बागलुङ, १५ चैत– बागलुङको बरेङबासीले पिउने पानीको अभाव झेल्दै आएका छन् । सडक कालोपत्रे गर्दा भत्केको पाइप र ट्याङ्की मर्मत नहुँदा स्थानीयले समस्या भोग्दै आएका हुन् ।
बरेङ गाँउपालिका वडा नं. १ झुले बरेङ खानेपानी तथा सरसफाई योजना गत आर्थिक वर्षको असारमा सकिएको थियो । काम सकिए पनि धारामा पानी नचढेपछि बरेङ बजारबासीले हैरानी खेप्नुपरेको हो ।
केपी कन्ट्रक्सन पोखराले ५१ लाख रुपैयाँमा खानेपानी आयोजना निर्माण गरेको थियो । अर्थ मन्त्रालयको विशेष अनुदानमा निर्माण गरिएको आयोजनाबाट पानी नआएपछि आफुहरुले हैरानी खेप्नुपरेको होटल व्यवसायी संघका अध्यक्ष टिकेश गलामीले बताए । गलामीले धारामा पानी नचढ्ने समस्याले टाढा पुगेर खेप्नुपरेको गुनासो गरे ।
‘निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा समेत मर्मत गरेर पानी चलाउने विषयमा कुनै पहल भएको छैन’ उनले भने, ‘पुरानो संरचना भत्काएर नयाँ बनाएपनि प्राविधिक कमजोरीको कारण धारामा पानी आएन ।’
खुल्ला सडकमा पाईप राख्दा पटक पटक फुट्ने गरेको समेत गलामीले बताए । सडक निर्माणका क्रममा सबै धारा भत्काईएपछि अहिलेसम्म बनाइएको छैन । खानेपानीको राम्रो व्यवस्थापन नहुँदै ठेकेदार कम्पनीले गाउँपालिकालाई आयोजना हस्तान्तरण गरेपछि यो सास्ती परेको उपभोक्ता समितिका अध्यक्ष ललित उपाध्यायले बताए ।
ठेकेदारले झुले–बरेङ–पात्ला–बाँस्कोट खानेपानी उपभोक्ता समितिलाई जानकारी नै नदिई पालिकालाई हस्तान्तरण गरेका थिए । उपयुक्त स्थानमा खानेपानी ट्याङ्की नबनेकोले पटक पटक समस्या आएको उनको भनाई छ । ‘सुरुमा राष्ट्रिय आयोजनाको काम भनेर स्थानीय खुसी भए’ उनले भने, ‘काम अलपत्र पारेर ठेकेदार हिँडेपछि सास्ती भएको छ ।’
‘सुरुमा एक घर एक धारा भनेर खुसी भएका स्थानीय अहिले टाढाटाढा पुगेर पानी खेप्न बाध्य भएको समेत उनले टिप्पणी गरे । आयोजनाबाट २ सय घरधुरी प्रभावित भएका छन् ।
यो आयोजनाबाट तंग्राम, सिग्दी, अर्लाङटुङ, काउलेचौर सोलार लिफ्टीङ खानेपानीका उपभोक्ताले समेत हैरानी खेप्नुपरेको छ ।
उपभोक्ताहरुले समिति खोज्दा समितिले गाउँपालिका देखाउने गरेको छ । गाउँपालिकाले समिति जिम्मेवार रहने बताउँदै आएको छ । बरेङ गाउँपालिका सवईन्जिनियर जुद्ध पुनले ठेकेदार कम्पनीले योजना हस्तान्तरण गरेको २ वर्षसम्म बिग्रेको खण्डमा बनाउने शर्त रहेको बताए । ‘सम्पर्कमा नरहेकोले बोलाउन सकिएको छैन’ उनले भने, ‘जिम्मेवारी पुरा नहुँदा उपभोक्ताले दुःख पाएका हुन् ।’
कहिले आउला घर घरमा धारा ?
बडिगाड गाउँपालिका–७ भीमगिठे । पानीको चरम समस्या भएको ठाउँ हो । वर्षामा आकासको पानीले घाँटी भिजाउने यहाँका सर्वसाधारण हिउँदको समयमा कुवा र जंगल छेवैका पँधेराको भरमा बाँचेका छन् । सामुदायको सक्रियतामा निर्माण भएका कतिपय गाउँ छेउका धाराहरुमा हिउँदको समयमा पानी खस्दैन् ।
भीमगिठेमा रहेको पानीको समस्या सामाधानका लागि नेपाल सरकारले एक घर एक धारा कार्यक्रम सञ्चालन गर्ने भनेपछि यहाँ सुरु भएको ‘बिरही खानेपानी आयोजना’ समेत बजेटको अभावले अलपत्र परेपछि स्थानीय थप समस्यामा परेका छन् । यो खानेपानी आयोजना २०७३ सालमा सुरु भएको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमार्फत बजेट प्राप्त भएर काम सुरु भएको यो आयोजना क्रमागत आयोजना हो ।
अहिले यो खानेपानी आयोजनाको काम गर्ने वा नगर्ने अवस्थामा छ । ‘यो वर्ष बजेट चार लाख विनियोजन भएको कुरा छ तर निकासा नपाउँदा काम थाल्न सकिएको छैन’ आयोजना उपभोक्ता समितिका अध्यक्ष रण बहादुर घर्ती मगरले भने ‘वर्षौं भयो बजेट कम हुँदा काम गर्न सकिएको छैन् ।’
भीमगिठेका १ सय ४९ घर परिवारलाई घर घरमै धारा पु¥याउन यो आयोजना सुरु भएको हो । यसअघि दुईवटा मुहानबाट पानी ल्याउने गरी आयोजना सुरु भएको थियो ।
पहिलो र दोस्रो वर्ष लगाएर मुहानमा बनाईएका इन्टेक र केही पाईप बिच्छाउने कामबाहेक थप काम हुन नसकेको घर्तीले बताए । आयोजना सुरु भएको चार वर्ष बितिसक्दा समेत धारा बनेर पानी आउने वातवरण नबनेको स्थानीय राम बहादुर रायमाझी बताउँछन् ।
पानीको समस्याका कारण यहाँका सर्वसाधारण पशुचौपाया तथा सरसफाईको लागि पानी प्रयोग गर्न पाउँदैनन् । भीमगिठेमा रहेको सामाजिक संस्था, विद्यालय तथा स्वास्थ्य संस्थामा समेत पानीको अभाव छ । ‘कहिले एक घर एक धारा होला र पानीको समस्या टर्ला भन्ने लागेको छ’ रायमाझीले भने ‘भीमगिठेले पानी पाउन वर्षौं कुर्नुपर्ने भयो ।’
अघिल्लो वर्ष आठ लाख रुपैयाँ खर्चेर यो आयोजनामा काम भएको थियो । पानी जम्मा गर्ने ट्याङ्की, पानी वितरण गर्ने ट्याङ्की र घर घरमा धारा बनाउने र पाईपको काम बाँकी छ । क्रमागत आयोजना भएकाले वर्षेनी विनियोजन हुने बजेटका आधारमा स्टमेट भएर काम हुने गरेको अध्यक्ष घर्तीले बताए । आयोजना सम्पन्न हुँदा करोड बढी खर्च हुने भएपनि बजेट अति न्युन भएकाले काम सम्पन्न हुन नसकेको उनको भनाई छ ।





