तनहुँ, ३० वैशाख– कोरोनाको दोस्रो लहर युके भेरियन्टको संक्रमणलाई रोक्न देशका प्राय जिल्लामा निषेधाज्ञा लागु गरिएको छ । तनहुँमा बैशाख २२ गते रातीदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाले जिल्लाका बजार क्षेत्र सुनसान छ । उद्योगधन्दा खुलेका छैनन् ।
सडकमा अत्यावश्यक बाहेकका सवारी हुइँकिएका छैनन् । सार्वजनिक सवारी नचल्दा नियमित अस्पताल पुग्नुपर्ने दीर्घ रोगी मारमा छन् । अझ हप्तामा २÷३ पटक डायलासिस गराउनुपर्ने मृगौलाका बिरामीलाई मंहगोे शुल्क तिरेर पोखरा र दमौली धाउनुपर्ने बाध्यता छ ।
आर्थिक संकलन गरेर उपचार गराइरहेका मृगौलाका बिरामीलाई निषेधाज्ञामा कसरी अस्पातलसम्म पुग्ने खर्चको जोहो गर्ने चिन्ता बढाएको छ । मृगौला रोगीको समस्यालाई मध्यनजर गर्दै शुक्लागण्डकी नगरपालिकाले आफ्ना दुई वटा गाडी निशुल्क उपलब्ध गराउने भएको छ ।
उपमेयर सविता रसाइलीले चढ्दै आएको ग १ झ ८४९७ नम्बरको गाडी र नगरपालिकाको पुरानो हाल योजना अनुगमनका लागी बढी प्रयोग गरिने ग १ झ २६७ नम्बरको सरकारी गाडीले डायलासिस गराउनलाई अस्पताल लैजान र ल्याउन मृगौलाका बिरामीलाई बोक्नेछ ।
यी २ सवारीले महामारीको अवधिभर दमौली र पोखरामा डायलासिस गराउन जाने बिरामीलाई बोक्ने उपमेयर रसाइलीले बताईन् । सहज स्थिति नभइन्जेल मृगौलाका बिरामीको डायलासिस गराउन अस्पताल पु¥याउने काममा नगरपालिकाकै गाडी प्रयोग हुने उनको भनाइ छ ।
‘यो महामारीको बेला नगरबासी मृगौलाको बिरामी डायलासिस गराउनबाट बञ्चित हुनु पर्दैन्’, उनले अगाडि थपिन्, ‘बरु हामी हिँडेरै भएपनि जनताको सेवा गर्छौँ ।’ शुक्लागण्डकी नगरपालिकामा मेयर, उपमेयर, प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्ने १÷१ सहित ४ वटा सरकारी गाडी छन् ।
गत वर्ष पहिलो चरणको कोरोना फैलिएको बेला पनि शुक्लागण्डकी नगरपालिकाले मृगौलाका डायलासिस गराउने बिरामीलाई एक पटकको १ हजार रुपैयाँका दरले यातायात खर्च उपलब्ध गराएको थियो । गत बर्ष मृगौलाका बिरामीलाई डायलासिस गराउनलाई २ लाख १८ हजार रुपैयाँ यातायात खर्च वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बताए ।
यो वर्ष कोरोनाकै कारण आर्थिक स्रोतको अभाव भएपछि नगरपालिकाका २ वटा सरकारी गाडी मृगौला पिडितको डायलासिस गराउन लाने लैजाने प्रायोजनमा प्रयोग गरिएको उनले जानकारी दिए । उनका अनुसार बुधबारदेखी डायलासिस गराउने बिरामी बोक्न थालिएको छ ।
नगरपालिकाले यहाँका १२ वटै वडामा मृगौलका बिारमीको तथ्याङ्क संकलन गरेको छ । वडा कार्यालयमार्फत संकलित तथ्यांक अनुसार बुधबारसम्म २१ जना मृगौलाका बिरामी सम्पर्कमा आएका छन् ।





