पोखरा, २ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सभासदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्ताव आउने थाहा पाएपछि बुधबार राति १२ बजे एकाएक अधिवेशन अन्त्य गरेपछि क्रुर बनेका विपक्षीहरुले अविश्वासको प्रस्ताव ल्याएका हुन् । ३ दलले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । संविधानको धारा १८८ (४) मा प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरू मध्ये एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेश सभाको विश्वास छैन भनी लिखितरूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने प्रावधान रहेको छ । सोही प्रावधानमा टेकेर बिहीबार अविश्वास प्रस्ताव दर्ता भएको हो । सोही धाराको उपधारा ५ मा अविश्वासको प्रस्ताव पेश गर्दा मुख्यमन्त्रीको प्रस्तावित नाम दिनुपर्ने उल्लेख गरिएको छ । अविश्वासको प्रस्ताव दर्ता भएपछि संविधानको धारा १८३ अनुसार अबको २० दिनभित्र प्रदेश सभा आह्वान गर्नुपर्छ । धारा १८३ को धारा १ मा भनिएको छ,‘ प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिन भित्र प्रदेश सभाको अधिवेशन आव्हान गर्नेछ । त्यसपछि यस संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आव्हान गर्नेछ । तर एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि छ महीनाभन्दा बढी हुने छैन ।’





