
बागलुङ, २७ वैशाख– बागलुङमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङका ४७ बर्षिया संक्रमित पुरुषको धौलागिरी अस्पतालमा उपचारको क्रममा आईतबार राती मृत्यु भएको हो ।
वैशाख २० गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका उनलाई वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो । फोक्सोमा निमोनियाको संक्रमण र स्वासप्रस्वासमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको स्वास्थ्य कार्यालय बागलुङका कोेभिड स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिए । यो सँगै बागलुङमा मृत्यु हुने संक्रमितको संख्या १५ पुगेको छ ।
अस्पताल र चिकित्सकहरुले गरेको अथक प्रयासले पनि आफ्नो मामालाई बचाउन नसकिएको मृतकका भन्जाले बताए । ‘आईसोलेसन र सघन उपचार कक्षमा डाक्टर अभिषेक र परागको टिम निकै खट्नुभयो’ उनले भने ‘अक्सिजनको मात्रा मेन्टेन हुन नसक्दा मामालाई बचाउन सकिएन् ।’





