आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

वर्षको सुरुवातमै अस्थिरताको संकेत

वर्षको सुरुवातमै अस्थिरताको संकेत


  • दुर्गा भण्डारी
  • बैशाख २ २०७८, बिहिबार

नेपालीहरुले मान्दै आएको विक्रम संवत्को क्यालेण्डर आजबाट फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको संवतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०७८ सुरु भएको छ । हामी नेपालीहरुले विक्रम संवत् २०७७ साललाई बिदा गरी नयाँ वर्ष २०७८ मा प्रवेश गरेका छौं । वर्षको सुरुवातमा राम्रो होस्, शुभ रहोस, शुभ समाचार सुन्न पाइयोस् भन्ने कामना गर्दै सन्देश प्रवाह गर्ने प्रचलन रही आएको छ। वास्तवमा विगतलाई फर्केर हेर्ने हो भने २०७७ साल र अंग्रेजी नयाँ वर्ष २०२० र २०२१ पनि शुभ रहेन । अंग्रेजी नया वर्षको सुरुवातमै संसारभर कोरोना महामारीले फैलियोे । यद्यपि, कोरोनाको प्रकोप अझै पनि कम भएको भने छैन । कोरोनाको कारण संसारभर करिव १३ करोड ८० लाख ९७ हजार ९ सय ७८ जना संक्रमित भए भने कोरोनाबाट मर्नेको संख्या २९ लाख ७४ हजार ३ सय ८० पुग्यो । निको हुनेको संख्या भने ११ करोड ११ लाख ५ सय ९० रहेको पछिल्लो पटक विश्व स्वास्थ्य संगठनले अपडेट गरेको तथ्याङ्क छ । नेपालमा पनि कोरोना भाइरसबाट २ लाख ८० हजार ९ सय ८४ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ । मार्च १ को तथ्याङ्क अनुसार निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ रहेको छ । मृत्यु हुनेको संख्या ३ हजार ५८ रहेको छ । कोरोनाको प्रभाव जाडो महिनाको सुरुवात कम भएका महसुस भए पनि हराएको भने थिएन । अहिले करिब एक महिना यता नया प्रकारको कोरोना भाइरस नेपालमा पनि देखिन थालेपछि चिन्ता बढेको छ । पहिलो चरणको कोरोना नियन्त्रण गर्न नेपाल सानै देश भएर पनि सफल भयो । तर, दोस्रो चरणको कोरोना नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बारेमा संसारभर नै टाउको दुखाई बनेको छ । कोरोनाविरुद्धको खोपको परीक्षण भइ नेपालीहरुले लगाइरहेका छन् । तर पनि महामारीको डर कम छैन भन्ने विज्ञको भनाई छ । नयाँ वर्षको आगमसंगै कोरोना महामारीको खतरा अझै कायमै छ । नेपालीहरुले रोगलाई ठूलो शत्रु मान्ने गरेका छन् । वास्तवमा स्वास्थ्य सबैभन्दा ठूलो धन हो । स्वस्थ जीवन रहेमा सुख, समृद्धि र खुशी हुन पाइन्छ, संसार देख्न पाइन्छ । नयाँ वर्षको प्रारम्भमा हामी नेपालीहरुले त्यहि स्वस्थ जीवनको कामना गरेका छौँ । सुखी समृद्धिको कामना गरेका छौं ।
कामना गर्नु राम्रो पक्ष हो । तर, कामना र मनोकांक्षाले मात्रै सुख,समृद्धि र खुसी प्राप्त गर्न सकिँदैन । मनोकांक्षा पूरा गर्न दृढ निश्चयकासाथ लाग्नु पर्दछ । नेपालीहरुले स्वस्थ जीवन रक्षाका लागि काम गर्नुपर्ने देखिन्छ । अहिलेको कोरोना महामारीबाट बच्ने उपायहरु गर्नुपर्छ । आम नागरिकहरुभन्दा राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुबाटै स्वास्थ्य मापदण्ड पालना नगरेको देखिन्छ । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्रमा सुधार हुन सकेको छैन । राजनैतिक अस्थिरताबीच पनि सरकारले धेरै नै विकास र निमार्णका कामहरु गरेको छ । मुलूकको स्वाभिमान जोगाउने काम गरेको छ । कोरोना महामारीको पराजय होस्, मुलुकमा शुख शान्ति समृद्धि छाओस भन्ने चाहना केवल सर्वधारणको मात्रै देखियो । सत्ता खोज्नेहरुलाई कुनै पनि विपद् र महामारीले छेकेन भन्ने घटनाक्रमहरुले देखाई सकेको छ । २०७७ साल राज्य र सरकारविरुद्ध चरम षड्यन्त्रको वर्षसमेत रह्यो । दुई तिहाई बहुमतप्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरुले काम गर्न दिएनन् । काठमाडौंका जनतालाई पानी खानबाट समेत रोकियो । प्रधानमन्त्रीले जतिसक्दो मेलम्चीको पानी ल्याउन खोज्ने तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रोक्ने गरे । समृद्धिका बाधक आफ्नै पार्टीका नेताहरु थिए । सरकारलाई चौतर्फी घेराबन्दीमा पारियो । अहिले पनि भारतको ग्राण्ड डिजाइनमा प्रधानमन्त्री केपी शर्मा ओलीबाहेकका सबै एकजुट भएर सरकार गिराउने षड्यन्त्र गरिरहेका छन् । यो खेलले, नेपालमा राजनीति गर्ने नेताहरु कति नेपाली रहेछन् भन्ने कुरा पुष्टि गरेको छ । नेपालको सार्वभौमसत्ताका बन्धक राखेर भए पनि सत्तामा जान लालायित भएकोतर्फ संकेत गरेको छ । नेपालले चुच्चे नक्सा जारी गरेकोमा भारतले असन्तुष्टि जनाएको थियो । भारतले अहिले प्रधानमन्त्री केपी ओलीविरुद्ध सबै दलहरुलाई एकजुट बनाउदै आएको छ । आफ्नो स्वार्थका लागि भारत गुहार्ने नेताहरुलाई नेपाली जनाताले चिन्नुपर्छ । संघीय सरकार मात्रै होइन, प्रदेश सरकारविरुद्ध पनि एमाले बाहेकका सबै दलहरुले मोर्चाबन्दी कसेका छन् । बलियो मानिएको प्रदेश गण्डकी र लुम्बिनी प्रदेशमा पनि सरकारविरुद्ध षड्यन्त्रको सुरुवात भएको छ । नयाँ वर्षको सुरुवातकै दिन जनमोर्चाका नेता चित्रबहादुर केसीले एमालेलाई, गण्डकी प्रदेश सरकार चलाउन दिएको सर्मथन फिर्ता लिने जनाएको छ । विज्ञप्तीमार्फत् दिएको समर्थन फिर्ता भएको उनले जानकारी गराएका छन् । ठूलो पाटीलाई सरकारबाट बाहिर राख्न खोज्नु भनेको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको भारतीय मोर्चाबन्दी हो । नेपालका नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि भारतलाइृ भित्र्याउने हो भने नेपाल सार्वभौमसत्ता सम्पन्न रहने छैन । विगतमा भारत विरोधी चर्का चर्का कुरा गर्नेहरुले अहिले खास समयमा भारतलाई साथ दिइरहेका छन् । यसमा जनमोर्चा विगतका दिनदेखि नै थियो तर जनताको नजरमा परिचित हुन पाएकोे थिएन । अहिले भारतलाई गुन लगाउन र राजनैतिक अस्थिरता निम्त्याउन लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक जोगाउन गरेको ठूलो प्रयत्नलाई नेपालका राजनैतिक दलहरले साथ नदिएको कुरा जनता सामु उदाङ्गिएको छ । नेपालमा संघीय शासन प्रणालीको अभ्यासकै क्रममा छ । प्रणालीहरुलाई असफल बनाउने प्रयत्न भएको छ । नयाँ प्रणालीको अभ्यास गर्दै जानु आफैमा कम चुनौतिपूर्ण कुरा होइन । त्यसकारण प्रणालीलाई व्यवस्थित गर्न पर्ने दायित्व सबै दलहरुको हो । राजनैतिक अस्थिरता कायम रहिरहे नेपाल र नेपालीको बिकास समृद्धि र सुखी बन्ने चाहना, सपना पूरा हुन सक्दैन । भारतसहित मोर्चाबन्दीको जतिसुकै ध्वाँस दिए पनि आखिर नेपाली जनताले चुनावमा देखाइदिने छन् ।
हामीले प्राकृतिक विपत्ति ,कोभिड –१९ ले पर्यटन ,आर्थिक ,सामाजिक र सांस्कृतिक ,स्वास्थ्य , शिक्षा ,हरेक क्षेत्रमा असर पारेको छ । यो असरले जनतालाई निराश बनाउने काम गरेको छ । हरेक क्षेत्रमा निराशा र अस्थिरता ल्याउन खोजिएको बेला स्वास्थ्य संस्थालाई बलियो बनाउनेगरि संरचना निर्माण थालिनु,सडक ,पुल बन्नु, मेलम्चीको पानी काठमाडौंका जनताको धारामा झर्नु,भारतले मिचेको भूमि समेटिएको नक्सा जारी हुनु, सकारात्मक काम हुन । राजनीतिक दलहरु सत्तामोहको कारण सरकार फेर्ने फोहोरी खेलभन्दा विकास र समृद्धिका लागि जनतामा जाने,संविधान कार्यान्वयनमा इमान्दार हुन सकेमा नयाँ वर्ष आशा र उत्साहको वर्ष हुनेछ । नयाँ वर्ष सबै नेपालीको सुस्वास्थ्य,उन्नति ,प्रगति र स्वाभिमानको वर्ष बन्न सकोस्, शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->