
बागलुङ, ४ चैत– जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले निशुल्क जग्गा दिएका छन् । नगरपालिकाको वडा नं. १ र २ मा ८ रोपनी चार आना जग्गा स्थानीयले निशुल्क दिएका हुन् ।
जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरा (साविकको कुश्मीशेरा गाविस वडा नं. ३) मा रहेको १८ रोपनी जग्गालाई एकिकृत गरेर १४ जना जग्गा दाताहरुले नगरपालिकाको नाममा पाँच रोपनी जग्गा पास गराएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए ।
बाँकी जग्गामा सडक, खानेपानी र विद्युतलगायतका संरचना निर्माण गरेर जग्गादाताहरुले फिर्ता लिनेछन् । त्यस्तै वडा नं. २ (साविकको दमेक गाविस वडा नं. २) मा श्रमलाल कँडेलको नाममा रहेको ४ रोपनी ४ आना जग्गा पनि नगरपालिकालाई निशुल्क उपलव्ध गराईएको छ ।
१५ जनाको नाममा रहेको करोडौं मुल्य बवाबरको टुक्रे जमिनलाई एकीकृत गर्दै आठ रोपनी जग्गा नगरपालिकाले पाएको हो । मंगलबार नगर प्रमुख, उपप्रमुख लगायतको रोहवरमा उक्त जग्गा नगरपालिकाको नाममा नामसारी गरिएको छ ।
कुश्मीशेराका लक्ष्मीप्रसाद सापकोटा, टंक सापकोटा, नेत्रप्रसाद शर्मा, कृष्णप्रसाद शर्मा, मन कुमारी पाध्या, योगेश्वर पाध्या, शालिग्राम जैसी, लिलानाथ पौडेल लोकनाथ सापकोटा, गोपाल पाध्या दिनानाथ जैशी, भगिरथी अँखेली, यमप्रसाद शर्मा, देवीप्रसाद सापकोटा र झुपीदेवीको नाममा रहेको जग्गा निशुल्क उपलव्ध गराएको जग्गादाता योगेश्वर पाध्याले बताए ।
‘हाम्रो नगरको भवन बनाउने काममा हामीले जग्गा भएन भनेर हेरेर बस्न सकेनौं’ उनले भने ‘बाहिर बिक्रि गरेको भए कति मूल्यको थियो भन्नु हुन्थ्यो, हामीले सदासयताले दिएको जग्गाको मूल्य गर्न मिल्दैन् ।’ जग्गा उपलव्ध गराए बापत नगरपालिकाले सम्याउन लाग्ने खर्च व्यहोर्ने भएको छ ।
टुक्रा टुक्रामा रहेको जग्गालाई एकिकृत गरेर पाँच रोपनी नगरको नाममा राखेपछि बाँकी जमिन दाताकै लागि प्लटिङ गरेर दिने पौडेलले बताए । जैमिनी नगरको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न वडा नं १ का अध्यक्ष भूपेन्द्र थापाको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति बनेको थियो ।
समितिमा नगरस्तरीय राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । जग्गा अभावमा बजेट बिनियोजन भएर पनि नगरको भवन बन्न सकेको थिएन । भवन नहुँदा नगरपालिकाको कार्यालय भाडाका घरमा राखिएको छ । घरभाडामा मात्रै मासिक झण्डै एक लाख भन्दा धेरै खर्च हुने गरेको छ । नगरपालिकालाई उपलव्ध निशुल्क उपलव्ध गराएको जग्गा कुश्मीशेरा बजारको मुख्य क्षेत्रमा पर्छ । यहाँको जग्गा प्रतिआना चारलाख रुपैयासम्म कारोवार हुने गरेको छ ।





