तनहुँ, ४ चैत– स्वर्गिय पत्रकार बलराम बानियाँको स्मृतिमा पत्रकारिता पुरस्कार वितरण गर्नका लागी अक्षयकोष खडा भएको छ । प्रेस युनियन तनहुँको नेतृत्वमा कोष खडा गरिएको हो ।
अक्षय कोषमा स्वर्गिय बानियाँका दाजु भानु नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले २० हजार रुपैयाँ जम्मा गरेका छन् । मंगलबार प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीलाई बानियाँले उक्त रकम हस्तानतरण गरे ।
पत्रकारिता क्षेत्रबाट समाज परिवर्तनको लागि विशिष्ट योगदान पु¥याएका प्रेस युनियन तनहुँले सिफारिस गरेको पत्रकारलाई बानियाँको स्मृतीमा पुरस्कृत गर्न रकम संकलन थालिएको नहर्कीले बताए । प्रेस युनियन तनहुँका अध्यक्ष नहर्कीको संयोजकत्वमा तीन सदस्यीय अक्षयकोष निर्माण समिति गठन गरिएको छ । समिति सदस्यमा बाबुराम खनाल र स्वर्गिय बानियाँको दाजु क्याप्टेन जगतबहादुर बानियाँ रहेका छन् ।
भानु नगरपालिका–१३ मिर्लुङ निवासी स्वर्गिय बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक थिए । गत साउन २६ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेका बानियाँको शव भोलिपल्ट मकवानपुरको सिस्नेरीस्थित मान्डो जलविद्युत् परियोजनामा भेटिएको थियो । बानियाँले नेपाली पत्रकारितामा दुई दशक लामो योगदान दिएका थिए ।





