बागलुङ, १४ चैत– डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बागलुङको सत्रौं साधारणसभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भूमिश्वर गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सरिता केसी, सचिवमा हरिप्रसाद गौतम र कोषाध्यक्षमा बिष्णुप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरेले बताए ।
समितिको सदस्यमा रामराज कँडेल, दिननाथ शर्मा, ज्ञानेन्द्रराज पन्त, लक्ष्मीदेवी जिसी, प्रकाश बराल, शिवराज पन्त र नरेन्द्र बुढाथोकी चयन भएका छन् । अधिवेसनको उद्घाटन गर्दै गण्डकीप्रदेश सभाका सदस्य मणभद्र शर्माले जनतालाई न्याय दिने काममा कानून व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए । नयाँ संविधान र कानूनबारे गाउँ तहसम्म सचेतना अभियान चलाउन कानून व्यवसायीनै अगाडि सर्नुपर्ने समेत बताए ।
उक्त अवसरमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरेले कानुनी साक्षरता अभावमा धेरै मानिसले अदालत र अर्धन्यायिक निकायमा आएर दुःख पाएको बताए । उनले राज्यको काम कानुनी साक्षरता बढाउने भएपनि नगरेको बताए । उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष हरिप्रसाद शर्माले फौजदारी न्याय प्रणालीमा प्रहरी र सरकारी वकिलहरु बढी संकुचित बन्दा सामान्य कसुरमा परेकोले पनि बढी सजाय पाएको बताए । कार्यक्रमका अधिकांश वक्ताहरुले पछिल्लो समय अदालतमा न्याय मर्दै गएको टिप्पणी समेत गरेका छन् ।
संविधानवादको बिषय मात्र नभइ कानुनवादको नाउँमै कानुन र न्याय मर्न थालेको भन्दै कानुन व्यवसायीहरु सचेत र एक बन्नुपर्ने धारणा राखेका थिए । बार एसोसिएसनका पूर्व अध्यक्षहरु निरञ्जनलाल राजभण्डारी, राम शर्मा, राजुप्रसाद गौतम समेतले न्याय मर्ने अबस्था आइसकेकोले देशभरका सबै कानून व्यवसायी एक भएर जनताको पक्षमा लड्नुपर्ने धारणा राखेका थिए । ‘२÷४ सय रुपैयाँ जरिवाना गर्ने कसुरलाई जेल पठाउने काम भएका छन्,’ अधिवक्ता राम शर्माले भने, ‘जेल पठाउँदाको सामाजिक समस्यालाइ नजरअन्दाज गरिएको छ ।’
कानुन व्यवसायीहरु सचेत बन्ने र न्यायालयमा पनि बिकृति भित्रन नदिन खवरदारी आवस्यक भएको समेत उनले बताए । अधिवक्ता भूमिश्वर गौतमको अध्यक्षता, सचिव हरिप्रसाद गौतमको संचालन र उपाध्यक्ष सरिता केसीको स्वागतमा सम्पन्न कार्यक्रममा मानवअधिकार संगठनकी अध्यक्ष लक्ष्मीदेवी जिसी, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष इश्वर ठाकुर पौडेल, पर्वत बारका उपाध्यक्ष हरिनारायण रेग्मी, लेखापढी व्यवसायी समितिकी अध्यक्ष कल्पना श्रेष्ठ लगायतले शुभकामना मन्त्व्य राखेका थिए ।





