
तनहुँ, ३१ वैशाख– असोजको अन्तिम साता व्यास नगरपालिकालाई रोटरी क्लबले पीसीआर मेसिन उपहरा स्वरुप हस्तान्तरण ग¥यो । कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला उपहारमा पाएको मेसिनले पीसीआर परिक्षणमा सहजता हुने तमाम जिल्लावासीको आशा थियो । बिस्तारै संक्रमणदर घट्यो । हप्तांैसम्म पोखराका प्रयोगशालामा पठाएको स्वाबको रिपोर्ट दुई–तीन दिनमा आउन थाल्यो । त्यसपछि व्यासले पाएको पिसीआर मेसिन स्टोरमै थन्कियो ।
अहिले कोरोनाको दोस्रो लहर तीब्र गतिमा फैलिएको छ । तनहूँमा पनि संक्रमणदर दैनिक बढिरहेको अवस्था छ । तैपनि व्यासले पाएको पीसीआर मेसिन सञ्चालनमा आउने छाँट देखिन्न । दाताले दिएको मेसिन पाएको आधा वर्ष बित्दासमेत सञ्चालन गर्न नसकेपछि व्यास नगरपालिकाको आलोचना हुन थालेको छ । तर, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने तुरुन्तै सञ्चालन गर्न नसकिने बताउँछन् । मेसिन सञ्चालन व्यासको काबुमा नरहेको उनी स्वयं स्वीकार्छन् ।
उनी भन्छन्,‘मेसिन जडान गर्न प्रयोगशाला भवन अलग्गै चाहिने रै’छ । त्यसपछि अहिले हामीसँग भएको जनशक्तिभन्दा उच्चस्तरको जनशक्ति सिफ्टवाइज खटाउनुपर्ने देखियो । एक घण्टा अर्थात् एकपटकमा जम्मा ८ जनाको मात्रै पीसीआर हुनसक्ने भन्ने अवस्था भएपछि व्यवस्थापन गर्ने प्रयत्न पनि ग¥यौँ । जडान गर्दा नै ५० लाखको हाराहारीमा खर्च लाग्ने भएपछि भएपछि आर्थिक स्रोतको समस्या भयो । मेसिन लिन त लियौँ तर अहिले तुरुन्तै जडान गर्ने क्षमता हामीमा भएन् ।’
उनले बाढीपहिरोका कारण करिब ३–४ करोडकै नोक्सानी भएकाले पीसीआर मेसिन सञ्चालन गर्न नसकिएको उनले सुनाए । जिल्लाका जुनै हस्पिटलले लिन चाहे हस्तान्तरण तयार रहेको उनको भनाई छ । ‘दमौली र जीपी हस्पिटलसँग पनि कुरा भएको थियो । हस्पिटलले पनि लिन मानेन् । पीसीआर गर्न छुट्टै प्रयोगशाला भवन चाहिन्छ । सुरक्षा व्यवस्था मिलेन भने संक्रमण सर्छ । सञ्चालन खर्च चर्को लाग्ने भएपछि सञ्चालनमा कठिन भएको छ’, उनले भने ।
व्यासले उपहारमा पाएको मेसिन जस्तै प्रयोगविहीन बनेको थियो जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द बेलचौतारामा तनहुँका १० वटै स्थानीय तह मिलेर बनाएको आइसोलेसन भवन । कोरोनाको दोस्रो लहर बढेसंगै यो भवनलाई भने प्रयोगमा ल्याइएको छ । ३० बेडको अक्सिजनसहितको आइसोलेसन कक्ष बनाएको अस्पतालको कोभिड फोकल पर्सन प्रदीप पौडेलले बताए । वैशाख २३ गतेदेखि संक्रमितलाई आइसोलेसनमा राखिएको उनले जानकारी दिए । उनका अनुसार हाल आइसोलेसनमा ८ जना छन् । व्यास ४, शुक्लागण्डकी नगरपालिकाका ३ र म्याग्देका १ जना संक्रमितलाइ आइसोलेसनमा राखेको अस्पतालले जनाएको छ ।





