बागलुङ, ४ चैत– स्थानीयवासीले जग्गा दिएपछि बडिगाड गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाउन थालेको छ । स्थानीय बासिन्दा मिलेर उपलब्ध गराएको १० रोपनी जमीनमा गाउँपालिकाले भवन निर्माणको काम थालिसकेको हो । अघिल्लो वर्ष स्थानीयवासीले अस्पताल र क्याम्पस बनाउनका लागि पनि जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।
मासिक झण्डै एक लाख भाडा तिरेको यो पालिकाले आफ्नै भवन बनाएपछि उक्त रकम पनि बचत हुने अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो । पालिकाका लागि वडा नं ५ को खार बजारमा भवन बनाउन लागिएको हो । वडा नं १० को गगरे, निगाल पानीलगायत रणसिंकिटेनीको दुर्गम गाउँबाट यहाँ आउन अहिले पनि पाँचदेखि सात घण्टासम्म लाग्छ । प्रशासनिक काममा सदरमुकाम धाएकाले पालिकाबाट नजिकको सेवा पाएको वडा नं १० का अध्यक्ष वीरेन्द्र बुढाले बताए । केही समय अघिदेखि पालिका भवन बनाउन लागेकै स्थानमा १५ श्ययाको अस्पताल पनि निर्माणको थालनी भएको छ । आगामी वर्ष दुवै काम सकेर सेवा सञ्चालन गर्ने लक्ष राखेको पाइजाले बताए ।





