बागलुङ, २९ फागुन– सर्वोच्च अदालतका न्यायधिश हरी प्रसाद फुँयालले निर्वाचित जनप्रतिनिधिले न्याय सम्पादन गर्दा न्यायीक मन प्रयोग गर्नुपर्ने बताएका छन् ।
नेपालको संविधानले निर्वाचित जनप्रतिनिधिले समेत निश्चित मुद्धाहरुमा फैसला गर्नसक्ने व्यवस्था गरेकाले मिसिल र प्रमाणहरुको आधार लिएर जनप्रतिनिधिले न्यायको सम्पादन गर्नुपर्ने उनले बताए ।
संघीयताको कार्यान्वयनसँगै न्याय सम्पादनको अधिकार स्थानीय तहमा गठन भएका न्यायीक समितितर्फ संकेत गर्दै फुँयालले कुनै पनि आस्था र विचारको आधारमा नभई प्रमाण र मिसिल तथा न्याय दिने व्यक्तिको मनलाई नै न्यायीक बनाए मात्रै न्याय सम्पादन विश्वासिलो हुने बताए ।
बागलुङमा शुक्रबारबाट सुरु भएको कानुन व्यवसायी दक्षता अभिबृद्धि तालिमको उद्घाटन गर्दै फुँयालले हरेक मानिसको विश्वास न्यायलयमा रहेको भन्दै विश्वासिलो न्याय सम्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘कहिलेकाहीँ देवानी मुद्धाहरुमा सत प्रतिशत न्याय सम्पादन हुन्छ भन्ने हुँदैन्, त्यतिबेला हेर्ने भनेको पेस भएका प्रमाणहरु हो’ उनले भने ‘प्रमाणहरुको तौल हेरेर, हाम्रा कानुनमा भएका व्यवस्था भन्दा बाहिर नगई न्याय सम्पादन गर्नुपर्छ ।’
‘कहिलेकाहीँ मनले मानिराखेको हुँदैन तर प्रमाण नपुगेकाले दोषी छुटिरहेको हुन्छ’ उनले भने ‘कहिले कानुन अनुसार प्रमाण बनेका कारण निर्दोष हो कि जस्तो लाग्नेहरुले पनि कारवाही भोग्नु पर्छ ।’ अदालत जनताको चित्त बुझाउने ठाउँ भएकाले जनताको विश्वास कायम राख्नेगरी काम गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा उच्च अदालत पोखरा, बागलुङ इजलासका कायम मुकायम मुख्य भई काम गर्ने न्यायधिश शालिग्राम कोईरालाले न्याय क्षेत्र पुण्य कमाउने क्षेत्र भएकाले सन्तुलित न्याय सम्पादनमा ध्यान दिनुपर्ने बताए । ‘सन्तुलित न्याय सम्पादन नहुँदा कहिलेकाहीँ दुर्घटना हुन्छन्’ उनले भने ‘कानुन सम्मत न्याय सम्पादन र मर्यादित पेसामा सबैले ध्यान दिन जरुरी छ ।’
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले जनविश्वास अनुसारको न्याय सम्पादनमा न्यायलय र कानुन व्यवसायीको भूमिका उत्तिकै हुने बताए ।
मुख्य न्यायधिबक्ताको कार्यालय गण्डकी प्रदेशले शुक्रबार बागलुङमा आयोजना गरेको कानुन व्यवसायी दक्षता अभिबृद्धि तालिम शनिबारसम्म चल्ने छ । तालिममा बागलुङ, पर्वत र म्याग्दीका कानुन व्यवसायीहरुको सहभागिता रहेको छ ।
तालिममा न्यायधिश फुँयाल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधारी शर्मा, बरिष्ठ अधिबक्ता नारायण घिमिरे लगायतले प्रशिक्षण दिनेछन् ।





