आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पृथ्वीसुब्बाले मलाई भोट हाल्ने हो, मुख्यमन्त्रीका लागि : दीपक मनाङे

पृथ्वीसुब्बाले मलाई भोट हाल्ने हो, मुख्यमन्त्रीका लागि : दीपक मनाङे


  • युवराज श्रेष्ठ
  • बैशाख १ २०७८, बुधबार

पोखरा, १ बैशाख – दीपक मनाङेको नामले परिचित गण्डकी प्रदेशका सभासद राजिव गुरुङ दीपक मनाङेले साना दलको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । मुख्यमन्त्री बन्नका लागि आफू तयार रहेको बताउँदै उनले सरकार चलाउने कुरा ठूलो नभएको बताए । ‘म स्वतन्त्र भइहालँे, जसपा र जनमोर्चासँग कुरा गरेको छु,’ उनले भने, ‘तपार्इं हामी मिलेर सरकारमा जाऊँ, मुख्यमन्त्री हामी मागौं । ठूलो कुरा छैन चलाउन । हामीसँग आइडिया छँदैछ । प्रदेश चलाउने कुरा गाह्रो छैन भनेको छु ।’
गण्डकी प्रदेशमा सरकार परिवर्तन गर्न विपक्षी दलहरुको दौडधुप छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सरकार फेर्न लागिपरेको छ । नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धनलाई राष्ट्रिय जनमोर्चाको निर्णय निर्णायक हुन्छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई अहिले माओवादी केन्द्र र जनमोर्चाको समर्थन छ । माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका २ जना मन्त्रीले राजिनामा दिएसँगै उक्त दलले जुनसुकै बेला समर्थन फिर्ता लिने जनाएको छ भने जनमोर्चाले पनि सरकारको साथ छाड्ने तयारी देखिन्छ ।
नयाँ सरकार गठनका लागि विपक्षी दलहरुले माहौल तताइरहँदा गण्डकी प्रदेश सभामा उपस्थित एकमात्र स्वतन्त्र सांसद दीपक मनाङे (राजिव गुरुङ) पनि मुख्यमन्त्री बन्ने दौडमा सहभागी भएका हुन् ।
साना दलको नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै मनाङेले ठुला दलको समर्थन आफुहरुले लिने बताए । ‘मैले काँग्रेस, एमाले र माओवादीसँग कुरा गरेको छैन, हामी आफैले सरकार बनाउने हो’, उनले भने । गण्डकी प्रदेश सभाको विधान अधिवेसन चैत २५ देखि सुरु भएको छ । अधिवेसनमा सहभागी नभएका सांसद मनाङे मंगलबार मात्रै काठमाडौंबाट पोखरा आउँदै गरेको बताए ।
‘अब समय पनि आयो हेर्नुस्, हामीले उनीहरुलाई पहिला समर्थन दिएकै हो । ‘जे जे बिग्रिएको छ नि, हाम्रो कारणले बिग्रिएको होइन । उनीहरुकै कारणले बिग्रिएको हो’, उनले भने, ‘अब अरुलाई बनाउने होइन, हामी बन्ने हो ।’ कुन पार्टीको समर्थन लिने र कुन पार्टीको नलिने भनेर अहिल्यै सल्लाह गरेर जानुपर्ने उनको भनाई छ ।
आफु, जसपा र जनमोर्चा मिल्नुपर्ने भन्दै उनले सानो पार्टीलाई सरकारमा लानुपर्ने बताए । ‘मजदुर किसान पार्टीलाई प्रधानमन्त्री दिँदा के फरक पर्छ ?’, मनाङेले भने, ‘जसले गर्न सक्छ उसैलाई सरकारमा लानुपर्छ ।’
मुख्यमन्त्री पाए आफूसँग भिजन र टिम समेत रहेको मनाङेले दाबी गरे । उनले भने, ‘अब यो मुख्यमन्त्री चलाउने ठुलो कुरा रैनछ । खाली गफै दिने त हो । काम त केही गरेको छैन । त्यही भएर हामी मजाले सक्छौं । हामीसँग भिजन छ । टिम पनि छ ।’ सानो दललाई मुख्यमन्त्री दिँदा देशलाई र ठूला दललाई पनि फाइदा हुने मनाङेले बताए ।
नेकपा भएका बेला पार्टी नफुटेको र झण्डा पनि नपाएको अवस्थामा संसदीय दलको बैठकमा नआएर माओवादीले गल्ती गरेको मनाङेको भनाई छ । दलहरुले सबै कुरा बिगारेका कारण आफूले साना दुई दल जसपा र जनमोर्चालाई मिलेर अघि बढ्न आग्रह गरेको बताए ।
एमाले संसदीय दलको बैठकमा नियमित गइरहेका मनाङेले अब एमालेले ‘सुसाइड’ गर्नुपर्ने बताए । ‘एमाले म हो भन्नेले सुसाइड गरे नि हुन्छ अहिले त,’ उनले भने ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब चुनावमा मुख्यमन्त्रीका लागि आफुलाई भोट दिनुपर्ने उनले बताए । ‘पृथ्वीसुब्बा मेरो दाइ जस्तै हो । उहाँले मलाई भोट हाल्ने हो, मुख्यमन्त्रीका लागि । कहाँ मैले भोट हाल्ने हो ?’ उनले भने । मुख्यमन्त्री गुरुङसँग भने आफूले भोट नमाग्ने उनले बताए ।
‘मैले उहाँलाई भोट दिनुस् भन्ने होइन, मान्छे हो भने त आफै दिने हो नि । पहिला हामीले समर्थन दियौं, अब हामीलाई समर्थन गर्ने हो,’ उनले भने । यति धेरै बिगारेर फेरि भोट माग्न नमिल्ने उनले बताए ।
मुख्यमन्त्रीका लागि साना दल वा आफुमा सहमति भएन भने निर्वाचनमा जानुपर्ने मनाङेको लाइन छ । त्यस्तै प¥यो भने चुनाव हुन्छ । हेरौं न त कस्को कति औकात छ । ‘म र दुइवटा साना पार्टी जो म बन्छु भनेर आउँछ उसलाई भोट हाल्ने हो । कि मलाई हाल्नुप¥यो’, उनले भने, ‘छलकपट गर्न मिल्दैन, कति लुटेको हेर्नु ।’
जनमोर्चा र जनता समाजवादी पार्टीबाहेक अरु दलसँग आफुले कुरा नगरेको मनाङेले बताए । गण्डकीमा सरकार परिवर्तन गर्न नेतृत्वदायी भुमिका खेलिरहेको कांग्रेसले पनि मनाङेसँग सल्लाह नभएको बताएको छ । नयाँ सरकार गठन गर्न काँग्रेसले दलहरुसँग वार्ताका लागि बनाएको कार्यदलका संयोजक कुमार खड्काले पनि अहिलेसम्म मनाङेसँग आफुले औपचारिक कुराकानी नगरेको बताए ।
‘साथीहरुले सल्लाह गर्दै हुनुहुन्छ, पोखरा आइपुगेपछि भेटवार्ता होला,’ उनले भने ।
मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर जितेपनि मनाङेपछि नेकपामा प्रवेश गरेका थिए । अहिलेसम्म उनी एमालेकै संसदीय दलको बैठकमा सहभागी छन् भने संसदमा पनि सत्तापक्षमा बस्ने गरेका छन् । मनाङेले एमालेको साथ छाड्दा प्रदेश सभामा एमालेको २७ मत हुन्छ ।
संसदमा कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाका ३ र जनता समाजवादीको २ मत छ । मुख्यमन्त्री गुरुङको सरकारबाट माओवादी बाहिरिएपछि विपक्षी दलहरु जनमोर्चाको निर्णय पर्खेर बसेका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन जनमोर्चाको निर्णय पर्खने निर्णय गरेको थियो ।
माओवादी र जनमोर्चाका सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आएका छन् । तर, अहिलेसम्म फिर्ता गरिसकेका छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->