‘जीरा मरीच, मलाई पर्ने ,पीर कल्लाई परिच्च’ बच्चा छँदा सुनेको गीतको अंश हो,यो । यसको भाव हाल आएर नेपाली राजनीतिमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता कमरेड माधवकुमार नेपालको अवस्थासँग ठ्याक्कै मिल्न गएजस्तो छ । अदालतबाट खारेजीमा परेको नेकपाबाट दुूधमा परेको झिँगाजस्तो पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट मिल्काउन खोजिएका कमरेड केपी शर्मा ओलीलाई फेरि अध्यक्ष वा नेता स्वीकार्नु पर्ने विवशता आइलागेपछि कमरेड नेपाललाई पर्नु पीर परेको हो । आफ्ना सारा सपना चकनाचुर भएजस्तो गरी उहाँबाट व्यक्त पीर–वेदनाका तरंगहरु नेपाली मिडियामा छाएका छन ।
अत्यन्त असहज अवस्थामा ब्यूँतिन पुगेकोे नेकपा एमालेभित्रको शक्ति समीकरणमा अध्यक्षअ ओलीको पकड बलियो छ, उहाँलाई पेल्ने कुनै अक्कर छैन । पार्टी र संसदीय दल दुबैमा भारी अल्पमत परेर चेपिएको अवस्थामा संसद विघटनको प्रयास असफल भएपनि आफूलाई अल्पमतमा पार्ने नेकपा खारेज भए (गराइएको ?) पछि कमरेड ओलीको रवाफ कुनै चक्रवर्ती सम्राटभन्दा कमी छैन । फेरि ब्यूँतिएको संसद समेत ओलिसँग त्रसित भएर थरथरी कामिरहेको अवस्था छ भने एमालेभित्र नेपाल नेतृत्वको इतर पक्ष संभावित प्रतिशोधको आतंकले सन्त्रस्त छ ।
सर्वविदित छ, ओली र माधव नेकपा एमाले भित्रका चीप्रतिस्पर्धी हुन । प्रतिष्पर्धा प्रतिद्धन्द्धितामा परिणतहुँदै पछिल्लो समय शत्रुताको तहमा पुगेको छ । यो तहसम्म पुग्न कसको वेसी योगदान रह्यो अनुसन्धान कै विषय रहला तर एउटा पक्षमात्र दोषमुक्त छैन । पछिल्लो समय पार्टीको बहालवाला प्रमुख र देशको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको कारण पार्टी एकता दुर्घटनाग्रस्त हुनु र सरकार असफल हुनुको मूख्य जिम्मेवारी ओलीको नै मानिन्छ । तापनि आपूmलाई एमालेको वास्तविक मियो र विधि–विधानको पालना एवं लोकतान्त्रिक संस्कारमा आदर्श व्यक्ति सम्झिने कमरेड माधव नेपालको भूमिकाप्रति पनि प्रश्न उठ्नु स्वभाविक हो ।
नेकपा एमालेभित्रमात्र होइन नेपाली राजनीतिमा माधव नेपालको व्यक्तित्व तुलनात्मक रुपमा ओजनदार र भरोसायोग्य मानिन्छ । राजनैतिक छवि स्वच्छ राख्न सफल सीमित नेपाली राजनीतिज्ञमा गनिन्छन्,उनी । त्यैसैले व्यक्तिगत रुपमा उहाँप्रति अलिबढी अपेक्षा र सहानुभूति रहेको पाइन्छ । तर, उहाँका राजनीतिक क्षमताका केही सीमितताहरु पहिलादेखि नै प्रकट हुँदै आएका थिए, त्यो अहिले पनि खट्केको छ ।संभावित घटनाक्रमको पुर्वानूमान लगाउने र परिस्थितिलाई नियन्त्रणमा राख्ने सक्ने रणनीतिक क्षमता प्रदर्शनी हैन कि घटिसकेको घटनाको प्रतिक्रियामा रुमल्लिने, त्यसैमा बहकिने प्रतिक्रियामुखी स्वभाव–शैली कमरेड नेपालको पुरानो विशेषता हो ।
माओवादीसँग चुनावी तालमेलको निर्णय अप्रत्यासित थियो । चुनावपछि पार्टी एकिकरणको सर्त र प्रक्रिया अनुचित थियो । एमालेभित्र व्यापक असन्तुष्टि छाएको थियो तर पार्टीको अभूतपूर्व विजय र दुईतिहाइसहितको बलियो कम्यूनिष्ट सरकार गठन भएको उत्साहमा त्यो असन्तुष्टि सेलाएर गयो, दविएर बस्यो । एकिकृत पाटीको सम्पूर्ण शक्ति र जिम्मेवारी ओली र प्रचण्डको हातमा पुगेको थियो, सुरुमा ओलीले प्रचण्डलाई रिझाएर एमाले भित्रका इतर पक्षलाई पेल्ने काम गरे । सबै तहमा पर्टीको एकिकरण प्रक्रिया अगाडी बढाउन दुवै नेता उदासीन थिए ।
ओलि र प्रचण्ड दुबैकानिम्ति पार्टी एकता दाउपेचपूर्ण कदम थियो भन्ने कुरा प्रष्ट थियो । वरिष्ठ नेता नेपालबाट दुबैजनाको गलत नीति र नियतको विरोध गर्दै, एकिकृत पार्टिभित्र नैतिक र वैचारिक संघर्ष गर्नुपर्नेमा, व्यक्तिगत मानानितो, गुनासा गर्ने, व्यक्तिगत रोष, क्रोध, क्रन्दन पालेर बस्ने काम भयो । २ वर्षपछि ओलीको विपक्षमा प्रचण्डको साथलिँदा एमालेभित्र नेपालको प्रभाव र पकडमा नकारात्मक असर प¥यो । पार्टी अध्यक्ष एवं प्रम ओलीलाई गणितीय आधारमा अण्डरस्टिमेट गर्ने, उनको इगो जगाउने चक्करमा लागेका कारण अनपेक्षित परिस्थितिको सृजना भयो ।
नेकपाकालमा माधव–प्रचण्ड समूहका कैयांै हरकतहरु लोकतान्त्रिक मूल्य, मान्यता र संस्कार अनुरुप थिएनन । सरकारलाई पार्टीले नीतिगत मार्गदर्शन गर्ने हो तर दैनन्दिन मामिलामा अनुचित हस्तक्षेप र अंकुश लगाउने चेष्टा भयो । पार्टी र सरकारको अन्तरसम्बन्धमा अलोतान्त्रिक मान्यता कायम गर्न खोजियो । सभामुखलार्ई प्रयोग गरेर सरकारका प्रस्ताव रोक्दै अत्तो थाप्ने, संवैधानिक नियुक्तिमा मोलमोलाइ गर्ने, असहज ढंगले राष्ट्रियसभा सांसद बनाउनेजस्ता कार्यप्रति प्रबुद्ध नागरिकहरुलेसमेत आपत्ति जनाउनुपर्ने अवस्था आयो ।
ओलीको कार्यशैलिको चर्को विरोध भयो, माधव नेपाल आफै विकल्पको रुपमा प्रस्तुत हुने हिम्मत गरेनन्, संभावित विकल्पमा उभिएका प्रचण्डको लोकतान्त्रिक छवि ओलीको भन्दा कैयौ गुणा कुरुप थियो । परिपक्व नेताले पार्टीभित्रको विवाद कुन सिमासम्म रहनुपर्छ भन्ने हेक्का राख्न सकेनन, वर्षौदेखि संगत गरेको मान्छेको स्वभाव र प्रवृत्ति ख्याल राख्न सकेनन् । ओलीविरुद्ध अराजनैतिक अभियोगपत्र प्रस्तुत गरियो, ख्यालख्यालमै विवाद एकअर्कालाई निषेधको तहमा पुग्यो ।
नेपालसामु अर्को राजनैतिक मूल्य र नैतिकताको प्रश्न खडा छ । लगभग डेढ दशकसम्म पार्टी नेतृत्व गरेर स्वच्छाले राजिनामा दिएको व्यक्ति फेरि कार्यकारी तहमा बसेर बहालवाला संस्थापनसँग छिनाझम्टी गर्नु सुहाउँदो र मर्यादापूर्ण हो र ? पार्टीका प्रमुख र प्रधानमन्त्रीहरु कार्यकारी मामिलाको खिचातानीबाट टाढा बस्नु पर्ने हो, अनावश्यक विवाद किचलोबाट माथि उठेर अविभावकीय भूमिकामा रहनु उचित होइन र ? आठौ महाधिवेशनमा निर्वाचित अध्यक्ष झलनाथ खनालको विपक्षमा नेपालको ओलीसँग गठबन्धन बनेको थियो, जसकारण कुनैबेला एमालेभित्र निकै कमजोर अवस्थामा पुगेका ओलीको शक्ति उकासिने अनुकूलता मिल्यो । नवांै महाधिवेशनमा ओलीसँग नै चुनाव लड्दा थोरै मतले पराजित हुनुप¥यो ।
लोकतान्त्रिक प्रतिष्पर्धा त भयो, विजय–पराजयलाई स्वीकार्ने लोकतान्त्रिक संस्कार भएन । पराजित भएपछि पनि पछि हटेर निर्वाचितलाई सहज बनाउनुको साँटो आफूले पाएको मत अनुपातको आधारमा भागबण्डा र कोटा दावी गर्दै किचलो गर्ने परिपाटीलाई लोकतान्त्रिक नैतिकता मानिँदैन् । ंसदमा चुनाव जितेको पार्टीलाई सरकार चलाउन अवरोध गर्ने, पार्टीभित्र पनि त्यस्तै संस्कृतिले लोकतन्त्रलाई असफल तुल्याउन मद्दत गर्दछ ।
कमरेड माधवले एमाले मैले बनाएको पार्टी हो भनेका छन् तर कसैले बनाएको भन्दैमा सधैँभरी उसैको पेवा बनिरहन सक्दैन । पार्टी प्रमुखसहित अग्रपंक्तिमा रहेर सारा जिन्दगी गुजारेका नेताहरुले आ–आफ्नो योगदानको बखान र राम्रो पक्षको श्रेय लिन खोजेर मात्र हुँदैन, नकारात्मक पक्षहरुको पनि जिम्मेवारी लिनुपर्ने हुन्छ । हाल आएर पार्टीमा धेरै मान्छे संगठन, संस्था र सिद्धान्तभन्दा बढी एउटा व्यक्तिमाथि भरोसा गर्ने अवस्थामा पुगेका छन । कमरेड माधवबाटै प्रशिक्षित र दिक्षित हस्तिहरु उहाँको सहकर्मी हुनुभन्दा कसैको सेवक बन्न खुसी छन् । उहाँले नेता बन्नसक्ने कार्यकर्ता बनाउनु भएन, व्यक्तिगत कारिन्दा वा खेताला तयार गर्नुभयो । उनीहरु आफ्नो व्यवस्थापन आफै गर्न सक्दैनन्, नेताले गरिदिनु पर्दछ, पाल्नु पर्दछ । यस्तो अवस्थामा भाँडिएका नेताहरुको दौराको फेरो समातेर कार्यकर्ता विभाजित भएर आपसमा भिड्ने गरेका छन । नेपालकै नेतृत्वकालदेखि पार्टीभित्र विचारको खेती बन्द गरियो,खालि खेतमा झार उम्रिएझँै पार्टी कुविचार, विसंगतिको वनमारा मौलाउन थाल्यो । त्यसैको रासमाथि चढेर ओलीज्यू अध्यक्षको आसनमा पुग्नुभयो ।
कम्यूनिष्ट आन्दोलन र पार्टीको अस्तित्व धरापमा पर्नुको मुख्य कारण ओली प्रवृत्ति होइन, यो परिणाम हो । विश्व कम्यूनिष्ट आन्दोलन आफैमा विकृत र विसंगत बनेको कारण लोपोन्मुख अवस्थामा छ, विश्वमा हराउँदै गएपनि नेपालमा मौलाएको देखेर नेताहरु बौलाएका थिए । हामी देशको आर्थिक– सामाजिक रुपान्तरणको वास्तविक अभियन्ता बन्ने कि विश्वबाट अस्ताउँदै गएको राजनीतिक विचारको ब्राण्ड एम्बेसेडेर बन्ने प्रश्नचिन्ह खडा भएको छ । कम्यूनिष्ट आन्दोलनको परम्परागत स्कुलिङ र सैद्धान्तिक फ्रेम, सगठनात्मक प्रणाली वर्तमान सन्दर्भमा राष्ट्रको समृद्धिको निम्ति साधक छन कि बाधक पुनर्विचार गर्नुपर्ने अवस्था छ ।
(पौडेले एमाले निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) डेनमार्कका पूर्वअध्यक्ष हुन् । )





