पोखरा, १ वैशाख– देशमा पछिल्लो एक वर्षमा चौथो पुस्ताको (फोरजी) मोबाइल इन्टरनेट चलाउने ग्राहकको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फोरजी चलाउने ग्राहकको संख्या ७० लाख ९२ हजारभन्दा माथि लागेको छ ।गत वर्ष माघ महिनामा यो संख्या ४६ लाख ६४ हजार थियो। एक वर्षमा ५२ प्रतिशतले वृद्धि हुदै फोरजीका ग्राहक २४ लाख २८ हजार १ सय ४४ ले थपिएका हुन् ।
यो वर्ष सबैभन्दा धेरै फोरजी ग्राहक बनाउनेमा नेपाल टेलिकम रहेको छ। उसले यस वर्ष १ सय ८८ प्रतिशतले आफ्ना फोरजीका ग्राहक वृद्धि गरेको छ । टेलिकमले एक वर्षमा १६ लाख ६२ हजार १ सय ८० फोरजीका ग्राहक थपेको छ ।
त्यस्तै वृद्धिदरका हिसाबले हेर्दा तेस्रो ठूलो दूरसञ्चार प्रदायक स्मार्ट टेलिकमले पनि आफ्ना फोरजीका ग्राहक २४ प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको माघमा स्मार्ट सेलका २ लाख २२ हजार १ सय ४४ फोरजी ग्राहक रहेकोमा यो वर्षको माघसम्म २ लाख ७६ लाख ८ सय २२ पुगेका छन् । एक वर्षमा ५४ हजार ६ सय ७७ ले वृद्धि भएका छन् ।
फोरजी इन्टरनेट सेवा दिइरहेको तीन दूरसञ्चार कम्पनीमध्ये सबैभन्दा धेरै ग्राहक भएको दूरसञ्चार कम्पनी भने एनसेल रहेको छ । यसले फोरजीको अनुमति पाएसँगै तीव्ररुपमा ग्राहक बनाइरहेको छ ।
एक वर्षमा एनसेलका फोरजी ग्राहक ७ लाख ८० हजारले वृद्धि भएका छन् । २०७६ मा उसका फोरजी ग्राहक ३५ लाख ४५ हजार २ सय ८६ रहेकोमा यस वर्ष ४३ लाख २५ हजार ९ सय ३६ पु¥याएको छ ।यस हिसाबले हेर्दा एक वर्षमा एनसेलका फोरजी ग्राहक २२ प्रतिशतले वृद्धि भएका छन् । नेपालमा फोरजी सेवा सञ्चालनमा आएको तीन वर्ष भएको छ। २०७३÷७४ मा फोरजी सेवा सुरुवात भएको थियो। सबैभन्दा पहिला नेपाल टेलिकमले फोरजी सञ्चालनको अनुमति पाएको थियो भने त्यसपछि एनसेल र स्मार्टसेलले अनुमति पाएका हुन् ।
२०५६ सालमा टुजीबाट सुरु भएको मोबाइल इन्टरनेट अहिले फोरजीमा पुगेको छ । त्यसैगरी, २०७२÷७३ मा थ्रिजी सेवा सुरु भएको थियो।





