आइतबार २६ वैशाख । लामाचौर मध्यमपथमा आकस्मिक रक्तदान कार्यक्रम हुँदै थियो । उनी व्यस्त देखिन्थे । सबै रक्तदातालाई फोन घुमाउँदै थिए । रक्तदानमा आउन आग्रह गर्दै थिए । अनुहार अलि मलिन देखिन्थ्यो, किनकि कोरोना कहरको दोस्रो लहर आएसँगै सबैमा डर र भय बढेको थियो । तर, कार्यक्रमको अन्त्यसम्म १५ जना रक्तदाताहरु रक्तदानमा सरिक भए । उनको मुहारमा खुसी झल्किएको थियो । लकडाउनपछि पोखरामै यो पहिलो रक्तदान कार्यक्रम थियो । आज मात्र हैन, लकडाउन कै समयमा पनि उनी व्यस्तै छन्, रक्त व्यवस्थापनमा । रक्तदाताहरु खोजेर ब्लड बैंक पुग्छन्, रक्तदान गराउँछन् अनि बिरामीलाई नयाँ जीवन दिन्छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका बाबजुद रक्त व्यवस्थापनमा अहोरात्र खटिने उनै हुन्, जितेन्द्र मान शाक्य ।
आजको दिनसम्म उनले ७२ औं पटक रक्तदान गरिसकेका छन् । रक्तदान मात्र हैन, अहिलेसम्म हजारौंलाई रक्त व्यवस्था गराएर नयाँ जीवन दिलाएका छन् उनले । पहिलो लकडाउन अवधिभरमात्र करिब ५० भन्दा बढीलाई रगत व्यवस्था मात्र गराएनन् उनले, १५ भन्दा बढी आकस्मिक रक्तदान कार्यक्रममा सहभागी भएका थिए । सबैलाई सुरक्षित तबरले रक्तदान गर्न हौसाउँछन् उनी । उनले ७२ औं पटक रक्तदान गरेको सुनाउँदा सबै जना जिब्रो टोक्थे । अनि धेरै जना साहस बटुलेर पहिलो पटक रक्तदान पनि गर्थे । लकडाउनले उनको सक्रियतालाई सुस्ताउन सकेन । अझ थप उर्जा थपेको आभाष हुन्छ उनलाई । कहिले रगत जुटाउन हस्पिटल पुग्छन् त कहिले ब्लड बैंक । दिन होस् या रात, घाम वा पानी केहीले छेक्दैन उनलाई । उनको यो परोपकारी सेवालाई केहीले बाधा पुग्नेवाला छैन ।
निःस्वार्थ भावनाले यस कार्यमा अहोरात्र लागि परेकाले उनले भने, ‘कोरोना कहरको दोस्रो लहरलाई मध्यनजर गर्दै पोखरामा अहिले लकडाउन घोषणा भएको छ । यस समयमा पनि पोखरामा दैनिक ६० देखि ७० युनिट रगतको माग हुन्छ । निर्धारित सबै रक्तदान कार्यक्रमहरु रोकिएका छन् । प्राय मानिसहरु कोरोनाको डर र भयले रक्तदान गर्न डराउँछन्, जुन यथार्थ पनि हो । त्यसैले हामी ब्लड बैंकसँग सहकार्य गर्दै टोलटोलमै सबै सुरक्षाका मापदण्डहरु अपनाएर आकस्मिक रक्तदान कार्यक्रममा जुटिरहेका छौं ।’
नेपाल स्वयंसेवी रक्तदाता समाज । रक्त व्यवस्थापनमा नेपालमै अग्रणी स्थानमा रहेको एक परोपकारी संस्था । पोखरा शाखाका अध्यक्ष हुन् उनै शाक्य । पोखरामा जबजब रक्त अभाव हुन्छ, तब ब्लड बैंक समेत यसै संस्थालाई सम्झन्छन् । हरेक नेपालीले रगत चाहिँदा सजिलै पाउनु पर्ने अधिकार रहेको बताउँदै उनले भने, ‘रक्त अभावले हामी कुनै नेपालीको ज्यान जान दिदैनौं । यो हाम्रो संस्थाको संकल्प हो । हाम्रो संस्थाका हरेक सदस्यहरु यस कार्यमा सक्रियताका साथ लागेका छन् । करिब १०० भन्दा बढी सदस्यहरु छन् हाम्रो संस्थामा । सबैलाई रक्त व्यवस्थापनका लागि आ–आफ्नो कार्य क्षेत्र विभाजन गरिएको छ । समयसँगै हामी कास्की जिल्लालाई मात्र नभई सिंगो नेपाललाई नै रक्त अभावमुक्त घोषणा गराउने संकल्पका साथ अघि बढ्दै छौं ।’
वि.सं. २०५५ सालमा प्रथम पटक रक्तदान गरेका थिए उनले । उनी आफ्ना स्व. दाई विर्जुमान शाक्यलाई प्रेरणाका स्रोत ठान्छन् । अहिले भने उनी स्वयं सयौंका प्रेरणाका स्रोत बनेका छन् । उनी रगत मात्र दिदैनन्, कैयौंलाई रक्तदान गर्न प्रेरित गर्छन् । रक्तदानको महत्व दर्साउँछन् । अनि यस्तो पुण्य कार्यमा हजारौंलाई सरिक गराउँछन् ।
यसरी निरन्तर २३ वर्षदेखि रक्तदान र रक्तव्यवस्थापन कार्यमा जुट्न केले प्रेरणा दियो भन्दा उनले विगतको एक घटनालाई सम्झँदै भने, ‘घटना २०५६ सालको थियो । गण्डकी अस्पतालमा एक जना सुत्केरी महिलालाई तुरुन्त ए पोजेटिब रगत चाहिएको थियो । अहिलेको जस्तो धेरै रक्तदाताहरु पनि थिएनन् त्यो समय, न त रक्तदान गर्ने कल्चरकै विकास भएको थियो । मैले ब्लड बैंकमा गएर जीवनको दोस्रो पटन रक्तदान गरको थिए । सुखद पक्ष उनको अप्रेशन पनि सफल भयो । केही दिनपछि अस्पतालबाट डिस्चार्ज हुँदा उनीहरुले मलाई फोन गरेर सम्झेका थिए । अस्पतालमा पुगेर बिदा हुँदा हँसिलो आमा र बच्चाको मुहारले मलाई छुट्टै आत्म सन्तुष्टि मिलेको थियो । त्यसै दिन मैले मनमनै संकल्प गरे, म आजीवन यसै कार्यमा प्रतिबद्ध भएर लाग्नेछु ।’
त्यसपछि उनी यसैमा सक्रिय हुन थाले । रमाउन थालेँ । दिन, महिना, वर्ष बित्दै आज २३ वर्ष यसै काममा निरन्तर लागिरहेका छन् । यसबाट उनलाई न कुनै तलब मिल्छ, न भत्ता । उल्टै रक्तदाता खोज्न उनी मासिक दुई चार हजार फोनमै खर्च गर्छन् । बस् ! उनलाई मिल्ने भनेको केबल आत्म सन्तुष्टि न हो । रक्तदातालाई ब्लड बैंक आफ्नै बाइकैमा पु¥याउँछन् । ७० औं पटक रक्तदान गरिसकेका शाक्य आज कास्की जिल्लाकै सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिका रुपमा चिनिन्छन् । उनले गरेको अतुलनीय योगदानलाई कदर गर्दै नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रेडियो अन्नपूर्ण, राइजिङ स्टार युथ क्लब लगायत विभिन्न सघं सस्थाले सम्मान गरिसकेका छन् । अनि कैयौंका माया अनि साथ बटुलेका छन् । यसले उनको लामो सफरमा थप उर्जा थपिदिएको छ । र त निरन्तर कुदिरहेका छन् उनी ।
हरेक घर नै ब्लड बैंक ठान्छन् उनी । उदाहरणका लागि उनको आफ्नै घर । उनीसँगै श्रीमती, छोरा, छोरी, दाई, भाउजु अनि भजित सबै तीन तीन महिनामा नियमित रक्तदान गर्छन् । नेपालमा रक्त अभाव नभई रक्त व्यवस्थापनमा कमजोर भएको बताउँदै उनले भने, ‘हामी सबै १८ वर्ष उमेर पुगेकाहरु रगतको भण्डार हौं । अनि कसरी हुन्छ रक्त अभाव ? समस्या व्यवस्थापनको पाटो हो । अझै धेरै मानिसहरुमा रक्तदान गर्दा कमजोर भइन्छ, विभिन्न रोगहरु लाग्छन् भन्ने गलत मानसिकता बोकेर हिडिरहेका छन् । हामी त्यही मानसिकता हटाउन विभिन्न स्कुल, कलेजहरुका विद्याथीहरु माझ विभिन्न चेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेका छौं ।’
रक्तदाताहरुको तथ्यांक राख्ने फरक शैली अप्नाउँछन् उनी । हरेक रक्तदाताको नाम, मोबाइल नम्बर, पछिल्लो रक्तदान गरेको मिति उनी मोबाइलमा सेभ गरेर राख्छन् । रक्तदाताहरुको लिस्ट पनि सुरक्षित मोबाइलमै रहन्छ उनको । सबै सदस्यहरुमा यही तरीका लागू हुन्छ । यसो गर्दा रक्त व्यवस्था सजिलो र छरितो त हुन्छ नै, साथै सबैको तथ्यांकहरु सुरक्षित रहन्छन्, उनले थपें, ‘हामीले पनि कम्तिमा आफ्ना साथी भाई, आफन्तको नम्बर यही अनुसार सेभ गर्न सक्छौं । केही नभए कम्तीमा आफ्नो ब्लड ग्रुपको ८÷१० जना मानिसहरुको तथ्यांक राख्न जरुरी हुन्छ । यसो गर्दा हामी आफैँले आफ्नो समूहको रगत आफैं व्यवस्था गर्न सक्छौं । सबैले यसो गर्न सकियो भने त रक्त अभाव हुने कुरै भएन नि ।’
गहुँगोरो अनि हँसिलो चेहरा । अग्लो कद । साइकलको जर्सी, हाफ पाइन्ट अनि साइकलकै हेल्मेट । यहीँ हुलियामा उनलाई हरेक बिहान पोखरा वरिपरिका डाँडामा भेटिन्छन् । रक्तदान सम्बन्धी सन्देश बोकेर नेपालका कुनाकन्दरा साइकलमै पुग्छन् । नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुवारी यही सन्देश बोकेर साइकलमै पुगेका थिए । बन्दीपुर, घलेगाउँ, मिलिनियम पदमार्ग, बारपाक, सिन्धुली, पाल्पा, स्वरेक, सिन्धुली, लुम्बिनी साइकलमै घुमेँ । हरेक नयाँ ठाउँको जनजीवन, भाषा, आत्मीय स्वागत अनि आतिथ्यताले उनलाई लोभ्याउँछ । त्यसैले त फर्की फर्की त्यही पुग्छन् उनी । यथार्थमा नेपाल बुझ्न साइकल नै गतिलो माध्यम ठान्ने उनी पाँच वर्ष अघि विश्व साइकलयात्री पुष्कर शाह, तीर्थराज अवस्थी, लोक थापा लगायतको टोलीसँग धरान टु सिक्किम, दार्जलिङ पुगेको दिनहरु अझै ताजै स्मरण गर्छन् ।
साइकल सिटी पोखराका पूर्व अध्यक्ष पनि हुन् शाक्य । आफ्नो कार्य कालमा पोखरामा साइकल प्रवद्धनमा उनले पु¥याएको योगदान अतुलनीय छ । हरेक शनिवार टोली बनाएर पोखरा वरपरका डाँडाकाडा पुग्थे । फुर्सदमा अरु जिल्लाहरु समेत टोली लगेरै पुग्थें । साइकल लेन अनि साइकल सम्बन्धीका मुद्दाहरु माथि आवाज उठाउँछन् । पोखरालाई नेपालकै पहिलो साइकलमैत्री शहर बनाउनु पर्छ भन्ने पक्षमा उनी निरन्तर लागि परिरहेका छन् । साइकलमै ग्रामीण पर्यटन प्रवद्धनमा पनि उनी लागें । साइकल र रगतको सम्बन्धलाई जोड्दै उनले भने, ‘एउटा मानिस रक्तदान गर्नका लागि पहिला ऊ स्वस्थ हुनु जरुरत हुन्छ । व्यायम र स्वस्थ रहन साइकल जस्तो राम्रो माध्यम अरु कुनै हुनै सक्दैन । त्यसैले म साइकल चढ्दै रक्तदान सम्बन्धी जनचेतनामा पनि लागें ।’
आम मानिसहरु रक्तदान गरेर कमजोर भइन्छ भन्ने मानसिकतालाई चिर्न उनी हरेक पटकको रक्तदान पश्चात ५० देखि १०० कि.मी साइकल कुदाउँछन् । उनले दुई वर्ष अघि ६२ औं पटकको त्यो पृथक रक्तदानको क्षणलाई यसरी स्मरण गर्छन्, ‘काठमाडौैं ब्लड बैंकमा मैले त्यस दिन बिहानै रक्तदान गरेर ५ घण्टामा १०० कि.मी. साइलक चलाए । गन्तव्य स्थान थियो भोटेकोसी लास्ट रिसोर्ट । अनि त्यही दिन बन्जी गरें । ब्लड डोनेसन, बाइसाइक्लिङ र बन्जी एकैदिनमा गरेर मैले नेपालमै फरक रेकर्ड कायम गरे । यो विश्वकै इतिहासमा पहिलो चोटि पनि हो,’ खुसी मुद्रामा उनले थपे, ‘एउटा नेपालीको छोरो भएको नाताले यसो गर्दा बिरामीले रगत पायो, मैले सन्तुष्टि र स्वास्थ्य पाएँ अनि देशले फरक साहसिक पर्यटन पायो ।’
सित्तैमा रक्तदाताले दिएको रगत बिरामीले पैसा तिरेर किन्न पर्ने तीतो यर्थाथता अझै विद्यमान छ । अझ अस्पतालै पिच्छे फरकफरक मूल्य तोकिएको छ रगतको । उपचार खर्च जुटाउन धौ धौ हुने बिरामीले हजारौं रुपैँया तिरेर रगत किन्नु पर्दा उनको मन मान्दैन । लामो समय यसै सामाजिक कार्यमा जीवन बिताएका उनले भने, ‘हाम्रो संस्थाले यस विषयमा निरन्तर आवाज उठाइरहेको छ । सरकारले यसलाई समयमै ध्यान दिनेछ भन्नेमा हामी विश्वस्त छौं । रगतको पैसा बटल्नुभन्दा बरु सकिन्छ भने उल्टै गरिब र निमुखालाई केही रकम सहयोग गर्न सकियो भने सुनमा सुगन्ध हुन्छ ।’
सामान्य कार्यहरु पनि फरक तरिकाले गर्ने सामान्य मानिस हुन् शाक्य । तर उनले देख्ने सपनाहरु आम मानिसको भन्दा फरक छन् । आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि भन्दा नि आम जनता र देशको लागि जीवन सुम्पेका छन् उनले । रक्तदानलाई धर्म र साइकललाई आफ्नो कर्म ठान्छन् उनी । साइकल, रक्तदान र स्वास्थ्यका विषयलाई उठान गरेर निरन्तर लागिपरेका शाक्यको एउटै सपना छ, सिंगो नेपाललाई नै रक्त अभावमुक्त घोषण गर्ने । सबै मिलेर अगाडि बढ्न सकियो भने उनले देखेका सपना हामी सबैका विपना अवश्य बन्छ नै । यस्ता प्रेरणदायी मानिसको पदछापहरुलाई पछ्याउदै हामी सबै अघि बढ्नुपर्छ । अनि मात्र सम्भव छ, एउटा सभ्य र परिष्कृत समाज । त्यसैले त उनी गर्वका साथ भन्छन्, ‘कसैलाई नेपालको कुनै ठाउँमा रगत चाहियो भने ९८४६०५०१५० मा कल गर्नुस, रगतको व्यवस्था गर्ने जिम्मा मेरो ।’





