बागलुङ, ६ चैत– जिल्लामा जो प्रहरी आएपनि सोधिने प्रश्न हो रुपा गौतम हत्या काण्ड कहिले पर्दाफास हुन्छ ? उक्त प्रश्न हालै सरुवा भएर आएका बागलुङका जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरमाथि पनि तेर्सियो ।
बिहिबार जिल्ला प्रहरीले राखेको पत्रकार सम्मेलनमा पनि यो प्रश्न उठेपछि मगरले भने कसलाई जस लिन लेखेको छ त्यतिबेला मात्रै अनुसन्धान पूर्ण हुनेछ । ‘मुख्य अभियुक्त कुनैदिन घुमी फिरी यहीं आउन सक्छ, त्यतिबेला अनुसन्धानले शतप्रतिसत सफलता पाउँछ’ उनले भने, ‘यसअघि गरिएको अध्ययन, अनुसन्धानले परिणाम दिन नसकेकोले कति भयो भएन भन्ने प्रश्न रहेन ।’
उनले आफ्नै पालामा पनि पर्दाफास हुन सक्ने बताए । ‘मेरो भाग्यमा लेखेको रहेछ भने अभियुक्त सार्वजनिक गर्न सकौंला’ उनले भने, ‘कहिले भन्ने छैन, अनुसन्धान जारी रहन्छ ।’
जिल्लामा आएको एक सातापछि मगरले बिहिबार पत्रकार सम्मेलन गरेका हुन् । उनले सदरमुकामको ट्राफिक व्यवस्थापनमा काम गर्ने बताए । साँघुरो सडकको कारण अस्तव्यस्त सडक सुधार गर्न केही काम गर्ने योजना सुनाए । बढीरहेको अव्यवस्थित गाडी पार्किङलाई व्यवस्थापन बनाएर नगरको स्वच्छता कायम गर्ने उनको योजना छ ।
उनले पत्रकारबाट सही सूचनाको सहयोगको अपेक्षा पनि गरे । ‘पत्रकारले थाहा पाएका सूचना दिएर अनुसन्धानमा सहयोग गर्नुस्’ उनले भने, ‘प्रहरीमा आएका सूचना पनी सूचना अधिकारीमार्फत सहजै आउनेछन् ।’ पत्रकार सम्मेलनमा कालीगण्डकी दोहनमा प्रहरीको सक्रियता आवस्यक भएको सहभागीले बताए । मगरले तुलनात्मक पर्वत सिमानामा बढी दोहन देखिएको भन्दै बागलुङ खण्डमा दिनदहाडै एस्काभेटर लगाएर दोहन गर्न नदिने बताए ।
नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले जिल्लाको बसाई सुखद रहोस भन्दै मगरलाई स्वागत र शुभकामना दिएका थिए । साथै सूचना प्रवाहलाई चुस्त बनाउन पहल गरिदिन पनि आग्रह गरेका थिए । जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इकवाल हवारीले सत्यतथ्य सूचनाका लागि पहल गर्ने बताए । उनी पनि दुई साता अघि मात्रै बागलुङ आएका हुन् ।





