सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

राजनीतिक दलमा लागेका युवाहरुको दायित्व

राजनीतिक दलमा लागेका युवाहरुको दायित्व


  • झलक शर्मा
  • जेष्ठ ५ २०७८, बुधबार

नेपालमा जति पनि राजनितिक दल सक्रिय छन्,ती दलहरुमा युवाको सहभागिता र संलग्नता धेरैजसो देखिँदै आएको छ । प्रायः प्रमुुख दलहरुमा युुवाको आकर्षणता र सहभागिता धेरै रहेको छ । विद्यार्थी जीवनकालबाट नै कुुनै राजनितिक दलको भातृ संगठनमा आबद्ध रहने र त्यसपछि राजनीतिक ज्ञान, अनुभव,शिक्षालाई खराउँदै राजनितिक पार्टीको दरिलो खम्बाको रुपमा युवाले उभ्याएको पाइन्छ । नेपाली राजनितिक पार्टीमा धेरै विद्यार्थी जीवनमा अगुुवाई भूमिका निर्वाह गरेका युवा नेताहरु अहिले महत्वपूर्ण पदमा पुगेका छन् । वा भनाँै राम्रा राम्रा मन्त्रालयमा पुगेका छन् । अन्य राजनीतिज्ञमा भन्दा युुवा विद्यार्थी राजनीतिज्ञहरु बढी लोकप्रिय र आशाका पात्रका रुपमा हेरिँदै आएको पाइन्छ । हाम्रोे समग्र समाजमा राजनितिले धेरै प्रभाव पारेको छ । विद्यालय, विश्वविद्यालयमा प्रारम्भिक कमिटी वा इकाइ कमिटी गठन गरी युवालाई राजनितिमा लाग्न प्रोत्साहन गरिने अभ्यास हामीले देखिराखेका छौँ । अझ भनौँ विश्वविद्यालयमा त स्वतन्त्र विद्यार्थी युनियन नामक संगठन स्थापना गरी विद्यार्थीका हक अधिकारका निमित्त मध्यस्थकर्ताका रुपमा अब्बल देखिएको छ । यो संगठनमा स्वतन्त्र विद्यार्थीभन्दा पनि भातृ संगठनको पदाधिकारीहरुको बाहुल्यता देखिन्छ । नेपाली राजनीतिक दल, तिनका जनवर्गीय संगठनमा आवद्ध युवा तथा विद्यार्थीहरु स्वयम् आफ्नो भविष्यप्रति कति चिन्तित छन् र आफ्नो गन्तव्यमा पुग्ने अठोट कति राखेका छन् भन्ने प्रश्न समाजमा चलिरहेको हुन्छ । युवाको लागि राजनिति एउटा नशा हो भने एकातर्फबाट हेर्दा देशप्रतिको प्रेम र मुुलुकलाई अग्रगामी दिशामा पु-याउने दायित्व पनि हो ।समुदायहरुमा राजनितिक दलका युवा भातृ संगठनहरु सक्रिय रुपमा रहेका छन् । माउ पार्टीलाई सहयोग गर्ने, पार्टी निर्णयको कार्यान्वयन गराउन उद्यत देखिन्छन् । यस्ता गतिविधिले समाजमा राजनीतिक तथा नागरिक चेतना र शिक्षा फैलाउन सहयोग भइरहेका छ । युवा जागरण, जातीय विभेदको अन्त्य तथा लैङ्गिक सशक्तिकरण तथा समानताका विषयमा सहयोगी बन्दै आइरहेको अनुमान लगाउन सकिन्छ । त्यसैगरी मुलुकको राजनितिक परिवर्तनहरु २०४६ र २०६२/६३ सालको जनआन्दोलनमा युवाले खोलेको महत्वपूर्ण भूमिकालाई प्रशंसा गर्नैपर्छ । मुलुकको सिमानामा भएको अतिक्रमणलाई रोक्न तथा कहिलेकाहिँ राज्यको अस्मिता, नेपालीको भावना र मूल्य मान्यता, सार्वभौमसत्तामा आँच आउने कुनै पनि राज्य वा अन्य व्यक्तिले गरेमा त्यसको सशक्त रुपमा विरोधगरी झुक्न तथा गल्तीको प्रायञ्चित गराउने भूमिकाप्रशंसनीयनै छ ।
तर, आजभोलि युवा तथा विद्यार्थी संगठनले युवा तथा समाजका समस्याहरु समाधान गर्नुको सट्टा माउ पार्टीको स्वार्थ परिपूर्ति गर्ने पुलको काम गरिरहेका छन् । आफ्नो पार्टीले नराम्रो काम गरेपनि त्यसको ढाकछोप गर्ने र त्यसलाई राम्रै हो भन्ने हठ युवामा देखिन्छ । राम्रो गतिविधिलाई राम्रो र नराम्रो तथा अपाच्य गतिविधि नराम्रो भन्ने परिपाटी नेपाली युवा संगठनमा बन्न सकेको छैन । युवाहरु नेताको खेलौना बनिरहेका छन् अझ भन्ने हो भने युवालाई प्रयोग गरेर नेता माथि पुग्ने र त्यसपछि युवालाई तिरस्कार गर्ने गरेका उदाहरणहरु नेपाली राजनितिमा धेरै देख्न सकिन्छ । सुरुवाति चरणमा राजनितिमा प्रवेश युवाहरुमा बिस्तारै राजनीतिप्रतिको उत्साह बिलाउँदै गएको पाइन्छ । उत्साह बिलाउन वा कमहँुदै जानु भनेको युवालाई कुनै पनि निर्णय प्रक्रियामा सामेल नगाउनु र उपयुक्त पदीय जिम्मेवारीबाट विमुख गराउनु हो । तसर्थः युवाहरु बूढा नेताको भ¥याङ बन्ने होइन । उनीहरु त आफ्ना विचार पार्टीमा प्रस्तुत गरी परिवर्तनकारी शक्तिको रुपमा उभिनु जरुरी हुन्छ । सरकारलाई दबाव दिने निहुँमा बन्द हड्ताल, सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी गर्ने जस्ता उच्छृङ्खल गतिविधि विगतमा स्थान पाएको थियो । अबका दिनमा सरकारलाई दबाव दिने स्वरुप र शैलीहरु अनुशासित मर्यादित र जनपक्षीय हुनु आवश्यक छ । कतिपय युवाहरुमा आफू चाँडै दलको शक्तिशाली पदमा पुग्ने लोभ लालसाले केही नेताको पछि लाग्ने, उसको पछौटे बन्नेजस्तो व्यवहारहरु नेपालको राजनीतिमा देखिन्छ । साँच्चै भन्ने हो भने युवा नेतामा सही व्यक्तिलाई सही स्थानमा पु-याउन आफ्नो भूमिकामा चुुकिरहेका छन् । सरकारले युवा वर्गलाई छुुट्टाएको बजेट, कार्यक्रमहरुमा आफ्ना कार्यकर्ताको हालिमुुहाली हने तर अन्य युवाहरुलाई त्यस्ता लाभहरु बारे थाहै नहुुने, यदि थाहा भएमा पनि लाभबाट बञ्चित हुनुपर्ने अवस्था छ । यस्ता अवसरलाई युवा नेताले निष्पक्ष समान तवरबाट उपलब्ध गराउन सहजकारी भूूमिका निर्वाह गर्न सक्नुपर्दछ । नेपाली युवाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भोगोलिक अखण्डता, राष्ट्रियता बचाउन सधैं अग्रसर रहनुपर्दछ । आर्थिक विकास गर्न सत्ता पक्षलाई झकझकाउने, आफ्नो पार्टीलाई समृद्धिको खाका निर्माण गर्न अनुरोध गर्ने र लागिपर्नुं पर्छ । नेपाली समाजमा जातीय विभेद, वालविवाह, अन्धविश्वास जस्ता कुरितिलाई रोक्न र चेतना फैलाउन विभिन्न कार्यक्रमहरु अगाडी बढाउनुपर्दछ । मुलुकमा भइरहेको भ्रष्टाचारलाई अन्त्य गर्न विभिन्न उपायहरु अवलम्बन गर्ने र भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने हो भने युवाले नेपाली समाजलाई परिवर्तनशील बाटोमा लम्काउन सक्दछन् ।
मुलुकको चालु योजना, संविधान, विभिन्न कानुन र आफ्नो पार्टीको विधान र चुनावी घोषणापत्रलाई अध्ययन गर्दा कानूनी ज्ञान अभिवृद्धि हुनुको साथै भोली पदिय जिम्मेवारी हातमा पर्दा आफ्ना कार्यसम्पादनहरु गुणस्तरीय एवं लोकप्रिय बन्न सक्छन् । संकट तथा विपद्को बेलामा युवाहरुले स्वयंसेवी भूमिका निर्वाह गर्ने, स्थानीय सरकारसँग समन्वयकारी भूमिका निर्माण गरी पीडित पक्षलाई राहत तथा पुनस्र्थापना गर्न सकेमा भावि दिनमा जनमत युवाकै पक्षमा आउन सक्दछ । युवाहरुको विदेश पलायन हुुुनबाट रोक्न राज्यलाई दबाव दिने, युवालाई रोजगारी, सीप, तालिमको अवसर दिलाउन सकेमा युवामा देखिने राजनीतिप्रतिको वितृष्णा हट्दै जाने र युवामा देश प्रेमको भावना पलाएर आउने गर्दछ । युवा उद्यम, कृषिको बैज्ञानिकीकरण, बजारीकरण, पर्यटन क्षेत्रको विकास, विस्तार र सुधार गर्नमा पनि युुवा राजनीतिको अहम् भूमिका रहन्छ । मानव अधिकारको संरक्षण र संवर्धन गर्नमा अग्रणी भूमिका निर्माण गर्ने, भविष्यमा मुलुकले गर्ने अन्तराष्ट्रिय सन्धी सम्झौताहरुलाई मुलुकको हित अनुकुल गर्न सरकारलाई सुुझाव दिने गरेमा देशको अन्तर्राष्ट्रिय छवि राम्रो बन्ने गर्दछ ।
मुलुकमा लोकतन्त्रको उदय भए पनि नेपाली राजनितिक दल तथा भातृ संगठनमा आन्तरिक लोकतन्त्र कमजोर छ । केही टाढा, उच्च पदीय ओहोदामा पुगेका नेताहरुले निरङ्कुशता अपनाएर तल्लो कार्यकर्ताको मतको उल्लंघन गर्ने, उनीहरुलाई विभिन्न अप्ठ्यारा परिस्थितिहरु निम्त्याइ अगाडी बढ्न बाधा प-याउने प्रवृत्ति हावी छ । त्यसैले राजनीतिक दलका युवाले आफ्नो दल भित्रको लोकतन्त्र सबल बनाउन जरुरी छ । घरेलुहिंसा जस्ता अपराधहरुलाई नियन्त्रण गर्न र त्यसमा सचेतनात्मक भूमिका निर्माण गरी समन्यायिक सभ्य समाज निर्माण गर्न अतुलनीय भूूमिका खेल्नुपर्ने देखिन्छ । आफ्नो पार्टी भित्रको गुट उपगुुटतर्फ नलागी निष्पक्ष, स्वतन्त्र विचार प्रस्तुुत गर्ने स्पष्ट वक्ताको रुपमा युवाहरु चिनिनुपर्दछ । राष्ट्र निर्माण गर्ने अभिभारा युवाहरुकै काँधमा नै छ । युवाहरुको पहल र वचनबद्धताले नै मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुनेमा सबै जनसमुदायको विश्वास हुनेछ । युवाहरुले आफ्नो दल भित्र पाएको जिम्मेवारी र समाजमा आफूहरुले गर्नुपर्ने दायित्वलाई सफलरुपमा कार्यान्वयन गर्न सकेमा मुलुकलाई अग्रगामी दिशातर्फ लम्काउन सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->