केही दिनअघि राजधानी दिउँसै अन्धकार बनेको थियो । धुलो र धुँवा मिश्रित तुवाँलोले अन्धकारमय छाएको थियो, आकाश । सवारी साधनहरु बत्ती बालेर बत्तिरहेका थिए । ‘भिजिबिलिटी’घटेर केही मिटरको दूरीमा सीमित थियो । आन्तरिक तथा बाह्य उडानहरु सबै रद्द भए ।हिमालहरु नखुलेका कैयौं दिन भए । न खुलेका छन् मानिसहरुका मन पनि । वायु प्रदूषणको नजिता हो, यो ।
केही समययता नेपालमा वायु प्रदूषणले अवस्था विकराल बनेको छ । विभिन्न मापनले त विश्वकै पहिलो वायु प्रदूषित सहरमा नेपाललाई राखेको छ । यो स्तरको प्रदूषण नहुँदा पनि २ वर्ष पहिले भारतले जनस्वास्थ्य संकटकाल लगाएको थियो । बेइजिंगमा बार्बिक्यु समेत निषेध गरिएको छ । यता नेपाल सरकारले भने चार दिनका लागि केवल शैक्षिक संस्थाहरुको बन्दाको घोषणा ग¥यो । यतिले मात्र सम्भव होला त? खै सरकारका सशक्त रणनीतिहरु ? खै पूर्वतयारी ? कोरोनाको अर्को लहर छाइरहेको यस कठीन परिस्थितिमा वायु प्रदूषणले अवस्था थप जटिल बनाउने पो हो कि ?
सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारणले मात्र ३७ हजार मानिसको मृत्यु भएको तथ्यांकले देखाउँछ । धुम्रपानका कारण मात्र फोक्सोको रोग लाग्ने नभई अहिले वायु प्रदूषणले यसको दर ह्वात्तै बढाएको छ ।पछिल्लो विभिन्न अध्ययनले त यो पनि देखाउँछ कि वायु प्रदूषण बढी भएका स्थानमा बस्ने मानिसमा कोभिड १९ संक्रमण हुने र कोरोनाबाट मृत्यु हुने सम्भावना बढी हुने देखाएको छ । पछिल्लो तथ्यांकले यो पनि बताउँछ कि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये करिब १५ प्रतिशत वायु प्रदूषणकै कारण रहेको छ ।
फाल्गुन १२ गते ‘काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६’ र सो कार्यान्वयनबारे छलफल भएको थियो । अब राजधानीका लागि मात्र सीमित नभई सिंगो नेपालका लागि यस्ता कार्ययोजनाको कार्यान्वयन हुन नितान्त जरुरत देखिन्छ । भविष्यमा अवस्था झन् जटिल हुने सक्ने आँकलन विज्ञहरुले गरेका छन् ।
नेपालमा मानिसको मृत्यु हुने प्रमुख तीन कारण मुटुसम्बन्धि रोग, फोक्सोसम्बन्धी रोग र मस्तिष्काघात रहेका छन् । जसको मुख्य कारक नै वायु प्रदूषण रहेको छ । प्रदूषणकै कारणले शारीरिक मात्र नभई विभिन्न मानसिक चुनौतीहरु निम्त्याएका छन् । स्मरण शक्तिमा ह्रास आउने, पठनपाठनमा रुचि घट्ने आदि समस्याहरु यसका उदाहरणहरु हुन् ।
यता ‘वातावरण प्रदूषण नियन्त्रण’ नाममा शीर्षक तोकेरै सरकारले कर असुली गरेको पनि लामो समय भइसकेको छ । सरकारले नेपाल भित्रिने पेट्रोल र डिजेलबाट आर्थिक ऐन, ०६६ अनुसार प्रतिलिटर ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्कका नाममा कर उठाउँदै आएको छ । यस शीर्षकमा पछिल्लो १२ वर्षमा मात्र ११ अर्ब ५३ करोड संकलन भइसकेको छ । तर संकलित रकम प्रदूषण नियन्त्रणका लागि खर्च नहुँदा अवस्था झन् चिन्ताजनक बन्दै गइरहेको छ । यद्यपि, सरकारको तर्फबाट भने यस रकम विभिन्न शीर्षकमा वातावरण संरक्षण कार्यहरुमै उपयोग भएको ठहर छ ।
वायु प्रदूषणमा सबैभन्दा खतरनाक तत्वहरु हुन्, पिएम २.५, पिएम १०, ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, कार्बन डाइअक्साइड आदि । यहाँ पिएम २.५ ले २.५ माइक्रोनभन्दा साना कणहरुलाई बुझाउँछ भने पिएम १० ले १० माइक्रोनभन्दा साना कणहरुलाई बुझाउँछ । कण जति सानो भयो त्यति नै बढी हानिकारक हुन्छन् । कारण, कण जति साना हुन्छन्, त्यति नै यो फोक्सोको अति सूक्ष्म छिद्रहरुमा र मस्तिष्कका अति संवेदनशील भागहरु भित्र पस्न सक्छन् ।
सन् २०१३ मा विश्वका करिव ३ लाख मानिसमा गरिएको अध्ययनको निष्कर्ष अनुसार पिएम १० को अस्वभाविक वृद्धिले २२ प्रतिशत फोक्सोको क्यान्सर हुने जोखिम बढाउँछ भने सोही मात्रामा पिएम २.५ को वृद्धि हुँदा ३६ प्रतिशत फोक्सोको क्यान्सर हुने जोखिम बढाउँछ । यस्ता सूक्ष्म कणहरु इन्धन बाल्दा, रसायनिक प्रतिक्रिया हुँदा र डढेलो आदिबाट बढी निस्कन्छन् । संसारमा असामयिक मृत्युको छैटौं कारण पनि यही मानिन्छ ।
प्रदूषण मापन गर्ने निकायहरुले प्रदूषणको मापन गरी आम जनमानसले बुझ्ने गरी श्रेणीकरण गरी ए.क्यु.यास. अर्थात् एयर क्वालिटी स्केलमार्फत् नतिजा दिन्छ । यसलाई विशेषगरी छ तहमा वर्गीकरण गरिएको हुन्छ । ० देखि ५० स्वच्छ, ५१ देखि १०० मध्यम र स्वासप्रस्वासका रोगीलाई असहज हुने, १०१ देखि १५० जोखिमयुक्त समूहका लागि अस्वस्थ र उनीहरु अत्यावश्यक बाहेक बाहिर निस्कन नहुने, १५१ देखि २०० अस्वस्थ र जो कोहीले पनि असहज महसुस गर्ने भएकाले सबैले बिनाकारण बाहिर निस्कन नहुने, २०१ देखि ३०० अति अस्वस्थ र आपतकालीन स्वास्थ्य जोखिमको घोषणा गर्नुपर्ने र बाहिर निस्कन नहुने र अन्तिम ३०१ भन्दा माथि उच्च स्वास्थ्य सतर्कता अपनाउनु पर्ने र जो कोहीलाई जोखिमपूर्ण स्वास्थ्य समस्या देखिन सक्छ ।
‘ओल्ड एयर क्वालिटी इन्डेक्स’ अनुसार मार्च ३०, २०२१, २२ः२० अनुसार काठमाडौंको ए.क्यु.आई २ सय १४ रहेको छ । आई.क्यु.एयरले अहिले काठमाडौंलाई विश्वकै दोस्रो जोखिममा राखेको छ । आइ.क्यु.एयर ले २०२० मा पि.यम २.५ लाई मुख्य आधार मानेर संसारकै प्रदूषित सहर चीनको होतानलाई सूचिको पहिलो स्थानमा राखेको थियो र यो सहर अहिले पनि पहिलो स्थानमा नै रहेको छ । हाल युरोप र उत्तर अमेरिका सबैभन्दा स्वच्छ छन् जसका ए.क्यु.आई ५० भन्दा कम रहेका छन् । यसभन्दा अघि नेपालको ए.क्यु.आई भ्यालु ४०० भन्दा बढी पनि देखिएको थियो ।
यता विज्ञहरु भन्छन् कि धूलोको कारणले अहिले सूर्यको प्रकाशको किरण हामीसम्म आइपुगेको छ्रैन, जसले गर्दा ‘भिटामिन डी’ को कमी भएर रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ । यसले गर्दा रुघाखोकीलगायत विभिन्न रोगहरु निम्त्याउने गर्दछ । थप चुनौती त दीर्घ खालको दम, खोकीका बिरामीहरुमा देखिएको छ । प्रदूषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, स्वासप्रश्वासमा गाह्रो हुने समस्या देखा परेका छन् ।
विगतमा भन्दा यस वर्षको अवस्था बढी चिन्ताजनक नै हो । विगत वर्षहरुमा जाडो याममा पनि पर्याप्त वर्षा हुन्थ्यो । उच्च हिमाली भेगहरुमा हिमपात पर्याप्त हुन्थ्यो । यसकारण पनि धुँवा, धुलो र तुवाँलो जम्मा हुन दिदैनथ्यो । तर यसपालि न पर्याप्त हिमपात भयो न त हिउँदे वर्षा नै ।
डढेलोेविज्ञ सुन्दरप्रसाद शर्मा भन्छन्, ‘यस वर्ष एकैदिनमा ४ सय ८० स्थानमा वन डढेलो लागेका थिए, जुन विगतका वर्षहरुभन्दा संख्यामा धेरै हो । जसमध्ये करिब ६४ प्रतिशत मानव सिर्जित हुन्, नयाँ पालुवा पलाओस् र धान मकै छर्नका लागि किसानहरुले पनि जानजान डढेलो लगाउने गर्दछन् । यता ३२ प्रतिशत भने लापरवाहीवा अनजानवश घट्ने गर्दछन् । यस वर्षको वायु प्रदूषण पोहोर सालको तुलनामा चार गुणा बढी हो । पोहोर साल करिब तीन महिनाको लकडाउनको कारणले पनि अवस्था सामान्य भएको हुन सक्छ । यसपालि पनि सरकारले छिट्टै रणनीतिहरु तयार पारेर अघि बढ्न नसके ठूलै चुनौतीहरु आइपर्न सक्छन् ।’
समाधानहरु के त ?
अहिले वायुमण्डलको माथिल्लो तहमा तुवाँलो, धुँवा र धुलोको बाक्लो तह बनेको छ । यो हटेर नेपालभरकै मौसम खुला हुन् कि त धुँवा धुलो उडेर जानुपर्छ कि त वर्षा नै हुनुपर्छ । तत्काललाई दुबै हुने सम्भावना एकदमै न्यून देखिन्छ । त्यसैले छिट्टै वातावरण तङ्ग्रिने अवस्था छैन । तर प्रदूषणलाई न्युनीकरण गर्नु नितान्त आवश्यक देखिन्छ ।
सरकारले केही समयका लागि कलकारखाना, उद्योगहरु बन्द गर्न निर्देशन दिनुपर्छ । दिउँसो आममानिसहरुको आवातजावात बढी हुने समयमा ठूल्ठूला मालबाहक गाडीहरु सञ्चालनमा रोक लगाउन सकिन्छ । अझै सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्न सकिन्छ । आममानिसहरुले पनि फोहोरहरु नजलाउने र अनावश्यक इन्धन खपत रोक्नुपर्छ । सम्भव भए वनजंगलमा लागेको डढेलोलाई जतिसक्दो नियन्त्रणमा ल्याउनुपर्छ ।
भविष्यमा के सिक्ने ?
अहिले करिब एक महिनाभन्दा बढी समय वायु प्रदूषणले वातावरण विकराल बनेको छ । यो अझै केही समय लम्बिन सक्छ । यसको नियन्त्रण र रोकथाममा समयमै ध्यान नपु¥याउँदा अवस्था झन् जटिल बनेको छ । सँगै यो सबैको लागि गतिलो पाठ समेत बनेको छ ।
भविष्यमा ट्राफिक व्यवस्थापन तथा यातायातमा सुधार, सडकको स्तरोन्नति, कलकारखानाबाट फोहोर उत्सर्जनको कटौती, फोहोर मैलाको व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउनु पर्नेछ ।
आगामी दिनहरुमा यस्तै अवस्था नआउन भन्न सकिँदैन । यसका लागि पूर्ण तयारी हुन जरुरत देखिन्छ । गर्मी याममा सबैभन्दा बढी वनजंगलमा डढेलो लाग्छ । यसलाई नियन्त्रण गर्न नियन्त्रित डढेलो लगाउन सकिन्छ । हरेक सामुदायिक वन तथा सरोकारवालाहरुमा डढेलो बारे जनचेतनामुलक कार्यक्रम र विभिन्न नियन्त्रणका रणनीतिहरु तर्जुमा गरिनुपर्छ । जंगलमा पर्याप्त मात्रामा मानव निर्मित पोखरीहरु बनाइनुपर्छ, ताकी यसले चिस्यान कायम गरोस् । अनिडढेलो लागि हाले नियन्त्रणका लागि आवश्यक उपकरणहरु र दक्ष जनशक्तिको पूर्व तयारी हुन जरुरत देखिन्छ ।
व्यवस्थित सहरीकरण, उद्योग कलकारखानाहरुको स्तरोन्नति, विद्युतीय गाडीहरुको प्रयोग र साइकलमैत्री सहरहरुको परिकल्पना गरिनुपर्छ । अनि पर्याप्त मात्रामा वृक्षरोपण र वनजंगल संरक्षणलाई प्राथमिकतामा राख्नुपर्छ ।
अन्त्यमा,
दिनानुदिन बढ्दो औद्योगिकरण, अव्यवस्थित सहरीकरण, जलवायु परिवर्तनका कारणले नेपालको मात्र नभई सिंगो विश्वको वातावरणको स्तर खस्किदै गएको छ । सम्पन्न अर्बपतिहरु चन्द्रमा र मंगल ग्रहमा मानववस्ती बसाल्न तछाडमछाड गर्दै छन् । अनि अबौं र खबौं डलर लगानी गरिरहेका छन् । बरु पृथ्वीको भविष्य सुनिश्चित गर्न सबैको ध्यान जान जरुरत देखिन्छ । समयमै सबैको घँैटोमा घाम लागोस् ।





