पोखरा, ५ जेठ– गण्डकी प्रदेशका पुनर्नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गर्दै ५ जना मन्त्री नियुक्त गरे । पुनर्नियुक्त भएका भएका सबै मन्त्री पुरानै अनुहारका छन् । तर, जिम्मेवारी भने अर्थमन्त्री किरण गुरुङ र युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’को मात्रै तोकियो ।
पुनर्नियुक्त भएका मन्त्रीहरुको सपथ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमु्ख सीता पौडेलले गराएकी थिइन् । सपथ ग्रहण कार्यक्रममा ४ मन्त्री सहभागी भए पनि युवा तथा खेलकुदमन्त्री दीपक मनाङे उपस्थित थिएनन् । उनी कामविशेषले जिल्लाबाहिर भएकाले सपथ कार्यक्रममा उपस्थित हुन नसकेका हुन् ।
पुनर्नियुक्त भएकामध्ये रामशरण बस्नेत, नरदेवी पुनमगर, विकास लम्सालले भने बुधबार कुनै मन्त्रालयको जिम्मेवारी पाएनन् । बुधबारै बसेको पुनगर्ठित मन्त्रिपरिषद्को पहिलो बैठकमा मन्त्रीहरुको कार्य विभाजन बाँडफाँड गर्ने बताइएको थियो । तर, विषय प्रवेश नै नगरी बैठक टुंगिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिएका छन् ।
मुख्यमन्त्री गुरुङ अहिले मन्त्रालय फुटाएर संख्या बढाउने मनस्थितिमा छन् । यसकै लागि बुधबार पुनर्नियुक्त मन्त्रीहरुलाई जिम्मेवारी नतोकिएको हो । मुख्यमन्त्री सचिवालय स्रोतका अनुसार सामाजिक विकास मन्त्रालय टुक््रयाएर स्वास्थ्य मन्त्रालय, भौतिक तथा विकास मन्त्रालय फुटाएर जलश्रोत, सिँचाइ तथा खानेपानी मन्त्रालय र पर्यटन मन्त्रालय फुटाएर वन तथा वातावरण मन्त्रालय बनाउन लागेका छन् ।
यसअघि प्रदेशमा ७ मन्त्रालय थियो । तर, प्रदेश राजनीति पेचिलो बन्दै गएपछि मुख्यमन्त्री गुरुङ सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रायय बनाउँदै संख्या ८ पु¥याएका थिए । गण्डकी प्रदेश सरकारसँग अहिले १२ वटासम्म मन्त्रालय बनाउन पाउने संवैधानिक अधिकार छ । सोही अधिकारमाथि टेकेर मुख्यमन्त्री गुरुङले प्रदेशमा ११ वटा मन्त्रालय बनाउन लागेका हुन् ।
बुधबार विभागीय मन्त्रीका रुपमा सपथ खाएका ३ मन्त्रीको जिम्मेवारी भने बिहीबारसम्ममात्रै तोकिने सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिएका छन् । उनले भने, ‘यो मुख्यमन्त्री ज्यूको अधिकारको कुरा हो । नवनियुक्त मन्त्रीज्यूहरुको कार्य विभाजन छिट्टै हुन्छ । भोलि (बिहीबार)सम्म सबैले आआफ्नो मन्त्रालयमा जाने स्थिति बनिसक्छ,’ उनले भने ।





