आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

दोबिल्ला दि स्पोर्टस भिल्ला

दोबिल्ला दि स्पोर्टस भिल्ला


  • दिवस गुरुङ
  • बैशाख ६ २०७८, सोमबार

कमल मगर । उमेरले भर्खर १७ वर्षमा टेक्दै छन्, उनी । घर चाँहि उनको सुर्खेत । तर, सहारा एकेडेमीको सहारामा समय बिताएको पनि ७ वर्ष बढी भइसक्यो । १० वर्षको कलिलो उमेरमा उनी पोखरा आएका थिए । सहारा एकेडेमीको तेस्रो ब्याजमा उनी पनि समेटिए– सात वर्ष अघि । फुटबल, पढाई अनि अन्य विविध पक्षलाई समानन्तर तबरले अघि बढाउनु आफैमा चुनौतीपूर्ण पक्ष हो नै । तर, उनले हार मानेका छन् । सपना बोकेका छन्,‘राष्ट्रिय फुटबल टोलीको जर्सी लगाएर नेपालको प्रतिनिधित्व गर्ने ।’ फुटबल खेल्ने अनि देशको नाम विश्वभर चिनाउने । देशको शीर उँचो बनाउने । त्यस अघि विभागीय टोलीबाट खेल्न पाए, उनलाई यस्तै लाग्छ । कुनै दिन पक्कै उनको सपना यथार्थमा परिणत हुनेछ ।
ताप्लेजुङका अनिश लिम्बु, चितवनका प्रमिश गुरुङ, पर्वतका शिशिर क्षेत्री, कास्कीका अभिषेक राना मगरजस्ता २४ जना भर्खरका कलिला युवाहरु यस्तै सपना देख्छन् । सहारा एकेडेमी नै उनीहरुको सबथोक हो । परिवार, घर, आफन्त जे भने पनि । सबै नजिकैको विद्यालयमा पढ्छन्, बिहान बेलुका एकेडेमीकै खेल मैदानमा फुटबल खेल्छन् । सँगै खान्छन्, खेल्छन् अनि रमाउँछन् । उनीहरु समयसँगै निखार्दै गएका छन् –फुटबलका कलाहरु । सहाराले यस्तै २४ बालकहरुको अभिभाकत्व मात्र बहन गरेको छैन, गण्डकी प्रदेशकै फुटबल क्षेत्रमा ठूलो योगदान दिएको छ ।
सहारा एकेडेमी । फुटबलको सपना फुल्ने एक स्वर्णीम ठाउँ । जहाँ वास्तवमै फुटबल खेल्ने सपनाहरु यर्थाथमै साकार हुन्छन् । सहारा एकेडेमीको पनि आफ्नै कथाहरु छन् । सुख, दुःख अनि भोगाइका क्षणहरु । आजको दिनमा एउटा निजी क्लबको यति सु–सम्पन्न एकेडेमी हुनु आफैमा गर्वको विषय हो । असहाय र अभिभावक नभएका बालकहरुको अभिभावक हो– सहारा एकेडेमी ।
सहारा क्लब । लहैलहैमा फुटबलमा सौखिन युवाहरुको एक झुण्डले बनेको टोली थियो, यो । २०५५ सालको समय । त्यस समय पोखरा वा पश्चिमाञ्चल मै फुटबलका लागि भनेर संस्थाहरु नै थिएनन् । न त जग बसेको थियो, फुटबल संस्कृतिको । पृथ्वीचोक, बसपार्क एरियाका फुटबलप्रेमी युवाहरुले बनेको क्लब थियो,‘सहारा क्लब’ । अत्यन्तै जुझारु युवाहरुको संस्था । सुरुवाती दिनहरुबाट नै फुटबलसँगै विभिन्न सामाजिक कार्यहरुमा क्लबको सक्रियता उस्तै थियो । बिस्तारै क्लबले उचाइ लिन थाल्यो, जब यसले २०५८ सालमा क्याराभान गोल्डकप र २०५९ बाट आहा गोल्ड कप सुरुवात ग¥यो ।
क्लबको लक्ष्य फुटबल प्रतियोगिता मात्र आयोजना गर्नु थिएन । वास्तवमै दक्ष फुटबल खेलाडीहरु उत्पादन गर्नुपर्छ भन्ने लक्ष्य थियो क्लबको । अनि सुरु भयो एकेडेमीको परिकल्पना । २०५८ सालको पहिलो ब्याचमा थिए अनिल गुरुङ । जो नेपालको राष्ट्रिय फुटबल टोलीको पूर्वकप्तानसमेत थिए । घरबाटै आउजाउ गर्थे खेलाडीहरु । विभिन्न विद्यालयहरुमा पढ्ने भएकाले पर्याप्त समय प्रशिक्षणको लागि मिल्दैनथ्यो । त्यसैले होस्टेलको प्रारम्भ भयो, २०६१ सालबाट । खेलाडीहरु एउटै विद्यालयमा पढ्थे, पृथ्वीचोक बसपार्कमा रहेको सहारा भवनमै छात्राबासमा बस्थे अनि फुटबलको प्रशिक्षण भने पोखरा रंगशालामै हुन्थ्यो ।
समयसँगै विभिन्न लक्ष्यहरु थपिदै गए । पोखरा रंगशालामा पर्याप्त तालिमका लागि अवसर मिल्दैनथ्यो । समस्या नै आविष्कारको जननी भनेझै सहाराले आफ्नै खेलमैदान सहितको एकेडेमीको सपना बुन्यो । धेरै यसलाई महत्वाकांक्षी सपना भन्थे । हुन पनि करोडौको लगानी आट्नु सानोतिनो आटल हुँदैनथ्यो, जबकि सहारासँग पर्याप्त बजेट र जग्गा नै थियो ।
आँटेपछि के पुग्दैन । नभन्दै पोखरा शहरबाट ७ कि.मी. मा रहेको दोबिल्लामा सहारा एकेडेमीको लागि पर्याप्त जग्गा मिल्यो । समय २०६३ सालको थियो । तर, समस्या खडकियो पैसाको । एकेडेमीका लागि चाहिने जग्गा जम्मा २६ रोपनी तर एकै व्यक्तिमा ४८ रोपनीको जग्गा भएकाले पुरै एकै जनालाई बेच्ने उसको अडान थियो । हुन पनि पुरै जग्गा किने केही सहुलियत मिल्ने भयो । त्यसैले बाँकी जग्गा संस्थाका पदाधिकारीहरुले संयुक्त रुपमा किन्ने निर्णय बन्यो । र एकेडेमी बन्ने सपना अंकुराउन थाल्यो ।
आहा रारा गोल्ड कपबाट उठेको रकमले केही हौसला थप्यो । बिस्तारै थपिँदै गए, सहयोगका हातहरु । नभन्दै तीन वर्षमा अर्थात् २०६९ सालमा एकेडेमीको आफ्नै भवन, मैदान अनि प्याराफिट तयार भयो । अनि, उद्घाटन भयो २०७० सालमा ।
त्यसपछि सुरु भयो तेस्रो ब्याच । त्यसैमा आए कमल मगर र उनका साथीहरु । कक्षा पाँचमा भर्ना भएका उनीहरु अहिले कक्षा बाह्रमा पढ्दै छन् । हिमालदेखि तराई सम्म र पूर्व मेचीदेखि पश्चिम महाकालीका बालकहरु छन् यहाँ । वास्तवमै यसले एकता र सहिष्णुताको प्रतिबिम्बसमेत गरेको छ । कक्षा बाह्रसम्मको शिक्षा सहारा एकेडेमीले नै बेहोरिदिन्छ । त्यसपछि फुटबलमा सौखिन र दक्षलाई एकेडेमीले नै विभिन्न फुटबल क्लबहरुमा समावेश गराउन मद्धत गर्दछ । बाँकीलाई विभिन्न सीपमूलक तालिमहरु दिएर आत्मनिर्भर बनाउने जिम्मेवारी बहन गर्दछ । एकेडेमी चाहन्छन्, हाम्रा बालकहरु जीवनमा परनिर्भर बन्न सकून् । आफ्नै खुट्टामा उभिन सकून् । हुन पनि विभिन्न उदाहरणहरुले यसलाई प्रष्टाउँछ पनि । कोही फोटोग्राफी त कोही इलेक्ट्रिसियन । केही न केही पेशामा लागेर आफ्नो जीवन चलाउने गोरेटोको दोब सहाराले खनिदिएको छ ।
सहारा केवल संस्था मात्र हैन । सहारा फुटबल खेलाउने एउटा क्लब मात्र हो भन्दा न्यायोचित नहोला । न त सहारा एकेडेमी केबल क्लब नै हो । पोखरेली फुटबलको पर्याय भनौं वा नमूना एकेडेमीको सर्जक । सहाराको वृहत परिभाषा शब्दमा वर्णन गर्न सकिँदैन । सहारा आफैमा सहारा हो, फुटबलको र अभिभावन नभएका बालकहरुको ।
आजको दिनसम्म आइपुग्दा सहाराको छहारीमा कैयौं नामी फुटबल खेलाडीहरु र प्रशिक्षकहरु जन्मिसकेका छन् । यो आफैंमा गौरवको विषय हो । कुनै पनि निजी क्लबको निजी एकेडेमी यतिको सफल हुनु नेपालकै नमूना उदाहरण बनेको छ । यस्तै धेरै अन्य क्लबहरुले सिक्नु जरुरत देखिन्छ ।
आजको युग, लैगिंक एकताको युग हो । जहीँतहीँ महिला र पुरुषबीचको समानता रुचाउँछन् । सहारा एकेडेमीमा आजको दिनसम्म केवल बालकहरुलाई मात्र समावेश गरिएको छ । बालिकाहरुलाई किन समावेश गरिएन भन्ने विषय पनि बारम्बार उठिरहन्छ । महिला र पुरुषलाई छुट्टै होस्टेलको आवश्यक पर्छ । अनि छुट्टै व्यवस्थापन समेत । आयोजक यसलाई चुनौतीको विषय मान्छ । एक–दुई वर्षका लागि मात्र बालकबालिकालाई राखेर पछि विविध कारणले निरन्तरता दिन सकिएन भने ? यो चुनौती एकेडेमीले मोल्न चाहँदैन । आगामी दिनमा महिला र पुरुष दुवैलाई समावेश गर्न सहाराले कदम चाल्नै पर्छ ।
फुटबलमा त अब्बल खेलाडीहरु तयार पारेकै छन् । फुटबलमा सफल नभएकाहरुलाई आफ्नो जीवन चलाउनका लागि एकेडेमीले विभिन्न सीपमुलक तालिमहरु र कोर्षहरुको समेत व्यवस्था गर्दै आएको छ । यो खुसीको विषय हो । एकेडेमीबाट विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु खेलिसकेका खेलाडीहरु छन् । पोखराको मात्र नभई सिंगो नेपालको शीर उँचो बनाएको छ ।
सहारा क्लबले १९ औं संस्करण गोल्डकप खेलाइसकेको छ । यो अब वयष्क भइसकेको छ । समयसँगै यसको थप जिम्मेवारी थपिएको छ । यसको सफलताको उँचाई कायम गर्न अबका दिनमा सहाराले राम्रै मेहनत गर्नुपर्नेछ ।
दोबिल्ला, आज स्पोर्ट भिल्लाको उपनामले चिनिन्छ । यो सबै सहारा एकेडेमीले गर्दा न हो । आशा छ, सहारा आगामी दिनमा कैयौं अभिभावक नभएकाहरुका सहारा बन्नेछ । बाँच्ने सहारा, जीवन जिउने सहारा । एकेडेमीको आगामी दिनको यात्रा अझ मजबुत बन्दै जाओस् । शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->