लमजुङ, ७ चैत – मनाङको नासों गाउँपालिका-४, खोत्रोमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । घटनास्थलमै ३ जनाको मृत्यु भएकोमा उपचारका लागि लमजुङ ल्याउने क्रममा थप २ जनाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नं. ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मनाङका डीएसपी सुवास खड्काका अनुसार दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र अन्दाजी ३१ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मृतक लियोन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन् ।
लमजुङका डीएसपी गंगाबहादुर थापाले मनाङ दुर्घटनामा गम्भीर घाइतेमध्ये २ जनाको उपचारका लागि जिल्ला अस्पताल बेंसीसहरतर्फ ल्याउँदै गर्दा मृत्यु भएको छ । घाइते ५ जनामध्ये ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकलाई उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
लमजुङ जिल्ला अस्पतालमा ल्याउनेवित्तिकै नेपाल र विश्वकर्मालाई चिकित्सकले राति साढे ८ बजेतिर मृत घोषणा गरेका डीएसपी थापाले बताए । गम्भीर घाइते ट्रकका चालक तनहुँको भानु नगरपालिका ३ का २४ वर्षीय सुमन तामाङ, नासों गाउँपालिका ४ का अन्दाजी ४ वर्षीय थियोन गुरुङ र अन्दाजी ६ वर्षीय नियोल गुरुङको जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको छ ।





