तनहुँ, १६ बैशाख– शुक्लागण्डकी नगरपालिकामा न्यायिक समितिलाई सघाउने गरी नगरस्तरीय मेलमिलाप समाज गठन गरिएको छ । न्यायिक समाजमा आउने विवादलाई निरुपण गर्न सघाउने गरी समाज गठन गरिएको हो ।
समितिको संयोजकमा राजन रिमाल चयन हुनुभएको छ । १३ सदस्यीय समाजको सदस्यमा देवी खत्री, छविबहादुर खत्री, नवदत्त ढकाल, इन्द्रप्रसाद भट्टराई, विष्णुमाया आले र चित्रबहादुर हमाल छन् । बाँकी सदस्य पछि मनोनित हुनेछन् । नगरका १२ वटै वडालाई समेटेर समाज गठन गर्न लागेको उपमेयर एव न्यायिक समिति संयोजक सविता रसाइलीले जानकारी दिइन् । समितिमा रहेका सदस्य स्वतः वडामा गठन हुने मेलमिलाप समाजको संयोजक हुने उनले जानकारी दिइन् । समितिका सदस्य मेलमिलाप कर्ता हुन् । अब उनीहरुले वडामा आउने विवादलाई निरुपण गर्नेछन् ।
यस्तै राजन रिमालकै संयोकत्वमा ५ सदस्यीय सचिवालय समिति गठन गरिएको छ । सदस्यमा घनश्याम भट्टराई, संविधानसभा सदस्य रहेकी हसिना बेगम, विजय शर्मा र रामचन्द्र खनाल छन् । सचिवालय समितिले नगरको न्यायिक समितिमा आएका विवादको निरुपणमा सहजीकरण गर्नेछन् ।
दुवै समितिका सदस्यले ४८ घण्टे मेलमिलाप सम्बन्धी तालिम लिएका हुन् । मेलमिलापकर्तालाई अभिमुखीकरण तथा पुनतार्जगी तालिमको आयोजना गरी समाजको गठन गरिएको हो ।





