बहुदलीय व्यवस्थाका अर्थमन्त्री रामशरण महतको पालामा मौलाएको निजीकरणको अवधारणाले सरकारी ठुल्ठुला कलकारखाना निजी क्षेत्रलाई कवाडीको भाउमा बेचिए । लगत्तै बाबुराम, प्रचण्डले शुरु गरेको माओवादी द्वन्द्वले दैनिक रूपमा नेपालका औद्योगिक क्षेत्रमा चन्दा आतंक र बम आक्रमणले उत्पादनमुलक अर्थव्यवस्था चौपट भयो । यि सबैको लेखाजोखा इतिहासले समिक्षा पक्कै गर्नेछ । माओवादी युद्धको कारण सबै निर्यातमुखी व्यावसाय धराशायी बन्दै जाँदा देशभित्र रोजगारीको अवसर नै रहेन । न त कुनै व्यावसाय गर्ने वातावरण नै रह्यो । बेरोजगारीको संख्या दिनानुदिन बढ्दै गयो । एकदशक लामो गृहयुद्धको चपेटामा परेको बखत हत्याहिंसा, चन्दा आतंक, स्कुल कलेज पढ्दै गरेका विद्यार्थी एवं गाउँघरमा आफ्नै व्यवसायमा रमाएका युवा जनशक्ति अपहरण गर्दै जर्बजस्ती माओवादी सेनामा भर्ती गर्ने कार्यले लाखौं युवा डर र त्रासले बाध्यताबस देशबाट पलायन हुन पुगे । केही धनी र राजनीतिक पहुँच भएकाहरू जापान, युरोप, अमेरिका पुगे भने आर्थिक अवस्था अलिक कमजोर वा पहुँचमा नहुनेहरु मलेसिया, कतार, युएई लगायतका खाडी मुलुकमा जान बाध्य भए ।
त्यहिं विदेशीएको जनशक्तिले प्रदेशको भुमिमा दुखकष्ट भोग्दै कडा मेहनत गरेर दुईचार पैसा जम्मा गरि घर पठाउन थालेपछि विस्तारै नागरिकको सोचाइमा वैदेशिक रोजगारप्रति आकर्षण, मोह जाग्दै गयो । यद्यपि त्यो भन्दा पहिला विदेश नगएको भन्ने हैन । तथापि जनयुद्ध कालमा अत्याधिक जनशक्ति बाध्यताले म्यानपावर एजेन्टमार्फत देश छाड्न विवश थिए । तर, २०६३ को शान्ति प्रक्रिया र माओवादीको सरकार बनेपछि नेताका आफन्त र पार्टीमा लागेका व्यक्तिद्वारा उपत्यकामा दर्ता भै खुलेका पन्ध्र सय म्यानपावर कम्पनी र तिनैबाट संचालित एजेन्टको आर्थिक प्रलोभनमा परेर विदेशिने क्रम अध्याधिक बढेको पाइन्छ । साथै साथीभाइको देखासिकीले विदेश गएर पैसा कमाउने हठका कारण युवा जनशक्तिमा देश छाड्ने र विदेश पलायन हुने मानसिकता तिब्र रुपले विकास हुँदै गइरहेको छ । कोही उच्च शिक्षाको लागि विदेश उपयुक्त लागेर जानेहरु नभएको पनि हैनन् । अनेक बाध्यता, परिबन्दमा परेर दैनिक १५ सय युवायुवती बाहिरीने गरेको तथ्यांक छ । सरकारको तथ्यांकलाई हेर्दा लगभग ४० लाख युवा जनशक्ति देश छाडेर प्रदेशको भुमिमा खुन पसिना बगाउन विवश छन् । युएईमा मात्र लगभग ४ लाख, कतारमा ५ लाख, कुवेत र बहराइनमा ५ लाख, मलेसियामा ८ लाख नेपाली रहेको तथ्यांक पाइन्छ । त्यस्तै जापान, कोरिया, अस्ट्रेलिया, युरोपेली देशलगायत अमेरिकी देशमा पनि नेपालीहरु पुगेका छन् ।
यहि वैदेशिक रोजगारको माध्यम पछ्याउँदै गलत माहोलमा कोही सरकारी कालोधन सुरक्षित बनाउन, दुइ नम्बरको ब्यापार व्यावसाय गर्न लालायित भएर देशबाट पलायन नभएको पनि हैनन् । एकाध रहरले विदेश जाने मानसिकता बोकेर बिदेशीएको भएपनि प्रायः युवा जनशक्ति घरको कमजोर आर्थिक अवस्था उकास्न, साहुको ऋण उखन्न र आफ्नो पारिवारिक स्थिति मजबुत बनाउँदै छोराछोरीको उज्ज्वल भविष्य निर्माण गर्न पराय भुमिमा पाइला टेकेको छन् । बुवाआमाको स्वास्थ्थ उपचार गर्ने र आफुले केही पैसा वचत गरेपछि फर्केर व्यावसाय गर्ने महत्वकांक्षा बोकेर विदेशीने अधिकतम भेटिन्छ । तिनैमध्येका एक हुन् धनुषाका बिरेन्द्र पासवान ! आफुसंगै स्कुल, कलेज पढेका साथीभाई कोही उच्च शिक्षा पढ्न त कोही वैदेशिक रोजाईको सिलसिलामा भटाभट देशबाट पलायन हुँदा गाउँ नै रित्तो भएकोे अवस्थामा पनि धैर्यतापुर्वक आफ्नै देशमा पढ्छु र यहीँ काम गर्दै आफ्नो जिवन देश सेवामा समर्पित गर्छु भनी उच्च शिक्षा पढ्न काठमाडौं हानिएका थिए । उनी पढाईको अलवा आफ्नै कपडा व्यावसायमा रमाउँदै थिए । मान्छेको जिवन र समय न हो सधै एकनास कहाँ पो चल्थ्यो र ? नेपालको राजनीति उथलपुथलको समय र भाग्यले नराम्रो गरी ठग्दोरहेछ । २०७२ सालको भुकम्पले थला परेर तंग्रिदै गरेको व्यावसायमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीले कहिल्यै नउठ्नेगरी बज्र प्रहार गर्यो । साहुसंग सयकडा ३६% मिटर ब्याजमा ऋण लिएर चलाएको व्यवसाय चौपट भएपछि, दिन दुई गुणा रात चार गुणा चुलिएको आर्थिक भार मुक्त गर्न, मानो रोपेर मुरी फलाउने उर्वर खेतनै साहुलाई बन्दगीमा हस्तान्तरण गर्न बाध्य भए । अनि सबै गाउँले साथीभाइ जस्तै वैदेशिक रोजगारीमा जाने सपना बोकेर म्यानपावर कम्पनीमा दाखिल भए । सेक्युरिटी गार्डको लागि एजेन्टलाई ५ लाख नेपाली रुपैयाँ बुझाउदै हातमा हरियो पासपोर्ट बोकेर काठमाडौंदेखि दुबई हानिए ।
होटेलको सेक्युरिटी भन्दै ५ लाख बुझाएर आएका उनी कुनै सप्लाई कम्पनीको फन्दामा परेपछि पो छाँगाबाट खसेजस्तै भए । अरु नेपाली युवा जस्तै आफुपनि दलालको चिप्ला र धुर्त कुराको शिकार भएको कुरा स्विकार्दै बस्नु शिवाय केहि रहेन । व्यवसाय गर्दा लिएको ऋणको भारले शिरमा थिचेको त छदै थियो, वैदेशिक रोजगारमा जाने भनेर लिएको ऋणले न रातको निद्रा न दिनको भोक बनाएर प्रदेशको भुमिमै थला पार्ने पो होकी भन्ने पिरलोले दिनरात सताइरहन्छ उनलाई । प्रदेशको भुमि मन, मुटुभरि स्वदेशको माया बोकेर घर परिवारको यादमा तड्पिएको पल नयनबाट नुनिलो आँशु नबगाएको सायदै कोही होला, आज त्यस्तै भएको छ । प्रदेशको भुमिमा घरपरिवार र बन्दगी राखेको उर्बर खेत सम्झेर भक्कानिने गर्छन् बिरेन्द्र पासुवान । उच्च शिक्षा हासिल गरेका र सिपमुलक दक्ष कामदारहरुले विदेशको भुमिमा उत्कृष्ट पद र सेवा सुविधासहित उचित तलब पाउने पनि प्रसस्तै भेट्न सकिन्छ । यद्यपि ९०% नेपालीको हकमा (क्लिनर, हेल्पर, हाउसकिपिङ्ग, हाउसमेड) सामान्य २० हजारदेखि ३५ हजार नेपाली रुपैयाँ बचाउन फलामको चिउरा चपाउनु पर्छ । दुखी नेपालीलाई जहाँ गएपनि दुख र समस्याले तड्पाई तड्पाई जिवन जिउन बाध्य पार्छ भन्ने यथार्थलाई नकार्न सकिदैन ।
चालु आर्थिक वर्षमा नयाँ स्वीकृति लिएर विदेशीने जनशक्तिको संख्या ३६ हजार १ सय ५३ छ । सरकारले वैदेशिक रोजगारमा जानेहरूको लागि (मलेसियालगायत खाडीमा) लागि फ्री टिकट फ्री भिषाको कानुन ल्याए पनि सामान्य नागरिकको हकमा भने फगत कागजको खोस्टा जस्तै भएको छ । अदक्ष कामदारले पनि (५०० बेसिकका लागि) एक लाख सत्तरी हजार, दुबई सेक्युरिटीको लागि ५ लाख र आबुधाबी सेक्युरिटीको लागि ७÷८ लाख रुपैयाँ म्यानपावरलाई बुझाएर युएईमा आउने नेपालीहरु हजार हैन लाखभन्दा बढी छन् । सरकारले अनुगमनलाई चुस्त दुरुस्त राख्न नसकेकै कारणले खराब कम्पनी र एजेन्टलाई कानुनी दायराभित्र राख्न सकेको छैन । न कानुनको पालना हुन्छ, न त नेपाली नागरिकको आवाजको सुनुवाई नै हुन्छ । देशको आर्थिक अवस्था र विकासले देशको संरचना नै बदल्न सक्ने होनाहार शक्तिले कहिलेसम्म यस्तो हविगत भोग्नुपर्ने हो ? यसको सहि जवाफ भविस्यको गर्भमै रहेको छ ।
कोरोनाको महामारीमा विश्व आर्थिक मन्दीले बहुसंख्यक कम्पनी, होटललगायत कन्ट्रक्सन कम्पनीको रोजगार गुमेर स्वदेश फर्किनेको संख्या २ लाख ५७ हजार छ । अघिल्लो आर्थिक वर्षहरु भन्दा यो वर्ष फर्किनेको संख्या चारगुणा बढी हो भने विदेश जानेको संख्या समग्रमा ५७ हजार ५ सय ४५ छ । कामबिहिन भै स्वदेश आउनेहरूको हकमा सरकारले उचित व्यवस्थापन गर्न, नविनतम कुनै ठोस कार्ययोजना ल्याउन सकेको छैन । सरकारको मातहतमा ‘आफ्नै देश आफ्नै लगानी’ भन्ने कुनै पन्चवर्षिय योजनाको विकास गर्न सके वैदेशिक रोजाईको विकल्प बन्थ्यो कि सायद ! नत्र स्वदेश फर्केको युवाले पनि निराशा बोकेर विदेशीनुको कुनै विकल्प छैन । युवाबिहिन देश बन्ने पो हो कि भन्ने चिन्ताजनक अवस्था पो आउनेछ भनी हामी सबैले सोच्नुपर्ने समय आएको छ ।
जय मातृभुमि नेपाल ।





