अरुका लागि असामान्य र असम्भव नै मेरालागि सामान्य हुन् । पुस्तकको पहिलो पृष्ठमा लेखिएको यो वाक्यले पुस्तकको सार बताउँछ । निम्स पुर्जा अर्थात् निम्स दाईको आत्मसंस्मरण हो, ‘बियोन्ड पोसिबल’ । सम्भवको अन्तिम बिन्दुसम्म उनी पुग्छन् । नेपालको एक विकट ठाउँमा हुर्केर ब्रिटिस आर्मीहुँदै स्पेसल बोट सर्भिसमा १० वर्ष सेवा गरेका उनी कसरी पर्वतारोहणतिर आकर्षित भए र एक पछि अर्का विश्व रेकर्डहरु कसरी हान्न सफल भए, पर्वतारोहणबाहेक उनको मानवताको भावना,हिमाल र शेर्पाहरुप्रतिको सम्मान प्रष्ट पुस्तकमा भेटिन्छन् । यसैले त विशेष छ पुस्तक ।
पुस्तकको विषयवस्तुः
३६ वर्षअघि उनी म्याग्दीको एउटा गाँउमा जन्मेका थिए । उनको बाल्यकाल बितेको थियो, चितवनमा । त्यसैले हिमालप्रति उनमा त्यति खासै चासो थिएन । बरु, लाहुरे परिवारमा हुर्केका उनी बुबा र दाइजस्तै बेलायती सेनामा भर्ती हुने सपना सानैदेखि बुनेका थिए । नभन्दै उनी सन् २००३ मा ब्रिगेड अफ गोर्खामा भर्ती भए । त्यसताका उनले एसएलसी पनि उत्तीर्ण गरेका थिएनन् । त्यसैले यूकेको क्याटरिकमा आधारभूत तालिम लिए । च्याम्पियन रिक्रुटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्समा पुगेका थिए । स्पेसल बोट सर्भिस, स्पेसल फोर्स युनिट अफ दी युके रोयल नेभ आदिमा उनले १० वर्ष स्पेसल फोर्समा सेवा गरेका थिए ।
फोर्समा उनी नेपाली भन्ने थाहा पाउनेबित्तिकै सबैले एउटै प्रश्न तेस्र्याउँथे, ‘एभरेष्ट चढेका छौ ?’ उनको उत्तर हुन्थ्यो ‘छैन ।’ हुन पनि उनले जीवनमा न हिमाल चढेका थिए न आधार शिविरसम्मको पदयात्रा नै ।
यसको ठीक दस वर्षपछि अर्थात् सन् २०१२ डिसेम्बरताका उनी सगरमाथा आधार शिविरसम्मको पदयात्रामा निस्किए । उनका गाइड थिए नामी आरोही, दोर्जे खत्री । आधार शिविरमा पुग्दा हिमालको सुन्दरताले यति लालायित बने कि खत्रीलाई पर्वतारोहणका लागि सीप सिकाउन अनुरोध गरे । त्यही नजिकैको गाउँमा भाडामा पर्वतारोहणका लागि आवश्यक सामग्रीहरु लिए अनि हानिए पूर्वी लोबुचेको आरोहणमा । यो नै उनको जीवनको पहिलो आरोहण थियो । अझ भनौं, पर्वतारोहणको पहिलो पाइला ।
सन् २०१४ मा उनले धौलागिरी र सन् २०१७ मा ब्रिटिस गोर्खा एक्सपिडिसनसँगै सगरमाथाको आरोहण गरे । यस अगावै सन् २०१६ मा उनी नेपालमा चारहप्ता बिदाका लागि आउँदा सगरमाथाको आरोहण गरेका थिए । अरु महिनाँै लागेर सगरमाथा आरोहणको तयार गर्दै दिए । उनी भने चार हप्ताभित्रै । पर्याप्त ‘एक्लाइमेटाइजेसन’ नपुगेर उनी ‘हाइ एल्टिच्युट सिकनेस’ को शिकार बने । तर, उनले हिम्मत हारेनन् । चुचुरोमा पुगेरै छाडे । अचम्मको कुरा त यो थियो कि, यसबारे उनी र उनकी श्रीमतीबाहेक कसैलाई थाहा थिएन ।
२०१७ मा ब्रिटिस गोर्खा एक्सपिडिसनसँगै सगरमाथाको आरोहण गरेर सबै टोली काठमाडौं फर्केका थिए । युके फर्कनलाई केही दिन ढिलो हुने जानकारी उनले पाए । अनि उनी फेरि सगरमाथा शिविर हानिए । फेरि सगरमाथासँगै लोत्से र मकालुको ४८ घण्टा तीस मिनेटमा आरोहण गरेर विश्व कीर्तिमानी राखे । यसपछि भने उनलाई आरोहणको लत नै लागिसकेको थियो ।
सन् २०१८, ९ जुनमा एलिजाबेथ दोस्रोबाट एमबीई अवार्डबाट उनी सम्मानित भएका थिए । एकपछि अर्को सफलता पाएसँगै उनमा आरोहणको सपनाहरु एकपछि अर्को थपिदै गए । अनि ती सपनाहरु पूरा गर्दै गए, समयसँगै । सगरमाथा, लोत्से र मकालुको आरोहण पाँच दिनमै सम्भव भयो भने त्योसँगै के टु र कन्चनजंगा गरी पाँच हिमाल केही हप्ताको समायवधिमै आरोहण गर्ने महत्वाकांक्षी सपना उनले बुने । एसबिएसका सिनियर अफिसरसँग कुरा गर्दा उनले सकारात्मक प्रतिक्रिया दिएका थिएनन्, न अरु कसैले दिएका थिए । हुन पनि हो, हरेक चार आरोहीमध्ये एक जनाले ‘के टु’मा ज्यान गुमाएका थिए भने कन्चनजंगामा मर्नेको सख्या हरेक सातमा एक थियो ।
पछि उनले यस योजनालाई केही परिमार्जित गरे । विश्वकै ८ हजारभन्दा बढी उचाई रहेका १४ हिमालहरुलाई सबैभन्दा छोटो अवधिमा आरोहण गर्ने । करिब ७ सय ५० हजार पाउन्डको खर्च अनुमान उनले गरेका थिए । जुन एकदमै ठूलो रकम थिया,े उनलाई । तर, उनले आँटेरै छाडे । मानिसको शारीरिक र मानसिक क्षमताको अन्तिम बिन्दुसम्म पुग्नु थियो, उनलाई । जलवायु परिवर्तनले निम्त्याएको हिमाली क्षेत्रको पर्यायवरणमा चुनौती र यसलाई न्यूनीकरण गर्ने विषयलाई यस मिसनको सन्देश बनाउने उनले सोचे । अनि अन्ततः उनी युद्धमा होमिए । अनि मिसनको नाम दिए ‘बियोन्ड पोसिबल ।’
तर, यस युद्धका लागि उनले जीवनमा त्याग गर्नुप¥यो, आफ्नो नामी जागिर । १९ मार्च, २०१८ मा उनले एसबिएसबाट राजिनामा दिए । उनलाई पदोन्नतिका साथै विशेष सुविधाहरुको अफर नआएका हैनन् । यता केही वर्षमै यसबाट अवकास पाएर मोटो रकमको पेन्सनसमेत पाउँथे । तर, उनी आफ्नो मिसनका लागि जे पनि त्याग्न तयार थिए र त्यागे पनि ।
यस मिसनबारे सबैलाई सुनाउँदा उनी हाँसोको पात्र बन्थे । सबै खिल्ली उडाउँथे । कसैले पत्याउने त कुरै थिएन किनभने यसअघि करिब आठ वर्ष लगाएर कोरियाली पर्वतारोही किम चाङ होले चौधवटै हिमालहरु आरोहण गरेका थिए । यता उनको लक्ष्य, केवल सात महिना मै । उनको दृढ संकल्प, आत्मविश्वास र हट्टी स्वभावको समिश्रणले यो मिसन सुरुवात भयो ।
सबैभन्दा चुनौतिको विषय बन्यो, स्पोन्सर खोज्दाको सास्ती ।सुरुमा त उनलाई कसलाई पत्याउँथे र ? प्रोजेक्डलाई तीन फेजमा विभाजन गरे । पहिलो फेजमा थिए नेपालका सात हिमालहरु ।दोस्रोमा पाकिस्तानमा अवस्थित पाँच हिमालहरुको आरोहण र तेस्रो फेजमा तिब्बतमा रहेका दुई हिमालहरु । पहिलो फेजका लागि बल्लतल्ल खर्च उठेको थियो ।
नभन्दै २८ मार्च, २०१९ मा उनी र अन्य सातजनाको टोली अन्नपूर्ण आधार शिविरमा पुगे । चुनौति र बाधाहरु नआएका हैनन् तर करिब दुई महिनाको समयवाधिमै अन्नपूर्ण, धौलागिरी, कन्चनजंगा, सगरमाथा, लोत्से र मकालुको सफल आरोहण गरे, उनी र उनको टोलीले ।
सगरमाथा आरोहण गर्दाताका हिलारी स्टेप छेउमा १ सय ५० भन्दा बढी आरोहीहरुको लाम रहेको तस्वीर उनले कैद गरेका थिए । जुन तस्विरले सारा विश्वको ध्यानाकर्षण गरेको थियो । ‘हिमालमाथिको राजनीति’ शीर्षकका उनले लेखेका छन्, ‘त्यस वर्षको त्यो सिजनमा मात्र आरोहणका लागि तीनदिनको उपयुक्त समय थियो । त्यसमाथि डोरी टाँग्नका लागि पनि ढिला भएर त्यस्तो भिड भएको थियो । मैले कैद गरेको तस्विर यति भाइरल भयो कि धेरैले यसले नेपालको पर्वतारोहण क्षेत्रलाई धमिल्याउने आरोपसमेत लगाए तर यो तीतो यर्थाथ थियो । सयौं आरोहीको अक्सिजन सिलिन्डर त्यही लाइनमा रित्तिएका थिए । कैयौं मृत्युको मुखमा पुगिसकेका थिए । यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने मेरो राय थियो । तर सरोकारवालाहरुले यसलाई गलत अर्थ लगाए । मलाई दोषी बनाएँ ।’
पहिलो फेजको सफल आरोहणपछि भने उनलाई स्पोन्सर गर्न धेरै हौसिए । नभन्दै उनी र उनको टोली पाकिस्तान हानिए । मिसन थियो– नाङ्ग पर्वत, गसेरबम पहिलो र दोस्रो, के टु र ब्रोड पिकको आरोहण । कति ठाउँमा उनीहरुको सुरक्षाको विषय चुनौतीपूर्ण थियो । उनी भूतपूर्व ब्रिटिस आर्मी र एसबिएस भएकाले त्यहाँका तालीवानी लडाकुले आक्रमण गर्ने त हैन भन्ने चिन्ताको विषय थियो । यसबाट बच्न उनीहरुले फरकफरक फ्लाइट समाते, भिन्नभिन्न होटलहरु बुक गरे अनि आरोहण भर मोबाइल समेत अफ गरेका थिए ।
तेस्रो फेज अर्थात् अन्तिम आरोहण बाँकी थियो, चोयु र सिसापाङ्माको । चोयुको आरोहण सजिलै सम्भव भयो । यता त्यस वर्षका लागि सिसापाङ्गा आरोहणको समय सकिसकेको थियो । उनी र उनको टोलीले यसको आरोहण गर्न नपाए उनको प्रोजेक्ट सम्भव हुने थिएन । त्यसैले उनले नेपाल सरकारको विभिन्न कुटनीतिक सहयोगबाट सिसापाङ्गा आरोहण सम्पन्न गरे । यसरी उनी र उनको टोलीले सात महिनाभित्रै यो प्रोजेक्ट सम्पन्न गरे र राखे विश्व कीर्तिमानी ।
मानवताको पाठ :
उनी केवल एक अनुभवी, सिपालु र दक्ष पर्वतारोही मात्र हैनन् । विभिन्न आरोहणको क्रममा आफ्नै ज्यानलाई दाउँमा राखेर भएपनि अरु आरोहीको उद्धार गरेका छन् । अन्नपूर्ण आरोहण गरेर बेसक्याम्पमा आराम गरिरहेका उनी र उनका टोली सिंगापुरका नागरिक डाक्टर चिनको उद्धारका लागि माथिल्लो क्याम्प पुगेका थिए । उद्धार गरेर काठमाडौंहुँदै सिंगापुर पु¥याए । तर, अपशोच ! उनलाई बचाउन भने सकिएन ।
यता, सगरमाथा आरोहण गर्दाताका होस् वा कञ्चनजंगा आरोहणको समय, उनको मानवताका परीक्षा भइनै रहन्छ । रेस्क्यु टिम र सम्बन्धित निकायलाई उद्धारका लागि खबर पु¥याउँदासमेत कुनै तदारुकता नदेखाएको गुनासो पुस्तकमा उनले पोखेका छन् । आफ्नो टोलीको मात्र नभई अरु जोसुकै आरोहीलाई बचाउन उनी र उनको टोली हर प्रयास गरेका थिए । र उनले लेखेका छन्, ‘हिमालमा कोही पर्वतारोही छाडिनु हुँदैन ।’
हिमाल र शेर्पाहरुप्रतिको उनको सम्मान भाव
उनले आजको दिनसम्म जति नाम, इज्जत र प्रसिद्धि कमाए, त्यसको धेरै श्रेय जान्छ त केवल हिमाललाई नै । अर्थात् प्रकृतिलाई नै । हिमालको कारणले उनले जति सम्मान पाए, त्यसभन्दा बढी सम्मान उनी हिमाललाई गर्छन् । अबको पर्वतारोहणको भविष्य, बढ्दो जलवायु परिवर्तन असर र यसको न्युनीकरणका लागि उनी हरप्रयास गरिनै रहेका छन् । केही समय अघिमात्र उनले अबको चार वर्षका लागि ‘बिग माउन्टेन क्लिन प्रोजेक्ट’ घोषणा गरेका छन् । जसअन्तर्गत २०२१ म के टु, २०२२ मा सगरमाथा, २०२३ मा मनास्लु र २०२४ मा अमादम्बलम सरसफाई अभियान गर्ने भएका छन् । यसले पक्कै सारा विश्वलाई राम्रो सन्देश दिनेमा कुनै दुईमत छैन ।
अर्को उनको प्रशंसा गर्ने पाटो हो, शेर्पाप्रतिको उनको सम्मान भाव । ‘शेर्पा र अन्य टोलीको सहायतबिना त कुनै आरोहण नै सम्भव हुँदैन । तर नाम भने आरोहीको मात्र माथि आउँछ । यसपछाडिका साहसी र कर्मनिष्ठ शेर्पाहरु सधैं ओझेलमा परेका छन् । हो, उनीहरुको भविष्य पनि उज्जल बनोस् भन्ने मेरो चाहना हो ।’, उनले बताएका छन् । हुन् पनि उनीसँगै टोलीमा रहेका सदस्यहरुले कैयौं नामी एक्सपिडिसनहरु सञ्चालन गरेका छन् । जीवन चलाएका छन् । बस्, उनी यसैमा सन्तुष्टि भेट्छन् ।
अन्त्यमा,
‘बियोन्ड पोसिबल’ एक पढ्नै पर्ने पुस्तक हो । यो विश्वकै पर्वतारोहण क्षेत्रको दस्तावेज त हो नै, जीवनमा आँट र इच्छा मात्र गरे जे पनि सम्भव हुन्छ भन्ने गतिलो उदाहरण हो, यो पुस्तक । सगरमाथा वा अन्य १३ वटा हिमालहरु आरोहण गर्नैपर्छ, पुस्तकले सुझाउँदैन । हरेकले आ–आफ्ना जीवनका सपनाका हिमालहरु सफलताकासाथ आरोहण गर्न पक्कै पुस्तकले प्रेरणा दिन्छन् । त्यसैले म फेरि भन्छु, यो जीवनमा एक पटक पढ्नैपर्ने पुस्तक हो ।





