मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

… अनि उनीहरु गाउँ छोड्न थाले

… अनि उनीहरु गाउँ छोड्न थाले

गृहमन्त्रालय र प्रदेश सरकारको तोकिएको राहत पाएका पीडितले बिस्थापित भएपछिको पुनस्थापना कुरेर बसिरहेका छन् ।


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ४ २०७७, बुधबार

बागलुङ, ४ चैत– घरमाथिको गाउँ पहिरोले पुरेको देखेका विशाल पौडेल आउँदो बैशाखमा गाउँ छोड्दैछन् । परिवारसहित उनी चितवनमा बस्ने घर खोजेर जाने तयारीमा लागेका हुन् । गत भदौ २९ गते जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनीबोटमा आएको पहिरो सम्झँदा अहिले पनि उनको मुटु फुलेर आउँछ । आँखैअघि पुरिएका ७ घरको तलपट्टि रहेको घरमा आउँदो बर्खा बस्न सकिन्छ जस्तो नलागेर उनी परिवारसहित बसाईसराईको तयारीमा लागेका हुन् ।
टुनीबोटमै व्यापार व्यवसायसमेत गर्दै आएका केदार पौडेलले फागुन महिनाको पहिलो सातानै गाउँ छोडे । उनले चितवनमा घर बनाएर बसाई सरेका हुन् । पहिरोको त्रासले अघिल्लो बर्खायामदेखि नै बसाईसराईको तयारीमा रहेका पौडेल टुनिबोटमा रहेको किराना पसल र गाई फार्म छोडेर परिवार जोगाउन चितव झरेका हुन् ।
भदौ २८ गते बिहान टुनिबोटमै गएको पहिरोमा पुरिएर आमा गुमाएका देवराज शर्मा पनि टुनिबोटको गाउँ छोडेर हिँडिसके । सरकारले पुनस्थापना गर्ला भन्ने आशामा बसेका पीडित शर्माको परिवार अर्को वर्षाको समय सुरु हुने बेलासम्म पहिरोले क्षति पु¥याएको घरमा बस्न नसकेर गाउँनै छोडेर हिँडेको हो ।
पहिरोले घर पुरिएर मृत्यु भएका टुनिबोटकै हरिकृष्ण शर्माको परिवारले पनि गाउँ छोड्यो । यहाँ पुनस्थापना हुने कुनै गुन्जायस नपाएपछि आफन्तको शरण माग्दै उनीहरु चितवननै झरेका हुन् ।
टुनिबोटमा भदौ २८ र २९ को पहिरोका कारण दुई जनाले ज्यान गुमाएका थिए ८ घर पुरिएका थिए । त्यहिँ पहिरोको त्रासका कारण कुनैबेला मौरीको गोला जस्तो गाउँ अहिले उजाडिँदै गएको छ । ‘४० परिवार मिलेको गाउँ थियो, अर्मपर्म, जन्ती मलामी कस्तो मिलेर काम गरेका थियौं’ स्थानीय विकास पौडेल भन्छन्, ‘अन्तै जाने अवस्था नभएकै कारण केहीले मात्रै त्रासमा यहाँ रात काट्लान् अरु सबै हिँडे, गाउँ त उजाडियो ।’ टुनिबोट धेरै शिक्षकहरु रहेको गाउँको रुपमा परिचय बनाएको गाउँ हो । शिक्षण पेशामा रहेका आठ÷दश परिवार र अन्त कतै घरबास बसाउन सक्ने उपाय नरहेका मात्रै गाउँमा रहने पौडेल बताउँछन् ।
‘घर पुरिएका आठ परिवारमध्ये दुई परिवार यहाँबाट हिँडे अरुले सरकारको बाटो हेरिरहेका छन्’ उनले भने ‘आशामा बसेकालाई आश्रय गाउँमै दिईएको छ, तर आउँदो बर्खासम्म कोही पनि यहाँ बस्नेवाला छैनन् ।’ पौडेलका अनुसार, अब टुनिबोटमा दशदेखि १५ परिवार कठिनले बस्नेछन् ।
टुनिबोटमा दुई ठाउँमा पहिरो गएको छ । दुवै पहिरोको आसपासमा रहेका घरपरिवार बिस्थापित भएका हुन् । गाउँमाथि बागलुङ–कुश्मीशेरा बजार जोड्ने सडक छ । त्यहाँभन्दा माथी रहेको वनक्षेत्रबाट गत बर्खाको समयमा दर्जन बढी पहिरो गाउँमाथी खसेका थिए । पहिरोकै कारण गाउँ बिस्थापित भएको स्थानीय दिपेन्द्र पौडेल बताउँछन् ।
पहिरोले घर पुरेको लामो समयसम्म आश्रयमा बसेका परिवारको लागि केही दाताको सहयोग र मृतक परिवारका लागि नगरपालिकाले काजकिरिया खर्च उपलव्ध गराएको थियो ।
गृहमन्त्रालय र प्रदेश सरकारको तोकिएको राहत पाएका पीडितले बिस्थापित भएपछिको पुनस्थापना कुरेर बसिरहेका छन् । तर सरोकारवालाले भने छ महिना बितिसक्दा समेत कुनै कार्यक्रम ल्याएका छैनन् । ‘हामी दुईवटा काम गरिरहेका छौं, एउटा बिपद् व्यवस्थापन कोषमार्फत नगरले उनीहरुलाई पुनस्थापना गर्ने र अर्को सरकारको कार्यक्रम अनुसार अघि बढ्ने’ जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भने ‘संघीय कार्यक्रम पर्खिँदा हामी ढिला भयौं ।’ संघीय सरकारले आफ्नो कार्यक्रमको विषयमा अहिलेसम्म नगरपालिकालाई कुनै जानकारी भने नगराएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->