आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

क्रान्तिकारी विचारधाराको रक्षाको लागि कानुनी वारबन्देजहरु तोडौ

क्रान्तिकारी विचारधाराको रक्षाको लागि कानुनी वारबन्देजहरु तोडौ


  • सागर कुँवर
  • बैशाख १४ २०७८, मंगलबार

कम्युनिष्ट पार्टीमा विचारको लडाईँ प्रधान हुन्छ, विचारले क्रान्तिकारी कार्यदिशालाई आत्मसाथ गर्दछ र सोही अनुरुपको कार्यक्रम निर्धारण गर्दै लागू गर्दछ । त्यसरी कार्यक्रम लागू गर्नको लागि उच्च गतिशील संगठन चाहिन्छ । त्यसरी कार्यक्रम लागू गर्ने सिलसिलामा छलफलमा स्वतन्त्रता, कार्यमा एकरुपताको आधारमा नै लागू गरिन्छ ।
यदि कम्युनिष्ट पार्टीले गैरक्रान्तिकारी कार्यदिशा समात्दछ भने त्यो अवस्थामा उक्त पार्टीमा क्रान्तिकारी कार्यदिशाको लागि पार्टी सदस्यहरुले पार्टीका कानुनी वार–बन्देजहरुलाई तोड्नुपर्दछ । त्यसरी वार–बन्देज तोड्नुको अर्थ सदावहार तोड्नु भन्ने होइन । पार्टीलाई क्रान्तिकारी कार्यदिशामा ल्याइसकेपछि वा नयाँ क्रान्तिकारी पार्टीको निर्माणपछि सङ्गठनात्मक अनुशासनलाई कडाइका साथ लागू गर्नुपर्दछ । त्यो अनिवार्य बन्दछ, अन्यथा कम्युनिष्ट पार्टी पनि बुर्जुवा पार्टी जस्तै बन्दछ ।
अहिले नेकपा(एमाले) विभाजनको सन्निकटमा छ । तर, नेकपा (एमाले) भित्रको विवाद क्रान्तिकारी विचार कि दक्षिणपन्थी विचार वा कार्यदिशाको विवाद होइन, त्यो नितान्त प्राविधिक विवाद हो । सामान्य विषयवस्तुहरुको मतभिन्नता र त्यसलाई पार्टी नेतृत्वले एकपक्षीय रुपमा सङ्गठनात्मक संरचनामा ढलाउनु र अर्को पक्षलाई वाइकट गर्नु त्यसमा अन्तरनिहित छ । त्यहाँ एक पक्षले अर्को पक्षमाथी सङ्गठनात्मक दमन छ, त्यसको प्रतिरोधमा अर्को पक्षले समानन्तर गतिविधि चलाइरहेको छ । यसको क्रान्तिकारी आन्दोलनमा खास महत्व छैन । तर, तत्कालको देशको राजनीतीमा यसको गम्भीर असर भने रहेको छ । यसमा हामीले दुई कुरामा नै ध्यान दिनुपर्दछ ।
एक, नेकपा (एमाले)को विवाद सैद्धान्तिक वैचारिक विवाद होइन, सामान्य कार्यनीतिक विवाद मात्र हो र त्यो पनि सर्वोच्चको फैसलापछि पुर्वग्रही टकरावका कारण सृजना भएको हो, त्यो हुनुमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को विगतको एकताको पनि महत्वपूर्ण भुमिका छ । साथै, संसद विघटन काण्डले नै एमालेलाई आज यो अवस्थामा पु¥याइदिएको छ ।
दुई, नेकपा (एमाले)ले कम्युनिष्ट पार्टीको झण्डा बोकेको भएपनि त्यो कम्युनिष्ट पार्टी होइन, त्यसले विगतको आफ्नो देशभक्त र जनतान्त्रिक शक्ती अस्तित्वसमेत गुमाइसकेको छ । त्यसको नेतृत्व दलाल नोकरशाही पुँजिपती वर्गको नेतृत्वमा रुपान्तरण भैसकेको छ । त्यो अवस्थामा नेकपा (एमाले)को विवादले तत्कालको देशको गणितीय हिसाब–किताबमा असर गरेपनि क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको भविष्यमा कुनै गुणात्मक असर गर्ने अवस्था छैन । नेकपा (एमाले) विभाजनपछि बन्ने माकुने नेतृत्वको पार्टी पनि एउटा ससदिय पार्टी मात्र बन्नेछ, क्रान्तिकारी पार्टी बन्ने छैन ।
नेकपा (मसाल)भित्र अहिले जुन मतभेदको अवस्था छ, त्यो नेकपा (एमाले)को जस्तो प्राविधिक र सामान्य कार्यनीतिक प्रश्नमा मात्र विवाद होइन । नेकपा (मसाल) भित्रको विवाद रणनीतिक प्रश्नमा नै छ । रणनीतिक विषयमा नै मतभेद भैसकेपछि कार्यनीतिमा मतभेद स्वभाविक बन्न जान्छ ।
नेकपा (मसाल)को आठौं महाधिवेशनले सु–स्पष्ट दक्षिणपन्थी संशोधनवादी कार्यदिशा अवलम्बन गरिसकेपछि पार्टी भित्रका क्रान्तिकारी नेता–कार्यकर्ताहरुले नेकपा (मसाल)को गौरवशाली इतिहासको निरन्तरताको लागि कैयौं अनुशासनका वार–बन्देजहरु तोड्नु स्वभाविक र जायज छ ।
जब एउटा सर्वहारा वर्गको पार्टीले क्रान्तिकारी विचारलाई परित्याग गर्दछ र संशोधनवादी विचार समात्दछ, त्यो अवस्थामा क्रान्तिकारी विचारधाराको रक्षाको लागि क्रान्तिकारीहरुले पार्टीको कानुनी वार–बन्देजहरु अनिवार्य तोड्नुपर्दछ र पार्टीलाई क्रान्तिकारीकरण गर्नुपर्दछ । यदि चलिआएको पार्टीलाई क्रान्तिकारीकरण गर्न नसकिएको अवस्थामा क्रान्तिकारी पार्टी निर्माणको अभियानलाई अगाडि बढाउदै क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गर्नुपर्दछ । नेकपा (मसाल)को पार्टी जिवनमा वर्तमान परिस्थितिमा त्यही स्थिती पैदा भएको छ । कि त मसाललाई क्रान्तिकारीकरण गर्नुपर्दछ कि त क्रान्तिकारी पार्टी निर्माणको लागि पार्टी पुनःगठन गर्नुपर्दछ ।
आज नेकपा (मसाल)मा जुन–जुन पार्टी सदस्यलाई कारवाही गरिएको छ, त्यो उक्त पार्टी सदस्यले अनुशासनको उल्लंघन गरेर होइन, आठौं महाधिवेशनमा चलेको फोरमको सिलसिलमा पार्टी नेतृत्वको दक्षिणपन्थी संशोधनवादी कार्यदिशाको विरुद्धमा आवाज ओकले कै कारणले कारवाही गरिएको छ । विश्वभरी रहेका नेकपा (मसाल)का पार्टी सदस्यहरुलाई चलाइएको त्यसप्रकारको कारवाही अभियानले मसाल नेतृत्वको दक्षिणपन्थी संशोधनवादी कार्यदिशालाई अल्पकालिन हिसाबले लागू गर्न त सम्भव होला तर क्रान्तिकारी विचारधाराको गतिलाई रोक्न भने सक्नेछैन ।
चुनावदेखि चुनावसम्मको कार्यक्रम, वर्गसंघर्षलाई सैद्धान्तिक, वैचारिक र व्यवहारिक रुपमै परित्याग, लेनिनवादी सङ्गठनात्मक प्रणालीको गलत प्रयोग र त्यसलाई पार्टी अनुशासनको तरबार बनाएर मसाल नेतृत्वले आज जुनप्रकारको दक्षिणपन्थी छलाङ मारिरहेको छ, त्यसले एकातिर मसालको गौरवशाली इतिहासमा कालो पोत्ने काम गरेको छ भने स्वयम् मसाल नेतृत्वको विगतको आफ्नै इतिहासको खिल्ली उडाइरहेको छ ।
परिवारवादलाई संस्थागत गर्न पार्टी निर्णयलाई मान्नैपर्छ, त्यो पार्टीको निर्णय हो भन्ने आधारमा जसरी आज पार्टीभित्र परिवारवाद, नातावाद र कृपावादको खेल चलाइएको छ, छलकपटको मट्ङग्रा वर्षाइएको छ, यो एउटा बुर्जुवा राजनितीक दलभन्दा पनि तल्लो स्तरमा गिरेर गरिएको छ । त्यसको पछिल्लो उदाहरण हो गण्डकी प्रदेशमा चलिरहेको सरकारको समर्थन कि अविश्वासको प्रस्तावमा समर्थन भन्ने विवाद ।
पार्टीले संसद उपयोगको नाममा रजत जयन्ती मनाएर उकालोलाग्दा एउटा बुर्जुवा राजनीतिक दलको स्तरभन्दा पनि तल झरेर संसदिय आहलमा रोमलिएको छ । एक सिट सांसद पद जित्न देशभरका निर्वाचन क्षेत्रहरु छाड्नु, प्रतिक्रियावादी शक्तीहरुसंग पनि मित्रशक्तीहरुसंग जस्तै चुनावी तालमेल गर्नु र पद–प्रतिष्ठाको लागि संसदिय आहालभित्र चुर्लुम्म डुब्नु वर्तमानको संयोग मात्र होइन, पार्टीमा लामो समयदेखि हुर्कदै आएको संशोधनवादको विस्फोटक परिणाम हो ।
वर्तमान परिस्थिति अत्यन्तै गम्भीर मोडमा उभिएको छ । एकातिर देशको अवस्था चिन्ताजनक छ भने क्रान्तिकारी आन्दोलनमा अभुतपुर्व धक्काहरु लागेका छन् । दक्षिणपन्थी संशोधनवादी थप मजबुत बन्दै जानू र क्रान्तिकारीहरु रक्षात्मक बन्दै जानू गम्भीर चिन्ताको विषय हो । यो अवस्थामा क्रान्तिकारीहरुले ठोस परिस्थितिको ठोस मुल्यांकनका साथ पार्टीको कानुनी वार–बन्देजहरुको घेराहरु तोडेर क्रान्तिकारी विचारधाराको रक्षा र विकास गर्नु अनिवार्य बनेको छ । एउटा क्रान्तिकारी पार्टी सदस्यले त्यसप्रकारको वार–बन्देज तोड्दा क्रान्तिकारी आन्दोलनको भविष्य सुनिश्चित हुन्छ र क्रान्तिकारी कार्यदिशाले गति लिन्छ भने त्यसको लागि त्यार हुनैपर्दछ । नेकपा (मसाल)को गौरवशाली इतिहासको रक्षा, दक्षिणपन्थी संशोधनवादको भण्डाफोर र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा एक कदम अगाडि बढ्नु नै मसाल भित्रका पार्टी सदस्यहरुको वर्तमानको अनिवार्य कार्यभार हो । यो वर्तमानले सुम्पेको जिम्मेवारी हो । यसले क्रान्तिकारी आन्दोलन भविष्यलाई विजयमा पु¥याउनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->