बागलुङ, २८ वैशाख– बागलुङको जैमिनी नगरपालिका–१ की एक महिलाको केही महिना पहिला चितवनमा मृत्यु भयो । कोरोना महामारी सुरुभएपछि उपचारको क्रममा मृत्यु भएकी उनको शव परिवारले आफ्नै घाटमा ल्याएर दाहसंस्कार गर्न पाएन । परिवारले चाहेका भएपनि साधनको अभावका कारण परिवारको इच्छा पुरा भएन । उनमा कोरोनाको संक्रमण भएको भने होईन ।
चितवनकाबाट शव वहानमा बागलुङ ल्याउँदा महंगो शुल्क तिर्नुपर्ने भएकाले परिवारले गृह जिल्लामै शव वहनको खोजी गरे । तर बागलुङमा कहिँकतै शव बहनको व्यवस्था छैन् । नीजि सवारी सधानले शव बोक्न नमानेका कारण बाध्य भएर नारायणी किनारमा दाहसंकार गर्नुपरेको मृतकका आफन्त बताउँछन् । बागलुङमा शव बहान नहुँदा सर्वसाधारणले भोकेको यो नयाँ घटना भने होईन् ।
पोखरा, काठमाण्डौ लगायतका शहरका अस्पतालहरुमा उपचारको क्रममा मृत्यु हुनेको शव वहान नभएकै कारण परिवारले उतै दाहसंस्कार गर्ने गरेका छन् । केहीले नीजि सवारी साधनको प्रयोग गरेर आफ्नै घाटमा ल्याउने गरेका भएपनि ती सववारीले चर्को शुल्क लिने गरेका छन् । ‘शव बोकेको थाहा पाए पछि कोही चड्नै मान्दैनन्’ एक पिकअप व्यवसायीले भने ‘चालकले समेत शव बोकेको छुट्टै शुल्क लिन्छन्, व्यवसायनै चौपट हुन्छ ।’
शव बहान नभएका कारण धेरैले सास्ती खेप्दै आएका छन् । कोरोना महामारीको समयमा शव बहान नहुँदा संक्रमित भएर मृत्यु हुनेहरुको शव व्यवस्थापनमा झन ठुलो चुनौती छ । चार जिल्लाका बिरामीको उपचार गर्ने धौगिरी अस्पताल बागलुङले ६ महिना पहिलेबाट शव बहान खरिदको काम सुरु गरेको हो । नेपाल सरकारको सहयोगमा सुरु गरिएको शव बहान खरिदको प्रक्रिया मन्त्रालयमा पुगेर अल्झिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले बताए । ‘सरकारी प्रक्रिया न हो के के मिलेन भनेर रोकिएको छ’ राना भन्छन् ‘यहाँ संकट छ, त्यो बिधिले नबुझ्दो रहेछ ।’
कोरोना संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापनमा शव बहानकै कारण बिलम्व हुन थालेपछि अस्पतालले अस्थाई शव बहान सञ्चालनमा ल्याउने तयारी थालेको छ ।
बागलुङ नगरपालिकाले अस्थायी शव बहानका लागि बजेट उपलव्ध गराउने भएपछि अस्पतालले शव बहान सञ्चालनको तयारी थालेको हो । ‘हामीले तीन महिनाका लागि साढे चार लाख रुपैयाँ उपलव्ध गराउने भनेर लेखि पठाएका छौं’ नगर प्रमुख जनकराज पौडेलले भने ‘तीन महिनासम्म त खरिद प्रकृयामा रहेको शव बहान पनि आउला ।’
स्थानीय व्यवसायीको सवारीलाई भाडामा लिएर अस्पतालले अस्थायी शव बहान सञ्चालन गर्ने छ । अस्थायी रुपमा सञ्चालनमा ल्याएको भएपनि जिल्लाभर सहयोग पुग्ने पौडेलले बताए । तत्काल समस्या टारेर आउने चुनौती सामना गर्न अस्पतालसँगै रहेको पौडेलले बताए ।





