पोखरा, ४ जेठ – कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको र त्यसको ‘चेनब्रेक’ गर्न भन्दै विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । तर, अत्यावश्यकबाहेकका भिडभाडजन्य कामकाज बन्द गर्दा पनि सडकमा मान्छेहरुको ताँती देखिन छाडेको छैन ।
दैनिक हजारौं संक्रमित बढ्नुका साथै मृत्युदर पनि उकालो लागिरहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमबार जारी एक प्रेस विज्ञप्तिमा निषेधाज्ञामा ५९ प्रतिशतमात्रै मानवीय गतिविधि घटेको उल्लेख छ । संक्रमण उच्चदरमा बढिरहेको समयमा पनि अटेर गर्दै खुलेआम हिँडिरहेको भन्दै मन्त्रालयले कास्कीसहित विभिन्न २१ जिल्लामा लकडाउनलाई थप कडाइ गर्ने भएको छ ।
‘जनजीवनमा कठिनाइ पर्न गए पनि हामीसँग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएका निषेधाज्ञाको अझै पनि बुझीनबुझी, लुकिछिपी वा खुल्लमखुल्ला उलंघन भइरहेको देखिएको छ,’ जारी सूचनामा भनिएको छ, ‘संक्रमण जोखिम बढिरहेको अवस्थामा रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन सम्बन्धित सबैमा अनुरोध गर्दछौं ।’
मन्त्रालयको बैशाख ६ गते बसेको बैठकले कास्कीसहित काठमाडौं, भक्तपुर, दाङ, बाँके, चितवन। पाल्पालगायत जिल्लामा कडाइ गर्ने निर्णय गरेको थियो । सूचनामा निषेधाज्ञा पूर्ण रुपमा पालना नगर्दा जति संक्रमण दर घट्न्पर्ने हो त्यति प्रभावकारी रुपमा हुन नसकेको उल्लेख छ । ‘बिबाह, ब्रतबन्धजस्ता सामाजिक कार्य। राजनीतिक भेलाका नाममा ठूलो जनमानस जम्मा हुँदा संक्रमण बढेको भुक्तभोगी छौं,’ सूचनामा भनिएको छ, ‘अझै केही हप्ता चुनौतीपूर्ण रहेकाले सबै संयमित र एकजुट भएर काम गर्नुपर्ने देखिन्छ ।’
कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय कट्यो
गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ ।
निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ९, स्याङजाका ५, पर्वतका ३, तनहुँका २, नवलपरासी, बागल्ुङ, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीका एक–एक जना छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७ पुगेको डा शर्माले जानकारी दिए । पछिल्लो ३ दिनयतामात्रै गण्डकीमा गण्डकीमा कोरोनाबाट ६६ जना संक्रमितको ज्यान गइसकेको छ । आइतबार कोरोनाबाट हालसम्मकै बढी २८ जनाको मृत्यु भएको थियो ।
प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्दा कास्कीकामात्रै २ सय नाघेको छ । डा शर्माका अनुसार कास्काकामात्रै हालसम्म २ सय ९ जना संक्रमितले ज्यान गुमाएका छन् ।
प्रदेशमा सोमबार ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ८ सय ९२ जना पुगेको छ ।




