सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

देउवालाई प्रधानमन्त्री बनाउनकै लागि सामुहिक राजिनामा

देउवालाई प्रधानमन्त्री बनाउनकै लागि सामुहिक राजिनामा


  • दुर्गा भण्डारी
  • बैशाख ३० २०७८, बिहिबार

देउवालाई प्रधानमन्त्री बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समाजवादी जनता पार्टीका बाबुराम भट्टराई, उपेन्द्र यादव र एमालेका खनाल नेपाल समुहका माधवकुमार नेपाल लगायतका नेताहरु अहिले जोडतोडले लागेका छन् । एमालेविरुद्धको गठबन्धनसँग सरकार बनाउन सक्ने प¥याप्त मत आउन सक्ने अवस्था नभएपछि एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाल बलिको बोको बन्ने भएका छन् । जसपाको एउटा खेमा महन्त ठाकुर र राजेन्द्र महतोले यो गठबन्धनमा साथ नदिने भएको छ । यो गठबन्धनमा जसपाको एउटा खेमाको साथ नपाउने अवस्था भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुलाई साथ दिन एमाले नेता माधवकुमार नेपालले यसो गरेका हुन् । उनले एमालेका २० जना प्रत्यक्ष तर्फका सांसदहरुलाई सामुहिक राजिनामा गर्न लगाएका छन् । मुखले पार्टी एकताको पक्षमा भन्ने तर व्यवहारमा पार्टी फुटाउन लाग्ने, माधवकुमार नेपालको चरित्र उदाङ्गो भएको छ । नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्ना सांसदहरुलाई बलिमा चढाउने काम गरेका छन् । नेता माधवबहादुर नेपालले आफ्नो पक्षका सांसदहरुलाई सामुहिक रुपमा राजिनामा गर्न लगाउनु जनमतको अपमान पनि हो । यो घटना नेपालको राजनैतिक इतिहासमा पहिलो पटक भएको लज्जाजनक घटना पनि हो । असन्तुष्ट नेता माधवकुमार नेपालको इगोका कारण पार्टी विभाजन हुने भएको छ । १५ वर्षसम्म एमालेको महासचिव भएर बसेका नेता नेपाल सत्तालिप्साको कारण केपी ओली नेतृत्वको सरकार बनेकै दिनदेखि गिराउने षडयन्त्रमा लाग्दै आएका थिए । माओवादी अध्यक्ष प्रचण्डको साथले नेकपाको अध्यक्ष र प्रधानमन्त्रीबाट हटाएर पार्टी कब्जा गर्ने योजना असफल भएपछि अहिले आफु लगायत आफ्ना पक्षका सांसदहरुलाई राजीनामा गराएर कांग्रेस नेतृत्वको सरकार बनाउन लागेका छन् ।
माधवकुमार नेपाल लगायत उनी पक्षका सांसदहरुलाई एमालेले कारवाही पनि गरेको थिएन । आफ्नो निर्णय गर्न स्वतन्त्र छोडिएको थियो । माधवकुमार नेपाल पक्षले राजीनामा नगर्दासम्म देउवा प्रधानमन्त्री बन्न सक्ने अवस्था नभएपछि एमालेविरुद्धको मोर्चामा बहुमत पु¥याउनका लागि यो पक्षले राजीनामा गर्न लागेको हो । आफ्नो घर डढाएर आगो ताप्ने प्रवृति माधवकुमार नेपालमा देखियो । माधवकुमार नेपालको प्रबृतिका कारण एमालेभित्रको आन्तरिक राजनीति खलबलिएको छ । माधवकुमार नेपाललाई आफु नेतृत्वमा हुँदा सबैले साथ दिनुपर्ने, निर्वाचनमा हार्दा पनि प्रधानमन्त्री बन्नु पर्ने, उनी प्रधानमन्त्री भएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग प्रतिकार गर्नुपर्ने, एमालेका कार्यकर्ता माओवादीबाट मारिँदा, कुटिँदा पनि नेतृत्वमा भएका नेपाल चुईक्क नबोल्ने स्वार्थी प्रबृति देखियो । पार्टीलाई धरासायी बनाएका, लिंग नछुट्टिएको पार्टी भनेर उपनाम पाएको माधवकुमार नेपाल नेतृत्वमा हुँदा नै हो । विगतमा पनि नेता नेपालले पार्टी फुटाएर नेताहरुलाई कारवाही गरेर धेरै कार्यकर्ताको मन माओवादीमा लाग्न बाध्य पारेको नेताहरु बताउछन् । अहिले पनि नेता नेपालको आफ्नो इगोको पछि लागेर सामुहिक राजीनामा गर्नेहरुको राजनैतिक भविष्य त्यति सहज हुने देखिँदैन । अहिले सामुहिक रुपमा राजीनामा गर्नेहरु फेरी मतदाताको के भनेर भोट माग्न जाने । माधवकुमार नेपाल लगायतका नेताहरुको यो अन्तरघाती काम निन्दनिय छ । यो घटनाक्रमले उनि पार्टीको नेतृत्व गर्न लायक नभएको पनि प्रष्ट भएको छ । पार्टीभित्र जस्ता सुकै उतार चडावहरु आइरहन्छन् तर त्यसको सामना गर्न छोडेर पार्टी फुटाउने हक उनलाई कतापी छैन । कोरोनाको महामारीको बीचमा नेता नेपालको अर्धयताको कारण राजनैतिक अस्थिरताको खेल सुरु गराइयो । राष्ट्रिय सरकार बनाउने खेल मात्रै होइन प्रदेश सरकारहरुलाई पनि अस्थिर बनाउने खेलको सुरुवात भएको छ । जसले संसदीय शासन प्रणली नै विकृत बन्दै गएको छ । यो राजनैतिक प्रणालीको विकल्प खोज्नु पर्ने भएको छ । नेपालको दुर्भाग्य कुनै दलले बहुमतको सरकारले पुरा अवधि चलाउन पाएको छैन । अहिले अर्काको घर बिर्गान उकास्ने देउवा प्रचण्ड, माधव प्रवृतिले कहिल्यै पनि राजनैतिक स्थिरता ल्याउन सक्दैन । राजनैतिक अस्थिरता रहि रहेसम्म विकास र समृद्धि आउन सक्दैन । जनताले विपक्षमा बस्ने मत दिएको राजनैतिक दलहरुले छलकपट गरेर सांसद चोरेर सरकार बनाउनु राजनैतिक संस्कार होइन । यो प्रणाली नै बद्नाम गराउने काम हो । आफ्नो पौरखले गर्न नसक्नेहरु, छलकपट गर्ने नेताहरुबाट राजनैतिक संस्कारको विकास नहुने देखिएको छ । उच्च राजनैतिक संस्कारको विकास गर्न जरुरी देखिएको छ ।
एमाले मै बसेर माधवकुमार नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीेलाई विश्वासको मत त दिएनन् नै यो समुहले सामुहिक राजीनामा गरेर अर्को ठूलो विश्वासघात पनि गरेका छन् । कांग्रेस गठबन्धनको सरकार बनाउन मत नपुगेपछि राजीनामा गरेर भएपनि संसदबाट बहुमत पु¥याउन सजिलो बनाई दिएको छ यो समुहले । माधवकुमार नेपाल समुहले राजीनामा नगरेको अवस्थामा फेरि पनि केपी ओलीको नेतृत्वमा सरकार बन्ने अवस्था रहन्थ्यो । संविधानको धारा ७६ (२) अनुसार ‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछ’ भन्ने उल्लेख छ । काग्रेस गठबन्धनले संविधानको धारा ७६ (२) को व्यवस्था अनुसार सरकार बनाउन लागेको देखिन्छ । संविधानमा एउटै धाराको प्रयोग दुईपटक गर्न पाउने व्यवस्था पनि छैन । तर यो गठबन्धनले संविधानमा नभएको व्यवस्थाको प्रयोग गरिरहेका छन् । यो एउटा संवैधानिक जटिलताको बिषय पनि हो । सरकार निर्माणको अवको प्रक्रिया भनेको संविधानको धारा ७६ (३) अनुसार हुनुपर्ने हुन्छ । संविधानको धारा ७६ (३) मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा २) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढि सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने व्यवस्था छ । संविधान भएको यो व्यवस्था अनुसार दलहरुले अव संविधानको धारा ७६ (३) अनुसारको प्रक्रियामा जानुपर्ने हुन्छ । वर्तमान सरकार संविधानको धारा ७६ (२) को हो । यो सरकारले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा ठूलो दलले सरकार बनाउने भन्ने व्यवस्था छ । आफुलाई संविधान र विधिको शासन अनि लोकतन्त्रका हिमायती भनेर ढोल पिट्नेहरुले संविधानमा नभएको २ पटक एउटै धाराको प्रयोग गर्न लागेको देखिन्छ । सत्ता प्राप्तिका लागि जस्तोसुकै हर्कत गर्न सांसद अपहरणदेखि खरिदबिक्री, राजीनामासम्मको प्रकरण गर्नु गैरलोकतान्त्रिक र असंवैधानिक प्रक्रिया हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->