पोखरा, ९ चैत– सरकारले पोखरा क्षेत्रीय विमानस्थल निर्माणलाई अन्तिम रुप दिन रिठेपानी डाँडामा रहेका रुखहरु तथा डाँडो नै काट्न स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकले हवाई सुरक्षामा जोखिम र अवरोध हुने भएकोले डाँडा काट्न स्वीकृति दिएको हो । विमानस्थल संचालनको लागि सो डाँडा काट्न संसदीय समितिले निर्देशन पनि दिएको थियो । कास्कीको मादी गाउँपालिका र गोर्खाको पालुङटार र म्याग्दीको रघुगंंगा गाउँपािलकाले जग्गा माग गरेकोमा त्यसलाई पनि मन्त्रिपरिषदले स्वीकृति दिएको छ । यता, सरकारले होटल तथा रेष्टुरेण्टहरुलाई लकडाउनको बेलाको ६ महिनाको विद्युत डिमाण्ड शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । लामो समयदेखि पर्यटन व्यवसायीहरुले कोभिड–१९ ले थलिएको रेष्टुरेण्ट र होटल व्यवसायको डिमाण्ड शुल्क मिनाहाको माग राख्दै आएका थिए । फागुन २० गते बसेको मन्त्रिपरिषद्ले ६ महिनाको शुल्क मिनाहासँगै त्यसपछिका ४ महिनाको डिमाण्ड शुल्कमा आधा छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।





