बागलुङ, ४ चैत– ढोरपाटन उपत्यकामा अघिल्लो वर्षको तुलनामा यो वर्ष हिउँ थोरै परेकोले कृषि र बिद्युत उत्पादनमा असर परेको छ । हिउँदे बालीका लागि हिउँको महत्व बढी छ । तर यो बर्ष थोरै हिउँपर्दा किसानले लगाएको गहुँ लगायतको फसल थोरै फलेको गुनासो बढेको छ ।
‘अघिल्ला वर्ष प्रसस्त फलेको गहुँ यो वर्ष असाध्यै कम छ’ ढोरपाटन नगरपालिका वडा नं. ९ का गोबिन्द पुनले भने, ‘खेतीपाती राम्रो नभएपछि किसानलार्य मर्का परेको छ ।’ हिउँ नपरेको वर्ष आलु, स्याउलगायतको बाली पनि नराम्रो हुने उनले बताए । ढोरपाटनका किसानले फापर पनि लगाउने गर्छन् । पानी अभावले उत्पादनमा ठूलो क्षति पुग्ने किसानले गुनासो गरेका छन् ।
हिउँ अभावमा ढोरपाटनकै गार्पाखोला लघु जलविद्युत आयोजनाबाट बिजुली समेत पर्याप्त उत्पादन हुन सकेको छैन । ढोरपाटन नगरपालिका वडा नं. ९ ढोरपाटनमा रहेको यो आयोजना ४० किलोवाट क्षमताको हो । अघिल्लो वर्ष पटक पटक हिउँ परेकोमा यो वर्ष फागुन पहिलो साता मात्रै एक दिन हिउँ परेको थियो । उक्त हिउँ पनि दुइचार दिनमै पग्लने खालको भएको स्थानीयले बताए ।
उक्त आयोजनाबाट यस वर्ष पानी अभावले उत्पादन घटेको गार्पाखोला लघु जलविद्युत आयोजना उपभोक्ता समितिका सचिव कमल भण्डारीले बताए । ‘कुलोमा पानी सानो छ, उत्पादन पनि घटेको छ’ भण्डारीले भने, ‘हिउँ परेको वर्ष चैत बैशाखसम्म पनि हिउँ पग्लेर पानीको मात्रा बढी हुन्थ्यो, अहिले छैन ।’
पानी अभावले बिद्युत नपुग्दा साँझको समयमा बिजुली जाने समस्या भएको उनले बताए । उनका अनुसार हिउँदका दिनमा २० किलोवाट मात्रै उत्पादन भएको उनले बताए ।
यो उत्पादनले ढोरपाटन उपत्यकालाई बिजुली पुग्दैन । जल विद्युतबाट ढोरपाटन उपत्यकाभित्रका भण्डारी गाउँ, पाखाथर, नौथर लगायत गाउँका ३ सय ५० घरधुरी, ढोरपाटन सिकार आरक्ष कार्यालय, नेपाली सेनाको शत्रुमर्दन गुल्म ब्यारेकमा बिजुली बाल्ने गरिएको छ ।
आशिंक रुपमा उत्पादन भएको यस विद्युतले सबै घरधुरीमा एक साथ पु¥याउन नसकिएको हो । आयोजनाबाट टोल अनुसार फरक फरक समयमा बिजुली वितरण गर्दा मोबाइल चार्ज गर्ने र अन्य कामकालागि समस्या परेको स्थानीय शिक्षक चकबहादुर अदैले बताए । ‘बिजुली अभावले फोन नलाग्ने र साँझको समयमा उज्यालो बनाउन समस्या परेको छ’ अदैले भने, ‘यसको ठूलो असर बिद्यार्थीलाई परेको छ ।’ साँझ बिहान पढ्न नपाएर बिद्यार्थीले सास्ती खेपेको उनले बताए ।





