पोखरा, १ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व सबैमा हुनुपर्ने बताएका छन् ।
मंगलबार नयाँ वर्षको शुभकामना सन्देशसहित एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारिता सबैमा हुनुपर्ने बताएका छन् । उनले यसका लागि आपसी भाँडभैलो, अनमेल र द्वन्द्वको अन्त्य हुनुपर्ने बताएका छन् । उनले टाठाबाठ मात्रै सम्पन्न र सुविधाभोगी भन्ने गतिविधि र पद्धति त्याग्नुपर्ने बताएका छन् ।‘टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने, अरु निमुखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्नेखालको गतिविधि र पद्धति पनि त्याग्नैपर्ने हुन्छ’, उनले भनेका छन् ।
उनले फुटेर नभई जुटेर शक्ति संरक्षण गर्नु पर्ने र एकतामै देशको कल्याण रहेको बताएका छन् । ‘नेपाली हामी फुटेर होइन, शक्ति संरक्षण जुटेर गरौं । एकतामा हाम्रो सफलता छ, यसमै देशको कल्याण छ,’ शुभकामना सन्देशमा उनले भनेका छन् ।
उनले नेपालीका समस्या साझा रहेको भन्दै एउटा बिग्रेको अर्कोले हेर्ने बेला नभएको बताएका छन् । उनले पहिले देश र त्यसपछि मात्रै आफू भन्ने भावना सबैमा हुनुपर्ने बताएका छन् ।
‘देशको उन्नति र अधोगति हामीहरुकै हातमा छ । पहिले देश अनि मात्र आफू भन्ने भावना हामी सबैमा हुनु अत्यावश्यक छ। हामीले कर्तव्य पूरा ग¥यौं भने हामी उठ्छौं । निषेध र प्रतिशोधको चक्रव्यूहबाट बाहिर आउनै पर्दछ,’ उनले भनेका छन् ।





