पोखरा, १५ बैशाख – गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएका छन्। प्रदेश सभाको विशेष अधिवेसनमा टेबल भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा बुधबार नै मतदान गर्ने कार्यसूची छ। मतदान गर्ने समयसम्म सांसद शाही अनुपस्थित भए अविश्वासको प्रस्ताव फेल हुन्छ। अविश्वास प्रस्ताव पास हुन ६० सदस्यीय प्रदेश सभामा ३१ मत पुर्याउनुपर्छ।
अविश्वास प्रस्तावमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले हस्ताक्षर गरेका छन्। उक्त प्रस्तावको पक्षमा मतदान गर्न ३ जना सांसद रहेको जनमोर्चा केन्द्रिय समितिले निर्देशन दिएको थियो। गण्डकीमा सरकार जोगाउन वा नया सरकार गठन गर्न जनमोर्चाको भुमिका निर्णायक छ।
प्रदेश सभामा सहभागी जनमोर्चाका सांसद यही सरकार निरन्तरता दिने पक्षमा थिए। पार्टी केन्द्रको निर्देशन अवज्ञा गर्नभन्दा बैठकमा सहभागी नभई सरकार जोगाउन सांसद शाही हराएको आशंका बढेको छ। शाहीका नीजि सचिव मिलन हमालले सांसद शाही स्वयम अचानक विरामी भएर पोखराको एक अस्पतालमा उपचार गराईरहेको वताए ।
बागलुङबाट प्रदेशसभाको उपनिर्वाचनमा तत्कालिन नेकपाको समर्थनमा विजयी सांसद शाहीको मोबाइल अफ छ। यसबारे जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले प्रतिक्रिया दिन चाहेनन् । कांग्रेस सांसद मेखलाल श्रेष्ठ, जनमोर्चा सांसद पियारी थापा र जसपाका सांसद धनमाया लामाले गाडी लिएर शाहीलाई खोज्न हिँडेका थिए । तर, कतै नभटेपछि उनीहरु रित्तोहात फर्किएका छन् ।
मनाङ ख बाट निर्वाचित स्वतन्त्र सांसद दिपक मनाङे भनिने राजिव गुरुङ पनि अनुपस्थित छन् । उनले आफुलाई स्वतन्त्र सिटको माग गर्दै आएका थिए र अविश्वासको प्रस्तावमा जनमोर्चाले जे गर्छ आफुले पनि त्यही गर्ने वताउदै आएको थिए ।





