पोखरा, १५ वैशाख – प्रदेशसभा चलिरहँदा सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही प्रदेशसभा स्थगित भएपछि चरक मेमोरियल अस्पताल पोखराको कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका छन् । यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ छ । प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । तर अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएको चरक मेमोरियल अस्पतालका निर्देशक कपिल पोखरेलले बताए । उनले भने, ‘हामीसँग कोरोनाका ४२ बिरामी छन्, उहाँ पनि एक हो ।’ प्रदेशसभामा नेगेटिभ आएको रिपोर्ट अस्पतालमा भर्ना हुदाँ कसरी पोजेटिभ भयो, सर्वत्र प्रश्न उठीरहेको छ ।
राष्ट्रिय जनमोर्चाको ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो । गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि शाही बिरामी भएको बताइएको छ । प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।





