आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सांसद शाही प्रकरण: घटनाबारे छानविन गर्न ३ दलको माग

सांसद शाही प्रकरण: घटनाबारे छानविन गर्न ३ दलको माग


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७८, बिहिबार

पोखरा, १६ वैशाख – गण्डकीका ३ प्रमुख विपक्षी दलले राष्ट्रिय जनमोर्चा पार्टीका सांसद खिमविक्रम शाही ‘अचानक अस्पताल भर्ना भएको’ विषयमा छानविन गर्न माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले बिहीबार संयुक्त रूपमा विज्ञप्ति जारी गरेर सांसद शाही अस्पताल भर्ना भएको विषयमा छानविन गर्न माग गरेका हुन् ।
३ दलका संसदीय दलका नेताको हस्ताक्षरमा उनीहरुले सांसद शाहीलाई सुनियोजित रुपमा अस्पताल भर्ना गरिएको र कोरोना परीक्षण रिपोर्टमा समेत प्रश्न उठाएका छन् ।
‘जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट नेगेटिभ र करिब आधा घन्टाको फरकमा सार्वजनिक गरिएको रिपोर्टमा निजी ल्याबले पोजेटिभ देखाउनु अत्यन्त रहस्यमय र अस्वभाविक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एक व्यक्ति एउटै समयमा २ स्थानमा उपस्थित हुन कसरी सम्भव छ ? एक स्थानमा स्वाब दिइसकेपछि त्यही दिन अर्को स्थानमा स्वाब दिनुपर्ने कारण के प¥यो ?’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेस हुने भएपछि विधेयक अधिवेशन हठात् अन्त्य गर्नु, कोरोना परीक्षणको माग उठाएर सत्तापक्षले असंसदीय तरिकाले सदन अवरुद्ध गर्नु र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन माननीय खिमविक्रम शाही अस्वभाविक र रहस्यमय तरिकाले सदनमा अनुपस्थित हुनु तथा दलको सचेतकले निजलाई सार्वजनिक गर्नका साथसाथै जीवनरक्षाको समेत आग्रह गर्नुभएको शृंखलाबद्ध घटनाक्रमले हामीलाई दुखित र आश्चर्यचकित बनाएको छ ।’
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ:
                                                                           प्रेस विज्ञप्ति
गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेस हुने भएपछि विधेयक अधिवेशन हठात् अन्त्य गर्नु, कोरोना परीक्षणको माग उठाएर सत्तापक्षले असंसदीय तरिकाले सदन अवरुद्ध गर्नु र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन माननीय खीमविक्रम शाही अस्वभाविक र रहस्यमय तरिकाले सदनमा अनुपस्थित हुनु तथा दलको सचेतकले निजलाई सार्वजनिक गर्नका साथसाथै जीवनरक्षाको समेत आग्रह गर्नुभएको शृंखलाबद्ध घटनाक्रमले हामीलाई दुखित र आश्चर्यचकित बनाएको छ ।
यस सन्दर्भमा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने हामी ३ दलको धारणा सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।
१। लाइफकेयर डाइग्नोस्टिक प्रयोगशालामा २०७८ वैशाख १४ गते साँझ ४ बजे स्वाब दिएको भनेर रिपोर्ट आएको छ । जबकि त्यही समय माननीय खीमविक्रम शाही प्रदेश सभा परिसर नदीपुरमा स्वाब दिइरहनुभएको थियो ।
एक व्यक्ति एउटै समयम दुई स्थानमा उपस्थित हुन कसरी सम्भव छ रु एक स्थानमा स्वाब दिइसकेपछि त्यही दिन अर्को स्थानमा स्वाब दिनुपर्ने कारण के प¥यो रु
२। माननीय पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पिसिआर रिपोर्ट नेगेटिभ देखाउनु, तर करिब आधा घन्टाको फरकमा सार्वजनिक गरिएको रिपोर्टमा निजी ल्याबले पोजेटिभ देखाउनु अत्यन्त रहस्यमय र अस्वभाविक छ ।
३। २०७८ वैशाख १५ गते दिनको २ बजे फोनमा सम्वाद गरिरहनुभएको माननीय सोही दिन मध्यान्ह १२ बजे पार्टी, संसदीय दल र प्रदेश सभा सचिवालयलाई समेत जानकारी नगराइ आइसियुमा भर्ना गरिएको भनिएको अस्वभाविक कथन र पार्टीका नेताले भेट्न खोज्दा पनि अस्पताल प्रशासनले भेट्न नदिनु, दुव्र्यवहार गर्नु खेदजनक छ ।
स्वास्थ्यजस्तो मर्यादित क्षेत्रमा पनि आपराधिक प्रवृत्ति मौलाएको सर्वत्र आशंका गरिएको छ । चरक मेमोरियल अस्पताल र त्यहाँका जिम्मेवार चिकित्सकको व्यवहार गैरजिम्मेवार र अविश्वसनीय छ ।
४। माननीय खीमविक्रम शाही भर्ना भएको भनिएको चरक अस्पताल परिसरमा ठूलो संख्यामा सादा पोसाकमा सुरक्षाकर्मी परिचालित गर्नुको कारण रहश्यमय छ ।
५। सरकारका जिम्मेवार व्यक्तिहरुले माननीय सभामुखप्रति गर्नुभएको दुव्र्यवहार र धम्कीपूर्ण अभिव्यक्ति निन्दनीय र भत्र्सनायोग्य छ ।
६। माननीय खीमविक्रम शाही चरक अस्पतालमा पैदल प्रवेश गरेको सिसिटिभी फुटेजमा कैद दृश्यले मञ्चन गरिएको नाटकलाई पर्दाफास गर्ने भएका कारण त्यसको हार्डवयरमा समेत चलखेल गरिनुले यो योजनामा चरक अस्पताल समेत संलग्न रहेको देखिन्छ ।
७। प्रदेश सभा सदस्यको गरिमामय पदमा रहेको व्यक्तिको स्थिति अज्ञात भएको र तिनको जीवन रक्षाको पहल गरिदिन सम्बन्धित पार्टीले अनुरोध गर्दा पनि तत्कालै सो अवस्थाको सार्वजनिकीकरण नगरी, बन्दी बनाइएको आशंका गरिएको अस्पताल प्रशासनले पार्टीका जिम्मेवार नेताहरुलाई भेट्न नदिँदा समेत जिल्ला प्रशासन मौन, मुकदर्शक र किंकर्तव्यविमुढ हुनुले ठूलो तहबाट गरिएको नियोजित षढ्यन्त्रको सम्भावनालाई इंगित गरेको छ ।
८। प्रदेश सभा सदस्यहरुलाई विभिन्न टेलिफोन नम्बरबाट फोन गरी प्रलोभन दिने, धम्की दिने र उपरोक्त घटना अविश्वासको प्रस्तावसँग सम्बन्धित देखिनुले योजनाको सञ्चालकबारे प्रष्ट संकेत गरेको छ ।
हाम्रा मागहरु :
१। माननीय खीमविक्रम शाहीको पिसिआर रिपोर्टहरुको छानबिन गरी प्रयोगशालाहरुको विश्वसनीयताको जाँच गरियोस ।
२। चरक अस्पतालको सिसिटिभी हार्डवयरको जाँच गरी सम्पूर्ण फुटेजहरु सार्वजनिक गरियोस् ।
३। प्रदेश सभा सदस्यहरुलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानुनको कठघरामा ल्याई सभामुख र प्रदेश सभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरुको सुरक्षाको सुनिश्चितता गरियोस् ।
मिति: २०७८ वैशाख १६ गते बिहीबार

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->