
पोखरा, ९ तैच– जिल्ला अस्पताल भवन बनाउन सिमेन्ट बोकेर उकालो लागिरहेको ट्रक मनाङको नासों गाउँपालिका ४ कोतोमा पुग्दा नपुग्दै ब्रेकमा समस्या आयो । पहाडको अप्ठ्यारो बाटो त्यसमाथि ‘हेभ्भी वेट’ ट्रक ।
चालकले उकालो सहज बनाउन ट्रक ‘ब्याक’ गर्दानगर्दै चिप्लिँदै ट्रक सोझै मस्र्याङ्दीमा खस्यो । करिब ४५ मिटर तल खसेको ट्रक सीधैं नदीमा रहेको ठूलो ढुंगोमा बजारिन पुग्यो । ट्रकमा सवार ८ जनामध्ये ३ जनाको घटनास्थलमै ज्यान गयो । बाँकी ३ जनाको उपचारका क्रममा मृत्यु भयो ।
त्यही ट्रकमा सवार थिए, नासों गाउँपालिकाकै शुक गुरुङको परिवार । ट्रकमा शुककी श्रीमति ३५ वर्षीय मनिषा गुरुङ र डेढ वर्षीय छोरा लियोन गुरुङ थिए ।
मनाङ धारापानीमा होटल व्यवसाय गर्दै आएका शुक गुरुङ कोतोमा भएको ट्रक दुर्घटनामा परिवार गुमाएपछि अहिलेसम्म होशमा आउन सकेका छैनन् । दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका जलकाशी गुरुङ उनकै साली अर्थात् मनिषाकै बहिनी थिइन् ।
परिवारमै गुम्ने गरी बज्रपात परेपछि शुकका आँखा खुल्न सकेको छैन । ‘एकपछि एक बज्रपात आइलाग्यो । केही समयअघिमात्रै उहाँले आफ्नो दिदी गुमाउनु भो । एक हप्ताअघिमात्रै उहाँको सोल्टीको काठमाडौंमा उपचारकै क्रममा मृत्यु भयो,’ आफन्त दिल गुरुङले नेपाल प्रेससँग भने, ‘उहाँ अझै बेहोशै हुनुहुन्छ । होश आएको छैन ।’
शुकको सोल्टी नाता पर्ने गत हप्तामात्रै काठमाडौंमा मृत्यु भएको थियो भने फागुन २० मा युकेमै दिदीको मृत्यु भएको थियो । उनी अहिले मनाङमै छन् । ‘बुहारी (मनिषा) पनि आफन्त बितेपछि त्यहाँ गएर आइराखेकी रैछिन् । कहाँबाट ट्रक चढेको भन्ने थाहै भएन,’ दिलु गुरुङले भने ।
जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काका अनुसार उनीहरु मनाङ, लमजुङ सीमाना जगतदेखि ट्रक चढेका थिए । ‘सबै जना जगतबाट ट्रक चढेर मनाङतिर लाग्नु भएको प्रारम्भिक अध्ययननबाट खुलेको छ,’ डिएसपी खड्काले नेपाल प्रेससँग भने । उनका अनुसार चालक र सहचालकबाहेक दुर्घटनामा परेका सबै आफन्ती नै हुन् ।
घटनास्थलमा मृत्यु भएका ३ जनाबाहेक उपचारका लागि लमजुङ ल्याउँदै गर्दा २ जनाको मृत्यु भएको थियो । लमजुङमा मृत्यु हुनेमा लमजुङकै मस्र्याङ्दी गाउँपालिका ५ का लक्ष्मण नेपाली र मनाङको चामे गाउँपालिका ४ का धनमान विक छन् । नेपाली ट्रकका सहचालकसमेत हुन् ।
लमजुङमा उपचार सम्भव नभएपछि ३ जनालाई थप उपचारका लागि चितवन रेफर गरिएको थियो । त्यसमध्ये राति चितवनमा उपचारकै क्रममा ७ वर्षीय थिउन गुरुङको मृत्यु भएको थियो ।
चितवनमा उपचार भइराखेका ७ वर्षीय निहल गुरुङको अवस्था सामान्य छ । तर, ट्रक चालक तनहुँ भानुका २१ वर्षीय सुमन तामाङको अवस्था गम्भीर रहेको डिएसपी खड्काले जानकारी दिए ।
अस्पतालको सामान भन्ने जानकारी आएको छैन ः मनाङ जिल्ला अस्पताल
मालवाहक ट्रक दुर्घटना भएको थाहा भए पनि अस्पतालकै सामान भएकोबारे आफूहरुलाई जानकारी नभएको जिल्ला अस्पताल मनाङले जनाएको छ । घटनास्थलमै मृत्यु भएका ३ जनाको शव पोस्टमार्टमका लागि त्यही लगिएको भए पनि ट्रकले बोकेको सामानबारे आफूलाई थाहा नभएको अस्पताल प्रमुख डा प्रतिभा गौलीले बताइन् ।
‘अहिले जिल्ला अस्पतालको भवन निर्माण चलिरहेको त छ । बीचमा हिमपातले काम केही रोकिएको थियो,’ डाक्टर गौलीले भनिन्, ‘दुर्घटना भएको ट्रकले ठ्याक्कै कसको सामान बोकेको हामीलाई जानकारी आएको छैन ।’
करिब १९ करोड रुपैयाँ लगानीमा भवन जिल्ला अस्पतालको २ तले भवन निर्माण भइरहेको डा गौलीले जानकारी दिइन् । साउनदेखि सुरु भएको योजना ३० महिनाभित्र सक्ने गरी सम्झौता भएको उनले बताइन् । ‘३० महिना भए पनि बीचमा धेरै समय काम रोक्नु परेकाले केही ढिलाइ हुन सक्छ,’ उनले भनिन् ।
जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार दुर्घटना भएको ट्रक अस्पताल भवन निर्माण ठेकेदार कम्पनीको ट्रक दुर्घटनामा परेको हो ।





