बागलुङ, १२ चैत– बागलुङमा आउँदो चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । ११ औं पटक आम औषधि सेवन अभियान सञ्चालन भैसकेको बागलुङमा अझै हात्तीपाईले रोगका बिरामी फेला परेकाले १२ औं पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार यो अभियान चैतको २३ गतेसम्म सञ्चालन हुनेछ । जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीशेरामा भएको जाँचमा बिरामीहरु देखिएपछि पुनः औषधि खुवाईदै छ । नारायणस्थान र कुश्मीशेरामा दुई महिना पहिला भएको परीक्षणमा दश जना नयाँ बिरामी फेला परेका थिए । नारायणस्थानमा ८ जना र कुश्मीशेरामा २ जनामा संक्रमण फेला परेको थियो । दुवै ठाउँमा तीनसय जनामा परीक्षण गरिएको थियो ।
आम औषधि सेवन कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुनेछ । परीक्षण गरिएकामध्ये एक प्रतिशत भन्दा कम मानिसमा संक्रमण देखिएको अवस्थामा मात्रै यो आम औषधि खाने अभियान सञ्चालन गर्नुनपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । एक जना मात्रै संक्रमित औषधि खानबाट छुट्दा मात्रै जिल्लाभरनै आम औषधि अभियान सञ्चालन गर्नुपर्ने अवस्था आउने भन्दै गुरौले सबै नागरिकहरुलाई औषधि खान आग्रह गरे ।
चैतको २० गते नजिकको स्वास्थ्य संस्था र २१ र २२ गते घर घरमै स्वास्थ्यकर्मी पुगेर औषधि खुवाउने तयारी रहेको कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताईन् । २ लाख ८४ हजार ४ सय ७२ जनसंख्या रहेको बागलुङमा २ लाख ६४ हजार ८ सय ८६ जनालाई औषधि खुवाउने लक्ष छ ।
२ वर्ष मुनीका बालबालिकाको संख्या ११ हजार ८ सय ४० र गर्भवती रहेका ७ हजार ७ सय ९६ जनाले यो पटक औषधि खाने छैनन् । अफवाहको रुपमा फैलिने औषधिको नकरात्मक प्रभावका समाचारले नागरिकले औषधि खान नखोजेको भन्दै शर्माले औषधिले कुनै असर नगर्ने भएकाले ढुक्क भएर औषधि खान आग्रह गरिन् ।
क्युलेस जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको निवारण हुन १ प्रतिशतमा आइपुग्नु पर्छ । तर नारायणस्थानमा केही बर्ष अघि ३ प्रतिशत रहेकोमा घटेर २ दशमलब ३ प्रतिशत पुगेको थियो । सन् २०१८ मा फेरी बढेर झण्डै ५ प्रतिशतमा उक्लेपछि औषधी खुवाउने काम गर्नु परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘एक पटक देखिएपछि दुई वर्ष खुवाउनु पर्छ, पूर्वजाँच र औषधि सेवन पछिको साँचमा एक प्रतिशतभन्दा कम भएमा मात्रै निवारण भएको मानिन्छ ।’ उनले भने ‘माघमा प्रिजाँच गरेर गर्दा पुन संक्रमित भेटिएकाले औषधी खुवाउने कार्यक्रम सञ्चालन हुँदैछ ।’
औषधी खुवाउनु पूर्वको जाँच नारायणस्थान र जैमिनी नगरपालिकाको कुश्मीशेरामा भएको थियो । लामखुट्टेले संक्रमितलाई टोकेपछि अर्कोलाई टोक्दा सार्ने भएकोले जोसुकै मानिस संक्रमको जोखिममा रहन्छन् । तत्काल लक्षण नदेखिने भएकोले लामो समयपछि मात्र थाहा हुन्छ । हातखुट्टा सुनिने, शरीरका जुनसुकै स्थानमा संक्रमण देखिने, अण्डकोसहरु सुनिएर हाइड्रोसिल हुने जस्ता समस्या यो रोगमा हुने गर्छ । औषधी खाएपछि कम्तिमा एक बर्षका लागि सर्ने समस्या नहुने भएकोले निवरणको अवस्थामा लैजान पहल गरिएको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले जनाएको छ ।
निरन्तर औषधि खुवाउँदासमेत संक्रमितको संख्या घट्ने वा अरुमा सर्ने क्रम नरोकिएमा विश्व स्वास्थ्य संगठनले बनाउने रणनीतिको आधारमा कार्यक्रम परिवर्तन हुनेछ । बागलुङमा संक्रमण कायम रहेकाले यसबाट जोगिनका लागि सरोकारवालाले १२ औं पटक आम औषधि सेवन कार्यक्रममा सहभागि हुन आव्हान गरेका छन् ।





