर त छ नै । त्यसमाथि, त्यहाँबाट देखिने करिव ११ जिल्लाका भूभाग अनि साविक धौलागिरीका ३ जिल्ला सदरमुकाम बागलुङ, बेनी र कुश्मा बजारको मनोमहक दृष्य । आँखै अगाडि देखिने धौलागिरी, अन्नपूर्ण, माछापुच्र्छे, मानापाथी लगायतका दर्जन हिमश्रृङखलाको सजिलै अवलोकन गर्ने सकिने ठाउँ । त्यहाँ पुग्ने प्रकृतिप्रेमी जो कोहीलाई पनि आहा ! क्या मज्जा लाग्छ । हिम पहाडका लागि अत्तिउत्तम स्थान भएकाले नै दारेगौडालाई अहिलेका युवाहरुले कान्छो धौलागिरीको उपमा दिएका छन् ।
उनीहरुका अनुसार दारेगौडालाई अव कान्छो धौलागिरीका नामबाट संसारभर चिनाइने तयारी थालिएको छ । जंगलका चराचुरुङ्गीको आवाज सुन्दैै हिमश्रृङखलाको आगनमा रमाउन चाहने पर्यटकको रोजाईमा यो ठाउँ पर्ने छ । प्राकृतिक छटाले परिपूर्ण यस क्षेत्रको पर्यटन विकासमा प्रर्याप्त पूर्वाधार अभाव भए पनि आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालिसकेको छ
। पर्यटन प्रचुर सम्भावना बोकेको यस क्षेत्रको प्रचार प्रसार तथा पर्यटक आकर्षण गर्न स्थानीय पुष्पाञ्जली ग्रामिण विकास केन्द्र लागि परेको छ । यही क्लवले शिवरात्री पर्वको अवसर पारेर सार्क राष्ट्रसहित नौ देशको झण्डा फहराएको छ । वडा कार्यालयको सहयोगमा नेपालसहित भारत, पाकिस्तान, भुटान, श्रीलंका, माल्दिभ, बंगलादेश, अफगानिस्तान र चीनको राष्ट्रिय झण्डा राखिएको पुष्पाञ्जली ग्रामिण विकास केन्द्रका निवर्तमान अध्यक्ष प्रेम केसीले जानकारी दिए ।
कान्छो धौलागिरीमा पुग्ने स्वदेशी तथा विदेशी नागरिकलाई आफ्नोपनको महशुस गराउने उद्देश्यले सार्कमुलुक सहित नौ देशका झण्डा फहराइएको केन्द्रका अध्यक्ष विक्रम शर्माले वताए । झण्डोत्तलनपछि अव सो क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि थप आकर्षण हुनेछ ।
छोटो पर्यटक पदमार्ग मार्फत पुग्न सकिने र प्राकृतिसंग मज्जा लुटन सकिने यो ठाउँमा पुग्न सार्वजनिक विदा र छोटो फुर्सदको समय छुट्टाए मात्रै पुग्छ । निवर्तमान अध्यक्ष केसीका अनुसार हिमालको आगनमा बसेर मकै भट्टास खानेलाई यो नै स्वर्ग जस्तो लाग्छ ।
बागलुङ सदरमुकामदेखि करिव २६ किलोमिटर सडक यातायातपछि करिव १ घण्टाको पैदल यात्रामार्फत कान्छो धौलागिरी पुग्न सकिन्छ । डोहेरी वस्तीसम्म कच्ची सडकले जोडिएको हुँदा जंगल क्षेत्रमा पर्यटन पदमार्गबाट पुग्न सकिन्छ । यहाँ ब्यवस्थित पदमार्ग निर्माण गरेर म्याग्दी र बागलुङ जिल्लाको नयाँ गन्तव्यको रुपमा विकास गर्न सवै जुट्नुपर्नै स्थानीयको माग छ । ‘यो कान्छो धौलागिरी नयाँ पर्यटन गन्तव्य हो, चिसो हावापानीमा अर्गानीक उत्पादनको स्वाद लिएर हिमश्रृङखलाको अवलोकन गर्न योभन्दा अर्काे उपयुक्त क्षेत्र पहिचान हुन मुश्किल छ ।’






